धिमाल

धिमाल

धिमाल पूर्वी तराईमा बसोबासरत एक जाति हो, जो प्रतिष्ठान ऐनमा नेपालका एक आदिवासी जनजातिको रूपमा सूचीकृत छ । यसको उत्पतिबारे प्रमाणित लिखित इतिहास त छैन, तर नेपालमा यो जातिको बसोबासबारे धेरै कथ्यहरू छन् । एक, द्वापर युगमा पाण्डव र कौरवको युद्धकालमा धिमाल जाति र राज्यको सन्दर्भ छ, जुन अहिलेको नेपालको भूमिभित्र पर्छ । दोस्रो कथ्य के हो भने प्राचीनकालमा अहिलेको भारतको उत्तर-पूर्वको पहाडी भागमा भएको एक राज्यले आफ्नो सीमा विस्तारको क्रममा मैदानी भागमा पराजित भए, र पराजित सेनामध्ये केहीले त्यहीँ बसोबास गरे र तिनीहरू कालान्तरमा धिमालमा परिणत भए । तेस्रो कथ्य अनुसार पूर्वी पहाडबाट परदेश गएका लिम्बु दाजुभाइहरू घर फर्कने क्रममा मधेसमा छुटेको कान्छो भाइका सन्तानहरू पछि धिमाल भनेर चिनिए (तुम्बाहाङ सन् २०१५ए: ११०-११) ।


नेपालमा धिमाल जातिको थातथलो झापा र मोरङ जिल्ला हो । २०७८ को जनगणना अनुसार यो जातिको जनसङ्ख्या २५,६४३ छ, जसमध्ये ५३ प्रतिशत मोरङमा बसोबास गरेका छन्, बाँकी ४१ प्रतिशत झापामा । धिमाल बस्तीलाई माईखोलाले छुट्ट्याएको छ । खोलापूर्व झापा जिल्ला पर्छ, र त्यस स्थानमा बस्नेलाई पूर्वेली धिमाल भनिन्छ । खोलापश्चिम मोरङ जिल्लाको सिमाना हो, र त्यो ठाउँमा बस्ने यो जातिलाई पश्चिमेली धिमाल भन्ने गरिएको छ (दाहाल २०३६: ३) । अन्तर खोलाले छुट्ट्याएको सीमा मात्र हो, बाँकी सबै कुरामा पूर्वेली र पश्चिमेली दुवै धिमाल एउटै हुन् । जस्तै, उनीहरू एउटै भाषा बोल्छन् । २०७८ को जनगणना अनुसार धिमाल भाषीको सङ्ख्या २०,५८३ छ, र यो जातिको ८०.३ प्रतिशतको मातृभाषा धिमाल हो ।


वर्णमा कालो भए पनि धिमालको शारीरिक बनोट पूर्वी पहाडका किरातीसँग मेल खान्छ । सायद त्यसैले धिमाललाई मधेसको लिम्बु भन्ने गरिएको छ । धिमाल नस्लमा मङ्गोल र वंशमा किराती हो । यो जातिको आफ्नै मातृभाषा (धिमाल भाषा) छ, तर लिपि छैन । यो भाषा तिब्बती-बर्मेली परिवारको हो । धिमाल भाषामा धर्म भन्ने शब्द छैन (दाहाल २०५६: १०५), तर २०४८ को जनगणनाले ७२ प्रतिशत धिमाललाई हिन्दु धर्मावलम्बी बनाएको छ । हिन्दुकरणको प्रभाव भएकोले धिमालले दशैँ र तिहार जस्ता पर्व मनाउँछन् । वास्तवमा धिमाल परम्परागत रूपमा कुनै पनि धर्मका अनुयायी होइनन्, मात्र प्रकृतिपूजक हुन् । २०७८ को जनगणना अनुसार एक तिहाइभन्दा बढी धिमालले आफ्नो धर्म प्रकृति धर्म भनेका छन् । कुलपूजा र पितृपूजा त गर्छन्, तर आफ्नै स्वजातीय पुरोहित राखेर, ब्राह्मण होइन । धामीझाँक्रीमा पनि विश्वास गर्छन् ।


जङ्गल छेउ र नदी किनारमा बस्न रुचाउने धिमालको परम्परागत पेशा शिकार गर्नु, माछा मार्नु, र तानमा कपडा बुन्नु हुन् । प्रमुख पेशा चाहिँ कृषि र पशुपालन हो । अन्नबालीको अतिरिक्त हिजोआज बजारमा बिक्री हुने तरकारी र फलफूल खेतीमा पनि लागेका छन् ।


धिमालको आफ्नै प्रथाजनित संस्था छ, जसलाई माझीवाराङ भनिन्छ । यसमा समुदाय प्रमुख (माझी) ले नेतृत्व गरेको हुन्छ । अलि गम्भीर विषयमै निर्णय गर्नु पर्यो भने जातिगत समाज नै बोलाउने गर्छ, जसलाई धिमाल भाषामा चौरासी भनिन्छ ।