वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
२०७८ को जनगणना अनुसार जम्मा २५३ मात्र जनसङ्ख्या भएको कुशुण्डा प्रतिष्ठान ऐनमा सूचीकृत एक अति अल्पसङ्ख्यक र लोपोन्मुख जाति हो । हालै मात्र घरजम गरेर बसेको यो जाति केही अघिसम्म अहिलेका राउटे जस्तै जङ्गलमा घुमफिर गर्ने फिरन्ते जाति हो । वनका राजा भनेर चिनाउन चाहने कुशुण्डाहरू आफूलाई कुशको सन्तान मान्छन् । वाल्मीकि पुराण अनुसार कुश त्रेता युग कालीन राजा राम र रानी सीताका दोस्रो सन्तान हुन् । केही समय अघिसम्म जङ्गलमा फिरन्ते भई शिकारी युगमा रहेको यी जातिको थातथलो पत्ता लगाउनु गाह्रो कुरा हो । एक लेखकका अनुसार कुशुण्डाको मूल थलो गोरखा, तनहुँ, कास्की, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, सल्यान, दैलेख र सुर्खेत हो (पाण्डेय २०६०: १०) । तर पछिल्लो जनगणनाको नतिजाले अर्कै देखाउँछ । मात्र ४ जिल्लामा यो जाति भेटियो—सबभन्दा बढी सङ्ख्या काठमाण्डुमा र त्यसपछि क्रमशः दाङ, प्यूठान र भक्तपुरमा ।
कुशुण्डा भाषालाई कसैले तिब्बती-बर्मेली परिवारको मानेका छन् (राना सन् २००२), कसैले इण्डो-पेसिफिक (ह्वाइटहाउस र अरू सन् २००४) भनेका छन्, त कसै-कसैले यी कुनै भाषिक परिवारसँग नमिल्ने एक छुट्टै भाषा भनेका छन् । २०७८ को जनगणना अनुसार कुशुण्डा भाषीको सङ्ख्या २३ मात्र छ । तर हालै गरिएको स्थलगत अध्ययन अनुसार एक जना बाहेक कसैलाई पनि यो भाषा बोल्न आउँदैन (गुरुङ र गुरुङ २०८२) ।
केही अघिसम्म जङ्गलमा घुमन्ते अवस्थामा भएकोले कुशुण्डा अवश्य पनि प्रकृतिपूजक हुनुपर्छ । अर्थात्, यो जातिले वन देउता मान्छ र धामीझाँक्रीमा विश्वास राख्छ । तर उनीहरू हिन्दुकरण भएको कुरा उनीहरूको कुल-थर (जस्तै, सिंह, साही, खान र सेन) मा प्रतिबिम्बित भएको देखिन्छ । हालै गरिएको स्थलगत अध्ययन अनुसार कुशुण्डाहरू आफूलाई हिन्दु मान्दैनन् (गुरुङ र गुरुङ २०८२) ।
जङ्गलबाट भर्खर निस्केका कुशुण्डाको आफ्नो जग्गाजमिन पक्कै पनि हुँदैन । यस अर्थमा यो जातिका मानिसहरू अहिले सुकुमबासी छन् । पहिलेको जीवनयापन शिकार र जङ्गलमा पाइने कन्दमूल र फलफूलमा निर्भर थियो । अहिले कृषि र गैर-कृषि दुवै क्षेत्रमा श्रम रोजगार प्रमुख पेशा हो । साथै यो जातिको जीवन निर्वाहको प्रमुख स्रोत सरकारद्वारा लोपोन्मुख जातिलाई नियमित रूपमा प्रदान गरिने मासिक ४,००० रुपैयाँ भत्ता हो ।