वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व षष्ठी - ६
छैरोतन प्रतिष्ठान ऐनमा सूचीकृत एक हिमाली आदिवासी जनजाति हो । । यो जातिको थातथलो छैरो गाउँ हो, जुन मुस्ताङ जिल्लाको पाँच गाउँमा पर्छ । तर यो जाति कहिल्यै पनि जनगणनामा उल्लेख छैन । पछिल्लो जनगणना २०७८ पनि अपवाद हुन सकेन । योभन्दा अघि २०७४ सालमा नेपाल सरकारबाट २०६८ को जनगणनामा उल्लिखित जात र जातिमध्ये ०.५ प्रतिशत मात्र जनसङ्ख्या भएका ९८ अल्पसङ्ख्यक समूहको सूची निकालेको थियो, जसमा पनि छैरोतन छुट्ने नै भयो । यस्तो किन भएको होला रु एउटा कारण यो जातिको जनसङ्ख्या अति थोरै भएर होला । दोस्रो सम्भावित कारण बसाइँसराइ गरी अर्को स्थानमा जाँदा उनीहरू “अन्य” वा “नखुलेको” समूहमा—जसको सङ्ख्या क्रमशः ५,८८८ र ४,४३६ छ—मिसाएको हुन सक्छ । तेस्रो सम्भावनामा यो जातिको बासस्थान, अनुहार, भेषभुषा, र भाषा थकालीसँग मिल्ने भएकोले थकालीको गणनामा मिसाएको हुन सक्छ ।
छैरोतन शीर्षकको भाषा पनि जनगणनामा छैन । तसर्थ, यो जातिले बोल्ने भाषा के हो भन्ने जानकारी छैन । सबै हिमाली जातिको पुर्ख्यौली थलो तिब्बत हो, र उनीहरूको भाषा पनि तिब्बती-बर्मेली परिवार भित्रको हो । यसमा छैरोतन जाति अपवाद हुने कुरै भएन ।
एक लेखकका अनुसार छैरोतन जाति बौद्ध धर्मावलम्बी हुन् (पाण्डेय २०६०: २३) । यो सबै हिमाली जातिमा लागू हुने कुरा हो । अरू हिमाली जाति जस्तै छैरोतनको प्राचीन पेशा पशुपालन हुनु पर्छ । हिमाली भेगमा पालिने पशुमा याक, चौँरी र भेडा-च्याङ्ग्रा पर्छन् । पछि कृषि युगमा पसेपछि खेती प्रमुख र पशुपालन सहायक पेशा हुन पुगे । पशुपालन बहुउपयोगी व्यवसाय हो, जसबाट खानको लागि मासु, पिउनको लागि दुध र दुग्ध पदार्थ, र सामान ओसारपसारका लागि पशु उपलब्ध हुन्छ । स्थान-विशेष अनुसार हिमाली भेगमा हुने कृषि उत्पादन खासगरी जौ, गहुँ र आलु हुन् । नेपाल र चीनको तिब्बतको सिमानामा बस्नेको एउटा परम्परागत व्यवसाय सीमापार व्यापार पनि हो । यो छैरोतनको सन्दर्भमा पनि लागू हुन्छ ।