वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
प्रतिष्ठान ऐनमा सूचीकृत ६० आदिवासी जनजातिमध्ये कुमाल एक अल्पसङ्ख्यक जाति हो । सूचीमा भित्री(तराई समूहमा परेको यो जातिको थातथलो यही हो भनेर किटान गर्न गाह्रो छ । २०७८ को जनगणनामा उल्लिखित कुल १,२९,७०२ कुमालमध्ये आधा जसोको बसोबास धादिङदेखि प्यूठान सम्मका पश्चिम पहाडी जिल्लाहरूमा रहेको छ । बाँकी आधा जति चितवनदेखि कैलाली सम्मका पश्चिम तराईका जिल्लाहरूमा फैलिएका छन् । विभिन्न भूगोलमा छरिएर बसेपछि भाषिक विविधता निम्तिने नै भयो । आफूलाई कुमाल भाषी भनेर परिचय गराउनेको सङ्ख्या न्यून छ—१८,४३५ मात्र, जुन यो जातिको कुल जनसङ्ख्याको १४.२ प्रतिशत मात्र हो । यसबाट बुझिन्छ कि कुमाल भाषिक खसकरणबाट धेरै प्रभावित भएको जाति हो । सँगै धार्मिक खसकरण पनि प्रचुर मात्रामा भएको देखिन्छ, किनभने अधिकांश सर्वसाधारण कुमालहरूले आफ्नो धर्म हिन्दु लेखाएका छन् । यद्यपि कुमालको संगठन र अभियन्ताहरूले आफूलाई नेपाली भाषी र हिन्दु धर्मावलम्बीभन्दा भिन्न भएको वकालत गर्ने गरेका छन् ।
कुमालको पहिचान यिनीहरूको परम्परागत पेशा—माटोको भाँडा बनाउने—बाट हेर्दा यो नेपालको प्राचीन जाति हो भन्ने कुरामा केही सन्देह छैन । यो कुरा विभिन्न अभिलेखहरूले पुष्टि गर्छन् । तर उत्पति र पुर्ख्यौली थलो किटान नहुँदा यो जातिको नस्ल, धर्म र भाषामा अस्पष्टता छ । शारीरिक बनोट र सांस्कृतिक सामीप्यता अरू मध्य-तराईका जातिहरू—जस्तै, बोटे, दराई, दनुवार, माझी र थारू—सँग मिल्दोजुल्दो भएकोले कुमाल पनि मङ्गोल मूलकै हुनुपर्छ । कुमाल भाषा कसैले तिब्बती-बर्मेली परिवारको मानेका छन् (उक्याव र अधिकारी २०५७: ६) त कसैले भारोपेली परिवारको (पाण्डेय २०६०: ६) । एक थरीले यो जाति हिन्दु धर्मावलम्बी भनेका छन् (पाण्डेय २०६०: ७) भने अर्को थरीले प्रकृतिपूजक र झाँक्रीपन्थ (सर्वहारी र अरू २०८१: २५, १०३) ।
माटोको भाँडो बनाउने प्राचीन पेशाबाट पहिचान भएका कुमालको मुख्य पेशा भने कृषि हो । अहिले यसमा विस्तृतीकरण र विविधीकरण भएको छ । जीवन निर्वाह र आय आर्जनको लागि अहिले यो जातिका मानिस जुनसुकै पेशामा पनि देखिन्छन्—नोकरीदेखि व्यापारसम्म र श्रम मजदुरीदेखि वैदेशिक रोजगारसम्म ।
कुमालको आदिवासीपन यिनीहरूको प्रथाजनित परम्परामा झल्किन्छ । यो जातिको आफ्नै परम्परागत संगठनको रूपमा मुखिया प्रणाली छ । मुखियाकै निर्देशनमा नीति, नियम र रीत पालन गर्दै कुमाल समाज चल्ने गरेको छ ।