वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
आफ्नो पेशाबाट नामाङ्कन भएको कुशवाडिया नेपालको एक अल्पसङ्ख्यक जाति हो, जो नेपालको एक आदिवासी जनजातिको रूपमा प्रतिष्ठान ऐनमा सूचीकृत छ । यो जातिको उत्पतिबारे कुनै प्रमाणित लिखित इतिहास छैन, तर यसबारे तीन वटा किंवदन्तीहरू छन् । पहिलो, कुशवाडिया त्रेता युग कालीन हनुमानका सन्तान हुन् । सायद त्यसैले यो जातिले अरू देवदेवताभन्दा हनुमानलाई धेरै मान्छन् । दोस्रो, यिनीहरू मन र मुनीयाका वंशज हुन्, त्यसैले माता महारानी यो जातिका इष्टदेवी हुन् । तेस्रो, यिनीहरूको पुर्खा नानुचोटु नामक फकिर हुन् । यो जातिको उत्पति सम्बन्धमा बनेका तीन वटै किंवदन्तीहरू यिनीहरूको जीवन शैलीसँग मेल खान्छन् ।
केही समय अघिसम्म कुशवाडियाहरू फिरन्ते जीवन बिताउँथे । नेपालमा उनीहरूको थातथलो यही हो भनेर किटान हुन सकेको छैन । धेरैजसो कुशवाडिया मध्य र सुदूर-पश्चिम तराईमा पाइने भएकोले उनीहरूको नेपालमा उपस्थिति १८२५ मा भएको एकीकरण, त्यसपछि १८७१ सम्मको गोरखा राज्यको विस्तार, र १९१३ मा ब्रिटिश इण्डियाबाट नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ती पाएको घटनासँग जोडेर हेर्न सकिन्छ । नेपालमा यो जातिको अहिलेको बासस्थान पश्चिम तराई हो । २०७८ को जनगणनामा उल्लिखित ३,३४३ कुशवाडियाहरूको बासस्थान जनघनत्व अनुसार यस्तो छ: बाँके (२१%), कपिलवस्तु (२०%), बर्दिया (१९%) र रूपन्देही (१८%) ।
कुशवाडियाको आफ्नै भाषा पाशी छ, जुन द्रविड परिवार भित्रको हो । तर जनगणनाको भाषा शीर्षकमा यो उल्लेख छैन । पाशी भाषामा भोजपुरी र अवधी भाषाको प्रभाव धेरै देखिन्छ । यो जातिको नस्ल किटान भएको छैन । कुशवाडियाको धर्म हिन्दु हो । हनुमानलाई ठूलो देवता मान्नु र माता महारानी र धर्मीन ठकुराईनको पूजा गर्नु यो जातिको मौलिक विशेषता हो, जसबारे कुनै पनि हिन्दु ग्रन्थमा केही पनि विवरण छैन । अरू हिन्दुभन्दा कुशवाडिया यस कारण पनि फरक छ कि यिनीहरूको समाज वर्ण व्यवस्था अनुसार तहगत छैन । यो जाति मन्दिर पनि जाँदैन, न त पुरोहित्याइँको लागि ब्राह्मणको प्रयोग गर्छ । तसर्थ, कुशवाडिया हिन्दुत्वको मूलभूत विशेषतारहित हिन्दु हो ।
कुशवाडियाको नेपाल प्रवेश आर्थिक स्थितिसँग जोडिएको छ । पूर्वको किसान जाति र पश्चिमको कुशवाडियाबीच समानता के हो भने दुवै गरिबीले डोर्याएर नेपाल प्रवेश गरेका जाति हुन् । तर यी दुवै जातिको कार्यक्षेत्र फरक छ—किसान खेतीको लागि तर कुशवाडिया फरक पेशाको लागि । यो जातिको प्रमुख पेशा ढुङ्गाको सिलौटा र कुशको कुचो बनाउने र त्यसलाई बजारमा बेच्ने हो । शिकार, जङ्गली कन्दमूल र जडीबुटी संकलन, र माछा मार्ने काम यो जातिको फिरन्ते बेला देखिको परम्परागत पेशा हो, र यसमा निरन्तरता छ किनभने यो जातिको आफ्नो जग्गा छैन । यिनीहरू अहिले झुपडी बनाई बस्न थालेका छन्, र कृषि श्रमिकको रूपमा खेती र पशुपालन पनि गर्छन् । समग्रमा, यो जाति मानव विकास र गरिबीको सूचकाङ्कबाट हेर्दा अति नै विपन्न अवस्थामा छ (गुरुङ र अरू सन् २०१४) ।