वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
प्रतिष्ठान ऐनमा सूचीकृत मुगाली एक हिमाली आदिवासी जनजाति हो । यो जातिको उद्गम तिब्बतको ङारी प्रदेश हो, र त्यहाँबाट एघारौं शताब्दीमा नेपाल पसेको मानिन्छ । उनीहरूको थातथलो मुगु करान क्षेत्रभित्र पर्ने मुगु गाउँ र त्यससँग जोडिएका १३ वटा गाउँहरू हो । स्थान-विशेषबाट नामकरण गरिएका मुगालीहरू आफूलाई मुगम वा कर्मारोङ भनेर चिनिन चाहन्छन् ।
२०७८ को जनगणना अनुसार यो जातिको जनसङ्ख्या २,१२४ मात्र छ । तीन चौथाइभन्दा बढी मुगालीहरू मुगु जिल्लाकै बासिन्दाको रूपमा रिकर्ड भएका छन् । यसको अर्थ यो जातिका अधिकांश व्यक्तिहरू आफ्नै थातथलोमा बसेका छन् । बसाइ सरेर जानेहरू नगण्य मात्र छन्—कोही छिमेकी जिल्ला जुम्लामा र अरू कोही देशको राजधानी काठमाण्डुमा । एउटा चाखलाग्दो कुरा के छ भने जातिको जनसङ्ख्याभन्दा जातिजन्य भाषा (मुगाली) बोल्नेको सङ्ख्या (२,८३४) बढी छ । यसो हुनुको एउटा सम्भाव्य कारण कतिपय मुगालीहरूले सरकारी कागजपत्र बनाउँदा तामाङ वा लामा थर राख्ने गरेकोले होला । यसको प्रभाव जनगणनामा र त्यसमा पनि खास गरेर जाति शीर्षकमा पर्ने नै भयो ।
मुगाली मङ्गोल नस्लको जाति हो । यो जातिको आफ्नै भाषा (खाम कुरा, तर अठार मगरातमा बोलिने खाम मगर भाषाभन्दा फरक) र लिपि (सम्भोटा) छ । यो भाषा तिब्बती-बर्मेली परिवार भित्रको हो । यो जातिको परम्परागत धर्म बोन हो, तर पछि बौद्ध धर्मावलम्बीमा रूपान्तरित भए । यी दुवैको साथै झाँक्रीपन्थ मुगालीको जन्मदेखि मृत्यु सम्मका संस्कारमा प्रयोग भएको पाइन्छ । मुगालीको थातथलोमा धेरै गुम्बाहरू छन्, जुन यो जातिका मानिसहरूको धार्मिक स्थल, शिक्षण संस्था, र स्वास्थ्य केन्द्र पनि हुन् । तसर्थ गुम्बाका लामाहरूको धेरै भूमिका हुन्छ ।
मुगालीहरूका मुख्य पेशा कृषि, पशुपालन र सीमापार व्यापार हुन् । शहर-बजारको व्यापारमा पनि रुचि र संलग्नता बढ्दै गएको छ ।
मुगालीका प्रथाजनित परम्परा गुम्बासँग अविच्छिन्न रूपमा जोडिएको छ । तसर्थ, गुम्बाका लामाहरूको धेरै भूमिका र जिम्मेवारी हुन्छ । यो कुरामा कर्मध्वज तामाङ लामाको अवलोकन सान्दर्भिक छ, “मुगाल समुदायमा लामा तथा चुन्बालाई धार्मिक गुरू मात्र नभई सामाजिक तथा न्यायिक व्यक्तिका रूपमा पनि मानिन्छ । लामाहरूमा पनि सबैभन्दा जेष्ठ उमेरका लामालाई गाउँको मुख्य व्यक्तिका रूपमा मान्ने चलन छ । गाउँमा हुने विभिन्न प्रकारका विवादहरूको समाधान गर्ने कार्यदेखि लिएर विकासका कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा पनि लामाको नै महत्त्वपूर्ण भूमिका हुने गर्दछ” (२०८०: ९२) ।