दुरा

दुरा

दुरा नेपालको एक अति अल्पसङ्ख्यक जनजाति हो । यो जातिको उत्पतिमा भिन्नाभिन्नै मत छ । कसैले उत्तर तिरको तिब्बत देखाउँछन् भने अरूले दक्षिण तिरको भारतको चित्तौड । पहिले घुमन्ते जाति भनेर चिनिने यो जातिको पुर्खाको बासस्थान दैलेखको दुल्लु भन्नेहरू पनि छन् । सरोकारवाला संस्थाका अनुसार यो जाति मङ्गोलियाबाट तिब्बतको रुद्रभोट बस्दै त्यहाँबाट पश्चिम नेपालका विभिन्न ठाउँ हुँदै हजारौं वर्ष अघिदेखि लम्जुङ जिल्लाको दुराडाँडा मौजामा बस्दै आएका हुन् । तसर्थ, यो जातिको मूल थलो लम्जुङको दुराडाँडा मौजा हो, जसभित्र चन्द्रेश्वर, पुरानकोट, सिन्दुरे, धुसेनी र नेटा गाउँहरू पर्छन् । २०७८ को जनगणना अनुसार यो जातिको कुल जनसङ्ख्या ५,५८१ रहेको छ, र तीमध्ये आधा लम्जुङमा छ । अरू घना बस्ती तनहुँ, कास्की, चितवन र काठमाण्डुका केही ठाउँहरूमा छन् ।


मङ्गोल मूलका दुरा जातिको आफ्नै मातृभाषा (दुरा भाषा) छ, तर लिपि छैन । यो भाषा तिब्बती-बर्मेली परिवार भित्रको हो । तर २०७८ को जनगणना अनुसार यो जातिका एक तिहाइ जतिले मात्र आफ्नो भाषा दुरा भनेका छन् । भाषिक खसकरणको मात्रा यो जातिमा धेरै देखिन्छ, साथै हिन्दुकरण पनि । सुरुमा दुरा प्रकृतिपूजक मात्र थियोस घाम, पानी, आगो, वन आदिको पूजा गर्थे, र अहिले पनि गर्छन् । अहिले उनीहरूको धर्ममा धेरै मिश्रण छ—प्रकृतिवाद छ, हिन्दुत्व छ, बौद्धपन छ, साथै झाँक्रीपन्थ पनि छ । एकतर्फ प्रकृतिको पूजा गर्छन् भने अर्कोतर्फ कसै-कसैले पहाडी ब्राह्मण लगाएर पूजापाठ पनि गर्छन् । तर पितृकार्यको लागि लामा नै लगाउँछन् । धामीझाँक्री लगाउने काम धेरै नै गर्छन् । एकतर्फ भाषिक र धार्मिक खसकरण अधिक पाइन्छ भने अर्कोतर्फ आदिवासीपन पनि जोगाइराखेको छ । दुराको आफ्नै संस्कृतिबोध गर्ने चाडपर्वहरूमा ठाडो भाका, घाटुहरू (सति, बाह्रमासे, कुशुण्डा आदि), कृष्ण चरित्र, चुड्का रोदी आदि पर्छन् ।


जीवनयापनको लागि शिकार गर्ने र जङ्गली कन्दमूल खोज्ने कुरा इतिहासमा मात्र पाइन्छ, जुन बेला दुरा फिरन्ते जातिको रूपमा एक ठाउँबाट अर्को ठाउँमा सर्ने गर्थे । कृषि युगमा प्रवेशसँगै उनीहरूको मुख्य पेशा खेती हो । पशुपालन कृषिसँगै जोडिएर आउने सहायक पेशा नै भयो । अहिले दुराको पेशामा विविधीकरण आएको छ, जसमा सेनामा भर्ती हुने, शहर-बजारमा मजदुरी गर्ने, र वैदेशिक रोजगारीमा जाने पर्छन् ।