वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
सुरेलको जनसङ्ख्या २०७८ को जनगणना अनुसार ३१८ मात्र छ । यो अति नै अल्पसङ्ख्यक जाति हो र लोपोन्मुख जनजातिमा गनिएको छ । यो जातिका आधा जति जनसङ्ख्याले मात्र मातृभाषी पहिचान बोकेको छ । अर्थात्, तिब्बती-बर्मेली परिवारभित्र पर्ने सुरेल भाषा लोप हुँदै जाने संकेत देखापरेको छ । यो जातिको उत्पतिबारे एक मिथक छ : सुरेलहरू बासे र वीरबलका सन्तान हुन् । यो मिथकमा सुरेलहरू विश्वास गर्ने गर्छन्, यद्यपि यो उनीहरूले अपनाएको धर्मसँग मेल खाँदैन । उनीहरूको थातथलो दोलखा जिल्लाको सुरी गाउँ हो । करिब आधा जति जनसङ्ख्या जीवन निर्वाहको लागि अवसरको खोजीमा बाहिर गएका छन्—खासगरी तनहुँ, नवलपरासी र दाङ जिल्लामा ।
सुरेल प्रकृतिपूजक हुन्, र यिनको परम्परागत धर्म किरात हो । तर यिनीहरूको धार्मिक जीवनमा विभिन्न धर्मको मिश्रण पाइन्छ । हिन्दुले जस्तै दशैँ र तिहार मनाउँछन् । अरू किरातीको जस्तै आफ्नै पुरोहित (मेयाम्बो) छ, र केही दुःख पर्यो भने धामीझाँक्री लगाउँछन् ।
सुरेल पनि कुनै समय किपटिया थिए, तर अहिले भूमिहिन अवस्थामा छन् (राई र अरू २०७९: १२-१४) । यद्यपि जीवन निर्वाह कृषि, पशुपालन र घरेलु प्रयोगका सामान उत्पादनसँग जोडिएको छ । तर आय आर्जनको लागि मजदुरी गर्ने गरेका छन् ।
सुरेलको आफ्नो परम्परागत संस्था छ, जसलाई नाक्सो भनिन्छ, र यो मूलतः भूमे पूजाको व्यवस्थापनसँग जोडिएको छ ।