डोल्पो

डोल्पो

प्रतिष्ठान ऐनमा सूचीकृत ६० आदिवासी जनजातिमध्ये डोल्पो एक अल्पसङ्ख्यक हिमाली जाति हो । स्थान (डोल्पा जिल्ला) को नामबाट जातिको नाम पाएको देखिन्छ । नेपाल र चीनको तिब्बत सीमा वारि र पारि दुवै स्थानमा बसोबासरत डोल्पोको आदिथलो अरू हिमाली जातिको जस्तै तिब्बत हो । नेपालमा उनीहरूको थातथलो तिब्बतभन्दा दक्षिण र धौलागिरी हिमालभन्दा उत्तर भेरी नदीको सिरान हो । २०७८ को जनगणना अनुसार यो जातिको जनसङ्ख्या ५,८१८ छ । अधिकांश मानिसहरू आफ्नै थातथलोमै रमाएका छन्, किनभने लगभग ९० प्रतिशत डोल्पोहरू डोल्पा जिल्लामा नै बस्छन् । थोरै छिमेकी जिल्ला हुम्ला र मुस्ताङमा सरेका छन्, र केही देशको राजधानी काठमाण्डुमा । बसाइँसराइमा त्यति इच्छुक नहुने भए तापनि आफ्नो मातृभाषा (डोल्पो) बोल्नेको सङ्ख्या ३,२४४ मात्र छ, जुन यो जातिको कुल जनसङ्ख्याको ५५.८ प्रतिशत मात्र हो ।


डोल्पो मङ्गोल नस्लका हुन्, र उनीहरूको मातृभाषा तिब्बती-बर्मेली परिवारभित्र पर्छ । उनीहरू बौद्धमार्गी हुन्, साथै संस्कारमा बोनपन र झाँक्रीपन्थ छ । उनीहरूको बस्ती रहेको हरेक गाउँमा गुम्बा हुन्छ । त्यो उनीहरूको पूजास्थल मात्र होइन, शिक्षण संस्था पनि हो ।


डोल्पोका परम्परागत पेशा कृषि, पशुपालन र व्यापार हुन् । डोल्पामा फापर, गहुँ, उवा, सिमी र आलु उब्जाउ हुन्छन् । डोल्पोले चौँरी, भेडा-च्याङ्ग्रा र गधा पाल्छन्, र तिनको प्रयोग खास गरेर तीन कुरामा हुन्छ स् मासु खान, दुध र दुग्ध पदार्थको उपभोग गर्न, र सामान ओसारपसार गर्न । डोल्पोहरू व्यापारको लागि एक मौसममा तिब्बतमा जाने र अर्को मौसममा नेपाल र भारतको मैदानी भागमा जाने गर्छन् । यो धेरै पहिलेदेखि चलिआएको चलन हो ।


डोल्पोमा परम्परागत बहुपति प्रथा कायम छ, यद्यपि यो अहिले धेरै घटेको छ । उनीहरू भूतप्रेतमा विश्वास गर्छन् । जस्तोसुकै स्वास्थ्य समस्या आएमा झाँक्रीमा भर पर्छन् ।