पहरी

पहरी

पहरी नेपालको एक अल्पसङ्ख्यक आदिवासी जनजाति हो । यो जातिको उत्पतिबारे एकमत छैन । कसैले यो जातिको पुर्ख्यौली थलो दैलेख भन्ने गरेका छन् । अरूले नेवारसँग जोडने गरेका छन् । कुनै कालखण्डमा नेवारबाट विस्थापित भएर बसोबासको खोजीमा तामाङ बस्तीमा बस्न थाले । सायद यही कारणले होला पहरीको जीनमा नेवार र तामाङको रक्त मिश्रण रहेको भनाइ छ । ललितपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र मकवानपुरका गाउँबस्ती—जुन भूगोलले जोडेको छ—पहरीको थातथलो हो । २०७८ को जनगणनामा उल्लेख गरिएका कुल १५,०१५ पहरीमध्ये तीन चौथाइको बसोबास यी चार जिल्लामा छ । पहरी बस्तीको छिमेकी भनेका नेवार, तामाङ, बाहुन र क्षेत्री हुन् । यी हरेक प्रकारका छिमेकीको प्रभाव पहरीको भाषा र संस्कृतिमा परेको देखिन्छ ।


मङ्गोल नस्लका पहरीको आफ्नै जातिबोधक मातृभाषा (पिही) छ, जुन तिब्बती-बर्मेली परिवार भित्रको हो, तर लिपि छैन । तर यसलाई २०७८ को जनगणना अनुसार लगभग एक तिहाइ पहरीले मात्र आफ्नो मातृभाषा मानेका छन् । यसको एउटा कारण त पिही भाषाको लिपि, व्याकरण, शब्दकोश र साहित्य नभएर हो ।


पहरीको धर्ममा प्रकृतिपूजन, हिन्दु र बौद्ध धर्मको मिश्रण पाइन्छ । यसको प्रभाव उनीहरूको संस्कृति र संस्कारमा प्रतिबिम्बित छ । नेवारको जस्तो गुभाजु पुरोहित पनि छ, र क्षेत्रीले जस्तै ब्राह्मण पुरोहित पनि लगाउँछ । विवाहको लागि कुनै पहरीले तामाङको जस्तो मामा-चेला र फुपू-चेलीको चलन अपनाएका छन् भने अरू पहरीमा यो चलन नेवारमा जस्तै प्रतिबन्ध छ (महर्जन र अरू २०७३: २९) । भाषा र परम्परामा नेवारसँग अलि बढी सामीप्यता रहेको पाइन्छ । धेरै शब्दहरू दुवै भाषामा प्रयोग हुने गरेका छन्, र पहरीको पनि नेवारको जस्तो गुठी हुन्छ ।


पहरीको प्रमुख पेशा कृषि हो । बाँसबाट बनाइने घरेलु प्रयोगको सामान बनाउन र हस्तकला मिश्रित फर्निचर बनाउनमा पहरी निपुण छन् । कृषि, उद्योग र निर्माण क्षेत्रसँग जोडिएको मजदुरी यो जातिको आय आर्जनको अर्को स्रोत हो ।


गुठी, जात्रा र भजनलाई अपवाद मान्ने हो भन्ने पहरीको प्रथाजनित स्वशासन त्यति पुरानो देखिँदैन । स्थानीय शासनको लागि नेपालको एकीकरणदेखि चल्दै आएको एउटा चलन के हो भने सम्बन्धित जातिबाटै राज्यले एकजना पदाधिकारी (जस्तै, पहरीमा द्वारे) नियुक्त गर्छ । पहरीको द्वारेले एकसाथ धेरै जिम्मेवारी निर्वाह गर्छन् : जस्तै, कर उठाउनेस सामाजिक, धार्मिक र सांस्कृतिक संस्कार बसाउनेस स्थानीय झैझगडा मिलाउने र दोषीलाई दण्ड दिने । तर आजभोलि यो जिम्मेवारी प्रहरी, प्रशासन र निर्वाचित स्थानीय सरकारमा सरेको छ ।