वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व षष्ठी - ६
शौका वा रंगा भनेर चिनिने ब्याँसी एक अल्पसङ्ख्यक आदिवासी जनजाति हो । यो जाति प्रतिष्ठान ऐनमा सूचीकृत छ । स्थान-विशेषबाट नामकरण भएको यो जातिको थातथलो ब्याँस उपत्यका हो, र उनीहरूको बसोबास नेपाल र भारतको सीमा वारि र पारि दुवैमा छन् । नेपालभित्र उनीहरूको आदिथलो दार्चुला जिल्लाको हिमाली भेगका केही दुर्गम ठाउँ हुन् स् जस्तै, ब्याँस गाउँपालिकाको छाँङरु, तिङ्कर, राप्ला, दुम्लिङ र सितोला । कुल ब्याँसी जातिमध्ये अहिले एक चौथाइ जति मात्र आफ्नै थातथलोमा भेटिन्छन् ।
२०७८ को जनगणना अनुसार यो जातिको जनसङ्ख्या ५,७१८ छ, तर जातिवाचक ब्याँसी भाषा बोल्नेको सङ्ख्या १,७०६ (२२.१%) मात्र छ । यसबाट के देखिन्छ भने यो जातिमा भाषिक खसकरणको मात्रा धेरै छ । साथसाथै धार्मिक खसकरण अर्थात् हिन्दुकरण पनि भएको छ । कसै-कसैले ब्याँसीलाई हिन्दु धर्मावलम्बी भनेर लेखेका छन् (पाण्डेय २०६०:७७) । यो दावा अप्राकृतिक देखिन्छ, किनकि सामान्यतया नेपालका आदिवासी जनजाति जसको नस्ल मङ्गोल छ, जसको उद्भव स्थल तिब्बत हो, र जसको भाषा तिब्बती-बर्मेली परिवारको छ, उनीहरू आनुवंशिक रूपमा गैर-हिन्दु हुन् ।
ब्याँसी मङ्गोल मूलका जाति हुन् । उनीहरूको मातृभाषा ब्याँसी हो, जुन तिब्बत-बर्मेली परिवारभित्र पर्छ, तर लिपि छैन । एक अध्ययन अनुसार ब्याँसी प्रकृतिपूजक हो, मूर्ति पूजा गर्दैन, बरु हिमाल-पहाडको पूजा गर्छ (शेर्पा २०७८:१०) । झाँक्रीपन्थ उनीहरूको संस्कार भित्रको मुटु हो । तर यो जातिको धर्म यही हो भनेर किटान गर्न गाह्रो छ, यद्यपि जनगणना अनुसार यो जातिले हिन्दु धर्म मान्छन् ।
ब्याँसीको प्रमुख पेशा सीमापार व्यापार हो । उनीहरूको मुख्य व्यापारिक केन्द्र तिब्बतको ताक्लाकोट हो । पशुपालन पनि ब्याँसीको परम्परागत पेशा हो । त्यसपछि मात्र खेती आउँछ ।
ब्याँसी जातिको आफ्नै प्रथाजनित स्वशासन छ । बडाको नेतृत्वमा चल्ने समाजलाई रीतिथिति अनुरूप बनाउन अरू पदाधिकारीहरू (जस्तै, ढाक्पा र ल्हेवा) ले आफ्नो पद अनुसार कार्य गरेका हुन्छन् । यसको अर्को महत्त्वपूर्ण काम गाउँमा हुने झैझगडा मिलाउने र दोषीलाई दण्ड दिने हो ।