सुनुवार

सुनुवार

सुनुवारको मौलिक जाति नाम कोइँच र स्थान नाम कोइँचवान हो (लुगुन र अरू २०६८) । कसै(कसैले यो सिम्रौनगढबाट पहाड उक्लेको जाति भनेर लेखेका छन् (शर्मा २०३९: २६१; पाण्डेय २०६०: ११८) । खासमा सुनुवारको उद्गम स्थल तिब्बत हो । उनीहरूको थातथलो वल्लो किरातको लिखु र खिम्ती खोला बीचको पहाडी भागमा अवस्थित छ, जुन अहिले ओखलढुङ्गा, रामेछाप र दोलखा जिल्लाका केही भू-भागमा पर्छ (उक्याव अधिकारी ३४: लुगुन र अरू २०६८:१३) । सुनुवार समाजको दावा अनुसार लिखु, तामाकोशी र सुनकोशी नदीको वरिपरिको भू-भागमा पहिलो बासिन्दा रहेको यो जातिको पुर्ख्यौली थातथलो दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, सोलुखुम्बु जिल्ला हुन् । कोइँचवान पहिले बाह्र किपट र सोह्र थुम भनेर चिनिन्थ्यो । वल्लो किरातभित्र अरू जनजातिहरू—जस्तै, जिरेल, थामी, सुरेल, हायु—का आदिभूमि पनि पर्छन् ।


अल्पसङ्ख्यक जातिमा पर्ने सुनुवार जातिको जनसङ्ख्या २०७८ को जनगणना अनुसार ७८,९१० छ, जसमध्ये ४१.५ प्रतिशतले आफ्नो मातृभाषा सुनुवार भनेर दर्ज गराएका छन् । सुनुवार भाषा चिनियाँ(तिब्बती परिवार भित्रको हो ।


सुनुवारको नस्ल मङ्गोल, वंश किराती, र धर्म किरात हो । उनीहरूको धर्मग्रन्थ मुन्दुम हो । तर यो जातिमा हिन्दुकरणको प्रभाव अधिक देखिन्छ । २०४८ को जनगणनामा ९४ प्रतिशत सुनुवारहरूले आफ्नो धर्म हिन्दु जनाएका थिए । अहिले यसमा केही परिवर्तन आएको छ । २०७८ को जनगणनामा लगभग एक तिहाइ सुनुवारले आफ्नो धर्म किराती लेखाएका छन् । आफ्नो प्राचीन धार्मिक(सांस्कृतिकपन बचाइराखेका छन् । जस्तै, अरू केही जनजातिहरूले जस्तै सुनुवारले पनि उँभौली र उँधौली पर्व धुमधाम रूपमा मनाउँछन् । अरू प्रकृतिपूजकले झैँ हावा, पानी, माटो, जमिन र जङ्गलको पूजा गर्छन् । पितृकार्य र कुलपूजा आफ्नै जातिको पुरोहित (नासो) बाट गराइन्छ, र यसमा पहाडी ब्राह्मण निषेधित छ ।


जीवन निर्वाहका लागि सुनुवारले प्राचीनकालदेखि अपनाएको प्रमुख पेशा कृषि हो । त्यससँग पशुपालन स्वभावतः जोडेर आउने नै भयो । अल्लोको भाङ्गा र राडी बुनेर बेचबिखन गर्नु पनि यो जातिको परम्परागत व्यवसाय हो । एक समय किपटिया भनेर चिनिने सुनुवारहरूको जीवनयापन खेतीबाट अन्यत्र मोडिन पुग्यो जब किपट प्रथा उन्मूलन भयो । अरू किरातीले जस्तै सुनुवारले पनि यो भूमिहरणलाई एउटा ठूलो दुर्घटनाको रूपमा सम्झन्छन् । त्यसपछि रोजगारका अरू अवसरहरूको खोजीमा लागेका हुन् । अहिले व्यापारतिर उन्मुख भएको देखिन्छ । कोही(कोही जीवन निर्वाहको लागि मजदुरीमा लागे—कोही कृषि मजदुर भएर, कोही उद्योग मजदुर भएर ।


पेशामा आएको विस्तारीकरण र विविधीकरणले गर्दा सुनुवारहरू आफ्नो थातथलोबाट अन्यत्र बसाइ सर्न पुगे । अहिले यो जातिको कुल जनसङ्ख्यामा आदिभूमिमै रहिबसेकाहरू एक चौथाइ मात्र छ; अरू यत्रतत्र छरिएका छन् ।


सुनुवारको आफ्नै प्रथाजनित संस्था छ, जसलाई कोइँच भनिन्छ । यो सामूहिक नेतृत्वमा चल्थ्यो । आफ्नो जातिभित्र र गाउँठाउँको सामाजिक, सांस्कृतिक र धार्मिक गतिविधिहरू कोइँचबाट संचालित हुन्थ्यो । यसको अवशेष केही मात्रामा अहिले पनि जीवित छ । यस परम्परागत संस्था र प्रणाली तबदेखि खुम्चिन थाले जबदेखि निर्वाचित स्थानीय सरकारको स्थापना भयो ।


अरू केही जनजातिको जस्तै सुनुवारको आदिवासीपनमा क्षयीकरण भइरहेको छ । किपट प्रथाको उन्मूलनपछि कृषि सँगको सम्बन्ध पातलिँदै गएको छ । प्राचीन धर्म किरात भए पनि धेरैजसो हिन्दु भएका छन् । आफ्नो जातिको भाषालाई मातृभाषी मान्नेको सङ्ख्या पनि आधाभन्दा कम छ ।