वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व षष्ठी - ६
सियार एक हिमाली जाति हो, र प्रतिष्ठान ऐनमा एक आदिवासी जनजातिको रूपमा सूचीकृत छ । तर जनगणनामा यो जाति उल्लेख भएको छैन । सरोकारवाला समाजले गरेको एक अध्ययन अनुसार सियार जातिको जनसङ्ख्या ३,७०० रहेको छ । गोरखा जिल्लाको चुमनुव्री गाउँपालिकाको वडा नं। ६ चुम (स्यार) भाषिक क्षेत्र हो ।
मङ्गोल नस्लका सियार जातिको नेपालमा थातथलो गोरखा जिल्लाको उत्तर-पूर्वी भागमा रहेको सियार खोलाको किनार हो । यो जातिका व्यक्तिहरू हिमाल वारि नेपाल र पारि तिब्बत दुवै स्थानमा बसोबासरत छन् । स्थान-विशेषबाट औपचारिक नामाङ्कन भएका सियारको स्थानीय नाम चुम्बा हो । चुम्बा उपत्यका बौद्ध धर्मगुरु चिप्चुन मिलारेपाले ध्यान गरेको पवित्र स्थलको रूपमा चिनिन्छ ।
सियार बौद्धमार्गी हुन् । अहिंसा नै परमोधर्म हो भने मान्यता यो जातिको थातथलोमाअक्षरशः पालना भएको पाइन्छ । सियार जातिको संस्कारमा बोनपन र झाँक्रीपन्थ देखिन्छ । गुम्बा उनीहरूको धार्मिक स्थलको साथै शैक्षिक संस्था पनि हो । लामा पुजारी हुन्, जन्मदेखि मृत्यु सम्मका संस्कारमा संलग्न हुने पुरोहित पनि हुन्, र साथसाथै बौद्ध धर्ममा दीक्षित गराउने शिक्षक पनि हुन् ।
पेशाको हकमा कतिपय हिमाली जातिको लागि पशुपालनपछि आउने दोस्रो पेशा कृषि हो । तर सियार बस्ती मनसुन प्रभावित क्षेत्र भएकोले खेती नै उनीहरूको प्रमुख पेशा हो र पशुपालन सहायक पेशा हो । सियार बस्तीमा गहुँ, जौ, फापर, कोदो र उवा जस्ता खाद्यान्न उब्जनी हुन्छन् भने सिमी, बोडी, काउली र आलु आदि तरकारी पनि फल्छन् । तिब्बतसँग सीमापार व्यापार सियारको पुर्ख्यौली पेशा हो ।