ल्होपा

ल्होपा

प्रतिष्ठान ऐनमा सूचीकृत ल्होपा एक अल्पसङ्ख्यक हिमाली आदिवासी जनजाति हो । यो जाति तिब्बतबाट धेरै अगाडि नै नेपालको भू-भागमा आइबसेका हुन् । यिनीहरूको थातथलो मुस्ताङ जिल्लाको माथिल्लो भेगमा अवस्थित ल्होमान्थाङ हो । यो जातिभित्र तीन उप-समूह छन्—कुटुक, शेल्पा र रिगिन ।
२०७८ को जनगणना अनुसार यो जातिको जनसङ्ख्या १,३९० छ, तर सोही जातिगत भाषीको सङ्ख्या भने झन्डै दोब्बर (२,३४८) छ । यसो हुनाका दुई भिन्नाभिन्नै कारण हुन सक्छन् । एक, कतिपय ल्होपाले सरकारी कामकाजको लागि अरू जात वा जातिको थर प्रयोग गर्ने गरेका छन् । उदाहरणको लागि, केही समय अघिसम्म राजारजौटा भत्ता पाएका मुस्ताङी राजाले आफ्नो थर विष्ट लेख्ने गर्थे । यो थर खासमा पहाडी बाहुन क्षेत्रीको हो । तसर्थ, भिन्न थर अपनाएको कारणले केही ल्होपाको गणना अर्कै जात समूहमा परेको हुन सक्छ । दोस्रो सम्भावित कारण के हुन सक्छ भने ल्होपा जातिको छिमेकी रहेका केही अल्पसङ्ख्यक जातिका मान्छेले ल्होपा भाषा अपनाएको हुन सक्छ । ल्होपाको कुल जनसङ्ख्याको ९० प्रतिशतभन्दा बढीको बासस्थान मुस्ताङ जिल्ला हो । उनीहरू छिमेकी थकालीभन्दा यो अर्थमा फरक छन् कि थकालीमा बसाइ सरेर जाने प्रवृत्ति तीव्र छ, जब कि ल्होपा आफ्नै थातथलोमा बसिरहने जाति हो ।


ल्होपा मङ्गोल नस्लको जाति हो । यो जातिको उत्पति तिब्बतमा भएको हो । यो जातिको मातृभाषा तिब्बत-बर्मेली परिवारको हो । यो जाति बौद्ध धर्मावलम्बी हो, यद्यपि बोनपन र झाँक्रीपन्थ ल्होपाको हरेक संस्कारमा प्रयोग भएको पाइन्छ ।


ल्होपाका परम्परागत पेशा कृषि (जौ, गहुँ र आलु उत्पादन), पशुपालन (भेडा, याक र घोडा), र सीमापार व्यापार हुन् ।


ल्होपा क्षेत्रमा लामो समयदेखि मुखिया प्रथा छ, जसको प्रमुख मुस्ताङी राजा हो । भारदारहरूको सहयोगमा विभिन्न क्षेत्रहरू—जस्तै, मालपोत तिरो लगायत अन्य कर उठाउने; प्राकृतिक स्रोतको संरक्षण, संवर्धन र परिचालन गर्ने; देवानी मुद्दा हेर्ने, न्याय-निसाफ दिने, र दण्ड-सजाय तोक्ने; सामाजिक, सांस्कृतिक र धार्मिक रीतिथिति बसाल्ने—मा जातीय स्वायत्तता झल्कने गरी स्वशासनको व्यवस्था थियो । तीमध्ये कतिपय विषयमा यो प्रथाजनित नियम अहिले पनि व्यवहारमा लागू छ ।


ल्होपा जातिका अरू पनि प्रथाजनित परम्पराहरू छन्—जस्तै, बहुपति प्रथा र माहिलो सन्तान भिक्षु/आनी हुने—तर यी चलन अहिले निकै घटेका छन् ।