बाह्र गाउँले

बाह्र गाउँले

बाह्र गाउँले जाति जनगणनामा उल्लेख छैन, तर यो प्रतिष्ठान ऐनमा सूचीकृत एक आदिवासी जनजाति हो । एक अध्ययन अनुसार यो जातिको जनसङ्ख्या ३,९६५ छ (पुन २०६८: ३०) । सोही अध्ययन अनुसार बाह्र गाउँले बसोबासरत स्थानको भौगोलिक सिमाना यस्तो छ : उत्तरमा घिलिङ गाउँ, दक्षिणमा जोमसोम, पूर्वमा थोरङला पास र पश्चिममा डोल्पा जिल्ला । यसभित्र चार गाउँहरू पर्छन् : कागबेनी, मुक्तिनाथ, झोङ र छुसाङ ।


मङ्गोल मूलका बाह्र गाउँलेको भाषा तिब्बती-बर्मेली परिवारभित्र पर्छ । यिनीहरू बौद्ध धर्मावलम्बी हुन् । धार्मिक र सांस्कृतिक क्रियाकलापका अतिरिक्त शिक्षा र स्वास्थ्य जस्ता सेवासुविधाको लागि गुम्बा र लामामा भर पर्छन् । माहिला छोरा लामा र माहिली छोरी झुमा हुने परम्परा कायम छ, साथै स्वेच्छिक बहुपति प्रथाको चलन पनि पहिलेदेखि चलिआएको हो ।


बाह्र गाउँलेको परम्परागत पेशा कृषि र पशुपालन हो । अर्को परम्परागत पेशा मौसमी व्यापार हो—खास गरेर हिउँदमा नेपाल र भारतका शहरहरूमा हिमाली जडीबुटीहरू बेच्ने । अहिले व्यापार र पर्यटन व्यवसायमा बढी संलग्न हुने गरेका छन् ।


बाह्र गाउँलेको आफ्नै प्रथाजनित संस्था छ, जसको नेतृत्व घेम्पा अर्थात् मुखियाले गर्छन् । सम्बन्धित गाउँका वयस्कहरूको भेला वर्षको एक पटक हुने गरेको छ, र त्यस भेलाबाट घेम्पा निर्वाचित हुन्छन् । साथै सोही भेलाको बेला सिँचाइलाई व्यवस्थित गर्ने पदाधिकारी (रोलु) पनि चुनिन्छ । घेम्पाको कार्यक्षेत्र व्यापक छ : “गाउँको प्रत्येक राजनीतिक, सामाजिक तथा सांस्कृतिक काम काज चलाउने काम घेम्पाको हो । गाउँको मुद्दा मामिला हेर्ने, गाउँको बैठक बोलाउने, गाउँ बाहिरबाट आएका सूचना र अन्य विषयबस्तुलाई बैठक राखी गाउँलेहरूलाई जानकारी दिने र कसैले गैरकानुनी काम गरेमा न्याय-निसाफ गर्ने काम घेम्पाको हो” (पुन २०६८: ४७) ।