वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व षष्ठी - ६
प्रतिष्ठान ऐनमा सूचीकृत नेपालका ६० आदिवासी जनजातिमध्ये बराम एक अल्पसङ्ख्यक पहाडी जाति हो । यो जातिको उत्पति र पुर्खाबारे प्रमाणित लिखित इतिहास छैन । कथ्य इतिहास धेरै छ, तर एक अर्कोसँग मिल्दैन । कसैले तिब्बतबाट ब्रह्मपुत्र नदीको किनारै किनार नेपाल पसेका भनेका छन् भने कसैले बर्माबाट आएका भनेका छन् । एउटा अर्को जनश्रुति अनुसार बराम हुम्लाबाट पूर्व सर्दै आएको जाति हो । यो जातिका पुर्खाबारे द्वापर युगको महाभारत युद्धसँग पनि जोडेर बनाइएको मिथक पनि छ । कसैले यो जातिको वंश किराती र त्यसमा पनि खास गरेर सुनुवारलाई मानेका छन् (गौतम र थापा-मगर सन् १९९४: २७) । पछिल्लो एक अध्ययनले के दावा गरेको छ भने गोरखा जिल्लामा पर्ने अहिलेको बसोबास स्थल नै यो जातिको आदिभूमि हो । यस अनुसार बरामको थातथलो चेपे नदीको पूर्व र बुढीगण्डकी नदीको पश्चिम तिरको भू-भाग हो (छन्त्याल र बराम २०७२: २-३) । २०७८ को जनगणना अनुसार बरामको जनसङ्ख्या ७,८५९ छ, र तीमध्ये ८० प्रतिशतभन्दा बढीको बासस्थान गोरखा जिल्ला हो । बराम भाषीको सङ्ख्या १,५३९ छस अर्थात्, यो जातिका १९.६ प्रतिशतले मात्र आफ्नो मातृभाषा बोल्ने गरेका छन्—त्यसमा पनि खास गरेर तार्कुकोट गाउँमा बसोबासरत बरामहरूले मात्र । यो तथ्याङ्कले स्पष्ट रूपमा के देखाएको छ भने बराम भाषिक खसकरणबाट धेरै प्रभावित जाति हो । साथसाथै धार्मिक खसकरण पनि अत्याधिक छ, किनभने सबैजसो बरामहरूले आफ्नो धर्म हिन्दु भनेका छन् ।
नस्लमा बराम मङ्गोल मूलको हो, र यिनीहरूको भाषा (बालकुरा) तिब्बती-बर्मेली परिवार अन्तर्गतको हो । अहिले हिन्दु धर्मावलम्बी हुन्, तर यो जातिको परम्परागत धर्म प्रकृति धर्म हो (छन्त्याल र बराम २०७२: ६४) । आफ्नै स्वजातीय पुरोहित र पूजारी छ, जसलाई डाङ्ग्रे भनिन्छ । यो जाति धामीझाँक्रीमा विश्वास गर्छ ।
समय-काल अनुसार बरामको प्रमुख पेशामा परिवर्तन आएको छ । जङ्गली युगमा शिकार खेल्ने र जङ्गली कन्दमूल र फलफूलमा जीवन निर्वाह गरेको यो जाति धेरै पहिलेदेखि नै कृषि युगमा प्रवेश गरेको हो । बराम कुनै समय किपटिया थिए, तर पछि छलछामबाट यिनीहरूका धेरै जग्गा अरूले कब्जा गरे । तर पनि कृषि र पशुपालन यो जातिको पहिले देखिको प्रमुख पेशा हो । अहिले पनि अधिकांश बरामको आर्थिक स्थिति मूलतः यिनीहरूले उत्पादन गर्ने कृषि बाली र नगदे बाली र त्यसको बजार व्यवस्थापनसँग जोडिएको छ ।
छन्त्याल र बराम (२०७२) का अनुसार बरामको तीन तहको प्रथाजनित संस्था छ । सबभन्दा तल खलकको हुन्छ, र त्यसको नेतृत्व थरीले गर्छ । बीचको इकाईलाई ताकु भनिन्छ, जसको प्रमुख मुखिया हुन्छ । बालाबाङ सबभन्दा माथिल्लो संस्था हो, र यसको नेतृत्व काजीले गर्छ । यी तीन वटै तहको कार्यक्षेत्र एकै प्रकृतिको छ स् जस्तै, पारिवारिक कलह मिलाउने, गाउँठाउँमा हुने झगडा मिलाउने, सामाजिक रीतिथिति बनाउने र सो अनुरूप संस्कार चलाउने, र आफ्नो जातिको सार्वजनिक हितको लागि निःशुल्क श्रमको परिचालन गर्ने । यी सबै प्रकारका काममा तलको इकाईले ठोस निर्णय गर्न नसक्ने अवस्थामा त्यो जिम्मा माथिल्लो तहको पदाधिकारीमा सर्दै जान्छ । तर यो परम्परागत संस्थामा धेरै ह्रास आएको छ, यद्यपि यसको विरासत बरामको सामुदायिक क्रियाकलापमा प्रकट हुने गरेको छ ।