राजी

राजी

प्रतिष्ठान ऐनमा सूचीकृत राजी नेपालको एक अल्पसङ्ख्यक आदिवासी जनजाति हो । यो जातिको पुर्खाबारे प्रमाणित लिखित इतिहास छैन । नेपाल र भारतको सिमानामा रहेको यो जातिका पुर्खा कसैले नेपालको मुगु जिल्लाको रारा गाउँका भनेका छन् भने कसैले भारतको उत्तराखण्डको पिथौरागढका मानेका छन् । नेपालका राजी केही पहिलेसम्म अहिलेको राउटे जस्तै घुमन्ते जाति थियो । त्यो कालमा यो जातिको घुमफिर गर्ने क्षेत्र पूर्वमा कर्णालीको चिसापानी, पश्चिममा महेन्द्रनगर, र दक्षिणमा मोहना खोला बीचको जङ्गल थियो (आङबुहाङ र राजी २०८१: १) । केही वर्ष अघिदेखि मात्र यो जातिको स्थिर बासस्थान भएको हो । २०७८ को जनगणनामा उल्लिखित ५,१२५ राजीमध्ये पुग-नपुग आधा जति कैलालीमा बसोबासरत छन् भने करिब २९ प्रतिशत सुर्खेतमा र १९ प्रतिशत बर्दियामा रहेका छन् ।


राजीहरू तीन थरी छन् : नौकल्या, बाह्रबण्डाली र अट्ठार पण्ठे । सबैको मातृभाषा एउटै हो—राजी भाषा । यो भाषा तिब्बती-बर्मेली परिवारभित्र पर्छ । २०७८ को जनगणना अनुसार राजी भाषा बोल्नेको सङ्ख्या ४,२४७ छ, जुन यो जातिको कुल जनसङ्ख्याको ८२.९ प्रतिशत हो ।


केही अघि मात्र जङ्गलको फिरन्ते जीवनबाट मुक्त भएका राजीको धर्म प्रकृतिपूजक हुनु स्वाभाविक हो । जीउडाल र अनुहार अनार्य देखिने यो जाति पछि हिन्दुकरण भएको अनुमान गर्न सकिन्छ । सुर्खेतको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल गंगामाला देवतीबज्यैको मन्दिरमा राजी पुजारी हुने परम्परा छ । २०४८ को जनगणना अनुसार ९९ प्रतिशत राजीहरू हिन्दु धर्मावलम्बी हुन् । यद्यपि उनीहरूको देवता निराकार छन्, र उनीहरू धामीझाँक्रीमा विश्वास गर्छन् । स्वजातीय गुराव यिनीहरूका पुरोहित हुन् ।


यो जातिका परम्परागत पेशामा शिकार गर्ने, जङ्गलबाट कन्दमूल र जडीबुटी संकलन गर्ने, माछा मार्ने, भीरमह काढ्ने पर्छन् । घुमन्ते अवस्थाबाट कृषि युगमा प्रवेश गरेपछि अहिले खेती र पशुपालन नयाँ पेशा भएको छ । तर स्मरणीय कुरा के छ भने राजीको व्यवस्थापन आवासको लागि हो, खेतीयोग्य जमिनको लागि होइन । तसर्थ, यो जातिले एकतर्फ परम्परागत पेशालाई निरन्तरता दिएको छ भने अर्कोतर्फ रोजगारको नयाँ अवसरको पनि सदुपयोग गरेको छ । यिनीहरूको नयाँ पेशा कृषि मजदुरी र निर्माण क्षेत्रको मजदुरी हो ।


फिरन्तेकालदेखि चलिआएको जातीय स्वायत्तता र स्वशासनलाई राजीले केही हदसम्म निरन्तरता दिएको छ । स्वजातीय मुखिया प्रथा छ, र उनले झैझगडा मिलाउनेदेखि समाज चलाउने गर्छन् ।