शेर्पा

शेर्पा

प्रतिष्ठान ऐनमा सूचीकृत नेपालका ६० आदिवासी जनजातिमध्ये शेर्पा एक अल्पसङ्ख्यक हिमाली जाति हो । तिब्बती मूलका शेर्पा जातिको नेपालमा “पुर्ख्यौली थलो सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्र दुधकोशी तथा सुनकोशी नदीको उपत्यका र त्यस आसपासको भू(भाग हो” (शेर्पा २०६७: २) । शेर्पाहरू दुधकोशी र सुनकोशी नदीको माथिल्लो भाग—जुन सोलखुम्बुबाट पूर्वमा संखुवासभा र ताप्लेजुङ र पश्चिमतिर ओखलढुङ्गा, खोटाङ, भोजपुर, रामेछाप, र सिन्धुपाल्चोकसम्म विस्तारित छ—अर्थात् सोलुदेखि हेलम्बुसम्म फैलिएका छन् ।


२०७८ को जनगणना अनुसार यो जातिको जनसङ्ख्या १,३०,६३७ छ । यो सङ्ख्या ५ लाख जति हुनु पर्ने दावी नेपाल शेर्पा संघको छ । जनगणनामा उल्लिखित शेर्पा जातिमध्ये सोही जातिगत भाषीको सङ्ख्या १,१७,८९६ (९०.३%) छ । यसको अर्थ भाषिक खसकरणबाट शेर्पा जाति जोगिएको छ । धार्मिक खसकरणबाट पनि यो जाति जोगिएको एउटा दृष्टान्त छ । २०४८ को जनगणनामा उल्लिखित २६ जनजातिमध्ये २२ जातिका बहुसङ्ख्यक व्यक्तिहरूले आफूलाई हिन्दु भनेर लेखाएको बेलामा पनि ९० प्रतिशत शेर्पा यसबाट अलग्ग बसे । २०७८ मा गरिएको पछिल्लो जनगणना अनुसार ९८.२ प्रतिशत शेर्पाहरूको धर्म बौद्ध हो । शेर्पाको आदिवासीपन जोगिरहने एउटा अर्को संकेत के हो भने करिब तीन चौथाइ शेर्पाहरू अहिले पनि आफ्नै थातथलोमा बसिरहेका छन् । करिब एक चौथाइ जो बसाइ सरेर गएका छन्, ती मध्ये अधिकांश काठमाण्डुमा केन्द्रित छन् ।


शेर्पाको नस्ल मङ्गोल हो र भाषा तिब्बत(बर्मेली परिवारको हो । यिनको आफ्नै लिपि (सम्भोटा) छ । यिनीहरू बौद्ध धर्मावलम्बी हुन् । हरेक जसो शेर्पा बस्तीमा गुम्बा हुन्छ, र त्यसको रेखदेख गर्ने प्रमुख जिम्मेवारी धर्मगुरु लामाको हो । लामाको कार्यक्षेत्र व्यापक छ : उनी पुजारी हुन्, पुरोहित हुन्, धर्मशास्त्रका शिक्षक हुन्, ज्योतिष हुन्, र साथै परम्परागत रूपमा आयुर्वेदिक उपचार गर्ने स्वास्थ्यकर्मी पनि हुन् ।


शेर्पाका परम्परागत पेशा कृषि, पशुपालन र हिमाल वारपार व्यापार हुन् । गहुँ, जौ, उवा र आलु मुख्य खाद्य बाली हुन् । याक र भेडा(च्याङ्ग्रा लगभग सबै रैथाने शेर्पाहरूले पालेका हुन्छन् । जडीबुटी व्यापारमा यो जाति प्रसिद्ध छ । यी परम्परागत पेशालाई रैथाने शेर्पाहरूले निरन्तरता दिइरहेका छन् । अहिले यो जातिको पेशागत पहिचानमा नयाँ आयाम थपिएको छ । शेर्पा हिमाल चढ्ने जातिको रूपमा चिनिन्छ, जुन आम्दानीको राम्रो स्रोत हो । व्यापार, पर्यटन, निर्माण व्यवसाय लगायत धेरै लगानी गर्नु पर्ने अन्य क्षेत्रमा संलग्न हुने शेर्पाहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
शेर्पाको आफ्नै परम्परागत नियम र रीतिरिवाज छ, जसमध्ये धेरै कुरा तिब्बतीहरूसँग मिल्छ । बालीनाली र वनजङ्गलको रेखदेख गर्न नावा प्रथा छ । ल्होसार यो जातिको महत्त्वपूर्ण पर्व हो । तीन प्रमुख ल्होसार—तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्पो ल्होसार—मध्ये पछिल्लो ल्होसार शेर्पाले भोटचन्द्र पात्रो अनुसार फागुन महिनामा मनाउने गर्छन्, जस अनुसार १२ लो (बाँदर, चरा, कुखुरा, सुङ्गुर, मुसा, गाई, बाघ, बिरालो, ड्रागन, सर्प, घोडा र भेडा) बर्सेनि परिवर्तन भएर नयाँ वर्षको सुरुवात हुन्छ ।