वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
नेपालका आदिवासी जनजातिमा राउटे सम्भवतः एक मात्र जाति होला जसमध्ये केही अहिले पनि जङ्गली अवस्थामै रहेका छन् । एक किंवदन्ती अनुसार यो जातिको आदिपुरुष भगवान् विष्णु हो । यो कलि युगमा यिनीहरू एक ठकुरी वंशका सन्तान हुन् (पाण्डेय २०६०: ९८) । सायद त्यसैले होला आफूलाई कसैले “वनका राजा” भनेर सम्बोधन गरे राउटे खुसी हुन्छन् । उनीहरूले राख्ने गरेका थरहरू—जस्तै, चन्द, पाल, सिंह र रावत—ठकुरीसँग मिल्छन् ।
घुमन्ते जाति भएकोले यो जातिको स्थायी ठेगाना नहुनु स्वाभाविक हो । यद्यपि सेती नदी र मादी नदी बीचको फुकोट क्षेत्रको जङ्गललाई यिनीहरूको उत्पति स्थल मानिन्छ । उनीहरू प्रायः घुमिरहने ठाउँ दैलेख, जाजरकोट, सुर्खेत, सल्यान, अछाम, जुम्ला, दार्चुला र बैतडी जिल्लामा रहेका जङ्गल हुन् । तर २०७८ को जनगणनाको नतिजा अनुसार ४१९ जनाको बसोबास डडेलधुरा जिल्लामा छ भने बाँकी १४७ जनाको सल्यान जिल्लामा । भाषा आयोगले तयार गरेको पुस्तिकामा यो सङ्ख्या स्थायी बसोबासरत ४२५ र घुमन्ते १६४ गरी ५८९ छ (२०७५: १) । यहाँनिर उल्लेख गर्न आवश्यक छ कि २०३९/२०४० सालमा केही राउटेहरूलाई प्रति परिवार १.५ बिघा जमिन दिएर डडेलधुरामा स्थायी बसोबास गराइएको थियो । तिनीहरूले सरकारी कागजमा आफ्नो थर राउत लेख्ने गरेका छन् (गुरुङ र गुरुङ २०८२) ।
राउटेको नस्ल के हो भन्नेबारे अध्ययन भएको छैन । तर उनीहरूको भाषा (खाम्ची) तिब्बती-बर्मेली परिवारको हो । यो भाषीको सङ्ख्या २०७८ को जनगणना अनुसार ७४१ छ; अर्थात्, राउटेको जातिगत जनसङ्ख्याभन्दा १७५ बढी छ । सम्भवतः अरू कुनै अल्पसङ्ख्यक जाति (जस्तै, राजी) ले पनि खाम्ची भाषा बोल्छन् । जङ्गली अवस्थामा रहेका राउटे पक्कै पनि प्रकृतिपूजक हुनु पर्छ । साथै यिनीहरू मस्टोको पनि पूजा गर्छन् । तर सन् २०१२ मा गरिएको एक अध्ययनमा समावेश भएका राउटेहरूमा ६०.५ प्रतिशत हिन्दु र ३९.५ प्रतिशत प्रकृतिपूजक रहेका छन् (बन्धु र अरू सन् २०१२) ।
राउटेको जीवनयापनको प्रमुख स्रोत शिकार हो, र जङ्गलमा पाइने कन्दमूल र फलफूल । काष्ठकलामा यिनीहरूको परम्परागत ज्ञान छस तसर्थ, वनको काठबाट केही घरेलु सामान (जस्तै, सन्दुक) बनाएर बजारमा बेच्न थालेका छन् । कृषि होस् या गैर-कृषि, कुनै पनि क्षेत्रमा लाग्न नचाहने राउटेको अहिले एउटा आय आर्जनको स्रोत हो—सरकारले लोपोन्मुख जातिलाई प्रति महिना दिने ४,००० रुपैयाँ भत्ता ।
राउटेको आफ्नै प्रथाजनित नाइके (मुखिया) छन् । मुखियाले नै उनीहरूको सामाजिक, सांस्कृतिक र धार्मिक जीवनलाई नेतृत्व गर्छन् ।