वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
प्रतिष्ठान ऐनमा सूचीकृत भोटे एक अल्पसङ्ख्यक हिमाली जाति हो । यो जातिको उद्भव तिब्बत हो भन्ने कुरामा विवाद छैन । चलनचल्तीमा भोटे शब्द बहुअर्थी छ । एक, यो एउटा साझा नाम हो जसमा तामाङ लगायत केही अन्य पहाडी जाति पनि समावेश हुन्छन् । दुई, भोटे शब्दको अर्को परिभाषामा सबै हिमाली जाति पर्छन् जसमा पहाडी जाति मिसिँदैन । र तीन, यो एक विशेष जाति हो जसमा अरू कुनै हिमाली जाति मिसिँदैन, किनभने अरू हिमाली जातिको आदिभूमि खास निश्चित भूगोलमा छ तर भोटेको थातथलो कुनै खास ठाउँ भनेर किटान गर्न मिल्दैन । उनीहरूको बासस्थल पूर्वको कञ्चनजङ्घादेखि सुदूर-पश्चिमको व्यास हिमालसम्म फैलिएको हिमशृङ्खला र हिमचुलीहरूको छेउछाउ हो । प्रशासनिक भाषामा भन्ने हो भने यो जाति पूर्वको संखुवासभादेखि सुदूर-पश्चिमको बाजुरासम्म फैलिएको छ । २०७८ को जनगणना अनुसार यो जातिको जनसङ्ख्या १५,८१८ छ । सबभन्दा बढी जनघनत्व कर्णालीको माथिल्लो भू-भाग (जसलाई जडान पनि भनिन्छ) मा रहेको छ । एक तिहाइको बसोबास हुम्ला र जुम्लामा छ । त्यसपछि करिब एक चौथाइको सुदूर-पूर्वको संखुवासभा जिल्लामा छ । करिब ८ प्रतिशतको सुदूर-पश्चिमको बाजुरा जिल्लामा छ ।
भोटेको जातिवाचक नाम नै काफी छ यसको पहिचान पहिल्याउन । यो तिब्बतमा उद्भव भई धेरै अगाडिदेखि वर्तमान नेपालको हिमाली क्षेत्रमा बसिरहेको मङ्गोल मूलको आदिवासी जनजाति हो । भोटे शब्द भाषावाचक पनि हो । २०७८ को जनगणना अनुसार भोटे मातृभाषीको सङ्ख्या १२,८९५ छ, जुन उक्त जातिको कुल जनसङ्ख्याको ८१.५ प्रतिशत हो ।
भोटेको भेष, भाषा, संस्कृति, संस्कार र परम्परा स्वाभाविक रूपमा तिब्बतीसँग मिल्छ । उनीहरू बौद्ध धर्मावलम्बी हुन् । उनीहरूको संस्कारमा प्रकृतिपूजन, बोनपन र झाँक्रीपन्थको सम्मिश्रण भएको पाइन्छ । गुम्बा उनीहरूको पवित्र तीर्थस्थल हो भने धर्मगुरु लामा हुन् । गुम्बा र लामाबाट शिक्षा र स्वास्थ्य जस्ता सेवा पनि लिने गर्छन् ।
भोटेको पेशा धेरै अर्थमा भूगोलसँग जोडिएको छ । उच्च हिमाली भेगका बासिन्दा भएकाले पशुपालन नै उनीहरूको प्रमुख पेशा होस कृषि त्यसपछि मात्र आउँछ । सीमापार व्यापार भोटे जातिको अर्को परम्परागत पेशा हो ।