वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व षष्ठी - ६
लेप्चा एक अल्पसङ्ख्यक जनजाति हो । मङ्गोल समूहभित्र पर्ने यो जातिको उत्पतिको कुनै लिखित प्रमाण छैन । तर कुनै समय लेप्चाको आफ्नै राज्य थियो, जसलाई मयल ल्याङ भनिन्छ, र यो कञ्चनजङ्घा हिमालको काखमा अवस्थित नेपालको इलाम लगायत भारतको दार्जिलिङ, कालिम्पोङ र सिक्किम, र भुटानका केही भू-भागसम्म विस्तारित थियो । नेपालमा यो जातिको थातथलो इलाम हो । अहिले पनि ८४ प्रतिशत लेप्चाहरूको बसोबास सोही ठाउँमा छ । आफूलाई रोङ भनेर चिनिन रुचाउने यो जातिको जनसङ्ख्या २०७८ को जनगणना अनुसार ३,५७८ छ, जसमध्ये ६२ प्रतिशतले आफ्नो भाषा लेप्चा भनेर रिकर्ड गराएका छन् । लेप्चाको आफ्नै भाषा छ, जुन तिब्बती-बर्मेली परिवारभित्र पर्छ, र लिपि र वर्णमाला छ ।
लेप्चा मूलतः प्रकृतिपूजक हुन्, साथै बौद्ध धर्म पनि मान्छन् । उनीहरूको धर्मग्रन्थ अस्ताच्यो र धर्मगुरु बुङ, थिङ, याजा र यामा हुन् । धार्मिक कार्यमा बौद्ध धर्मगुरु लामा प्रयोग गर्ने गरे पनि यसमा धर्मगुरु बुङ र थिङको उपस्थिति पनि अनिवार्य हुने गरेको छ । किनभने उनीहरूको संस्कारमा प्रकृतिपूजन र बौद्ध धर्मको सम्मिश्रण देखिन्छ । “लाप्चाहरूका धार्मिक परम्परा र विश्वासहरू जस्तै : प्रकृति हिमाल, पहाड, खोला, नाला, तलाउ, जङ्गल, रुख, पात, ढुङ्गा आदिमा आधारित छन्” (राई, लाप्चा र लाप्चा २०६९: ८) । प्रकृति र पेशासँग जोडिएको उँधौली र उँभौली पनि मान्छन् । सँगसँगै प्रकृति, समय-काल, र पशुपक्षीसँग जोडिने ल्होसार मान्ने केही जातिहरूमा लेप्चा पनि पर्छ ।
पहिले लेप्चाको जीवन निर्वाह शिकार र जङ्गलमा पाइने कन्दमूल र फलफूलमा निर्भर थियो । फिरन्ते शिकारी हुँदै कृषि युगमा प्रवेश गरेका लेप्चाको पेशा उनीहरूको बसोबाससँग जोडिएको छ । उनीहरू पहाड र नदीको खोँचमा बस्छन् । खेती उनीहरूको प्रमुख पेशा हो, र पशुपालन सहायक पेशा । जङ्गलमा पाइने काठदाउराबाट बन्ने घरेलु प्रयोगका सामान उत्पादन गरी बेचबिखन पनि गर्छन् । साथसाथै ज्याला मजदुरीमा पनि लागेका हुन्छन् ।
लेप्चाको परम्परागत संस्थालाई डिडिट्योम भनिन्छ । यसमा कार्य विभाजन अनुसार निम्न पदाधिकारी हुन्छन् : डने, माचिन, नोङमु र कारथाक । यो संस्थाले समुदायको थिति बनाउँछ, न्याय निरूपण गर्छ, र समुदायगत हितसँग सम्बन्धित कामको लागि निःशुल्क श्रम परिचालन गर्छ । यस परम्परागत स्वशासनमा बाह्य हस्तक्षेप दुई चरणमा भए । पहिलो चरणमा राज्यबाट नियुक्त काजी र सुब्बाहरूबाट, र पछिल्लो चरणमा स्थानीय तहमा निर्वाचित पदाधिकारीहरूबाट । डिडिट्योमको कार्य क्षेत्र र भूमिका एकपछि अर्को गरेर खुम्चिँदै गए पनि यो जीवित रहेको छ, खासगरी समुदायगत धार्मिक र सांस्कृतिक क्षेत्रमा ।