वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व षष्ठी - ६
प्रतिष्ठान ऐनमा सूचीकृत जिरेल एक अल्पसङ्ख्यक पहाडी आदिवासी जनजाति हो । यो जातिको थातथलो वल्लो किरात क्षेत्र (सुनकोसी नदीदेखि पूर्व र लिखु खोलादेखि पश्चिम) को पहाडी इलाका हो । किरातकालमा वल्लो किरात भित्रका जिरी, सिक्री, जुँगु र क्षेत्रपा आदि ठाउँहरू जिरेलको किपट भूमि मानिन्छ । अहिले यो जातिको सघन बसोबास स्थल दोलखा जिल्लाको जिरी र सिक्री गाउँ लगायत त्यस वरपरका केही गाउँहरू हुन् । २०७८ को जनगणनाले पनि त्यही भन्छ । कुल ६,०३१ जिरेलहरूमध्ये तीन चौथाइको बासस्थल यही जिल्लामा रहेको छ । जिरेल भाषीको सङ्ख्या ५,१६७ रहेको छ, जुन यो जातिको जनसङ्ख्याको ८५.७ प्रतिशत हो ।
मङ्गोल मूलका र किराती वंशका जिरेलको आफ्नै भाषा (दाक्पोङ बात) छ, जुन तिब्बती(बर्मेली समूह अन्तर्गत पर्छ । यो जातिको प्राचीन धर्म प्रकृति धर्म हो । उनीहरू पछि बौद्ध धर्मावलम्बी भए र केही समयदेखि हिन्दुकरण भएका छन् । २०४८ सालको जनगणना अनुसार ६४ प्रतिशत जिरेलहरू हिन्दु धर्मावलम्बी हुन् भने ३० प्रतिशत मात्र किराती । अरू हिन्दु जस्तै उनीहरू दशैँ र तिहार मनाउँछन् । यसका बाबजुद पनि आफ्नो मौलिकता बचाइराखेका छन् । जस्तै, उनीहरू कुलपूजा र प्रकृतिपूजाको लागि स्वजातीय पुरोहित फोम्बोको प्रयोग गर्छन् । त्यस्तै, मृत्यु संस्कार लामाबाट गराइन्छ, यद्यपि यो विधि अरू किरातीमा छैन । यो जातिको धार्मिक, सांस्कृतिक र संस्कारजन्य क्रियाकलापमा यी तीन धर्मका अतिरिक्त किरातीपन र झाँक्रीपन्थको मिश्रण पाइन्छ ।
जिरेलको परम्परागत पेशा कृषि र पशुपालन हो । अन्नबालीका साथै तरकारी बाली पनि उब्जाएर बजारमा बेच्छन् । स्वीस सरकारको सहयोगमा जिरीमा “जिरी बहुउद्देश्यीय विकास परियोजना” संचालन भएपछि जिरेलको आय आर्जनको क्षेत्र विस्तार भएको छ । अहिले पर्यटन-केन्द्रित सानोतिनो व्यापार पनि गर्छन् ।
जिरेलको आफ्नो प्रथाजनित संस्था छ । मिजारको नेतृत्वमा गठित यस संस्थामा द्वारे र गोर्चा जस्ता पदाधिकारीहरू हुन्छन् । यो संस्थाको मुख्य काम जग्गा तथा गोठको कर उठाउने, पारिवारिक कलह मिलाउने, गाउँबस्तीमा देखापरेका झैझगडाको न्याय-निरूपण गर्ने, समाजलाई परम्परागत रीतिथिति अनुसार चलाउने, र सार्वजनिक हितका लागि आफ्नो जातिका मानिसहरूको परिचालन गर्ने हो ।