ताङवे

ताङवे

ताङवे नेपालको एक हिमाली आदिवासी जनजाति हो । प्रतिष्ठान ऐनमा सूचीकृत भए पनि जनगणनामा उल्लेख नभएका ७ हिमाली जातिहरू (जसमा ५ जाति त मुस्ताङ जिल्लाभित्र पर्छन्) मध्ये ताङवे पनि एक हो । यसको कारण जुन छैरोतनको सन्दर्भमा अनुमान गरिएको छ, त्यो यहाँ पनि लागू हुन्छ । तुलनात्मक रूपमा धेरै सङ्ख्या भएका अरू जातिमा मिसाइएको हुन सक्ने एउटा थप कारण यो जातिको थकाली सँगको भौगोलिक र सांस्कृतिक सामीप्यता हो भने अर्को कारण मनाङ र मुस्ताङका अधिकांश जनजातिहरूले सरकारी कागजपत्रमा आफ्नो थर गुरुङ भनेर लेख्नु हो । एउटा भरपर्दो अध्ययन अनुसार ताङवेको जनसङ्ख्या ३१३ महिला र ३१५ पुरुष गरी कुल ६२८ मात्र छ (छन्त्याल र ताङ्वे २०७९: २) । तसर्थ यो अति अल्पसङ्ख्यक जाति हो ।


ताङवेको उत्पति तिब्बत हो भन्ने कुरामा खासै विवाद छैन । तर पछिल्लो कालमा यो जाति मनाङको भूर्जे गाउँबाट ताङवे स्थानमा सामूहिक रूपमा बसाइ सरेर आएका हुन् । यो ठाउँ हाल मुस्ताङ जिल्लाको बाह्रगाउँभित्र पर्ने गाउँ हो, जुन बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ मा पर्छ ।


स्थान-विशेषबाट नामकरण भएको ताङवे मङ्गोल नस्लको जाति हो । उनीहरूको आफ्नै भाषा (सेर्के) छ, जुन तिब्बती-बर्मेली परिवारभित्र पर्छ । यो भाषाको लिपि छैन ।


ताङवे बौद्ध धर्मावलम्बी हुनका साथै बोन धर्मका पनि अनुयायी हुन्, किनभने उनीहरूको सामाजिक, धार्मिक र सांस्कृतिक क्रियाकलापमा बोनपन यथेष्ट रहेको छ । गुम्बा उनीहरूको तीर्थस्थल र शिक्षण संस्था दुवै हो । धर्मगुरु स्वजातीय लामा हुन् । उनी पुजारी पनि हुन्, जन्मदेखि मृत्यु सम्मका संस्कारमा सरिक हुने पुरोहित पनि हुन्, र साथसाथै बौद्ध धर्म अनुसारको पाठ्यक्रम पढाउने शिक्षक पनि हुन् ।
ताङवेको परम्परागत पेशा कृषि र पशुपालन हो, साथै सीमापार व्यापार । तर अहिले पेशामा विविधीकरण र विस्तृतीकरण आएको छ । धेरैजसो ताङवेहरू व्यापार व्यवसायमा लागेका छन् । एकतर्फ तिब्बत सँगको नाका विभिन्न कारणले गर्दा कडा हुँदै जाँदा र अर्कोतर्फ नेपालभित्रै शहरीकरण बढ्दै जाँदा पेशागत कारणले ताङवेको बसाइँसराइमा तीव्रता आएको छ । यो जाति अब ताङवेमा भन्दा बढी जोमसोम, पोखरा र काठमाण्डुमा देखिन्छ । ताङवे समाज सेवा संघको केन्द्रीय समिति नै पोखरामा रहेकोले यो जातिको बसाइँसराइको भार र स्थान बोध गर्छ ।


अधिक बसाइँसराइ भए पनि ताङवे प्रथाजनित नियम र परम्परामा धनी छ । झोम्पो (जेष्ठ नागरिक सभा) र फोदोमाकी (सामाजिक रीतिथिति बनाउने) जस्ता संस्थाहरू छन् । गाउँको मुखिया (घेन्प) को नेतृत्वमा च्याङ्प, छोक्पो, थुङ्ला जस्ता पदाधिकारीहरूले सामूहिक रूपमा सामाजिक रीतिथिति बसाल्ने र न्यायिक व्यवस्था संचालन गर्छन् । धार्मिक कार्यको लागि सामाजिक घर छ । मूल थलोको जमिन अरू समुदायलाई बेच्दैनन् । इच्छामा आधारित बहुपति प्रथा छ, तर अहिले एकल विवाह बढ्दो छ । अंशबण्डा हुँदैन, जेठोले मात्र अंश भोग गर्छ । यो जातिले पुस महिनामा छौ पर्वका दिन ल्होसार मनाउँछन् ।