थामी

थामी

थामी नेपालको एक अल्पसङ्ख्यक पहाडी आदिवासी जनजाति हो । यो जातिको उत्पतिबारे थरीथरीका भनाइ छन् । कसैले सिम्रौनगढबाट उक्लेर दोलखाको पहाडी भागमा आइपुगेको मान्छन् भने कसैले पूर्वी पहाडबाट पश्चिम सरेका एक किराती वंश मान्छन् । कोहीले थामीका पुर्खा काठमाण्डु उपत्यकाको थिमीका भनेका छन् । यी कुनै पनि भनाइको प्रमाणित इतिहास छैन ।


थामी जातिको बसोबास सिन्धुपाल्चोकको उच्च पहाडी भाग हुँदै क्रमशः पूर्वतर्फ दोलखा, रामेछाप र सिन्धुलीसम्म विस्तारित मध्य पहाडी भाग हो । थामीको उद्गम स्थल दोलखाको भीमेश्वर नगरपालिका वडा नं. १ मा रहेको सुस्पा राङ्राङ्थलिलाई मानिन्छ । सो स्थानबाट यो समुदायको आदिम मानव जोडी यापति छुकु र सोनारि आजिले रस्तीबस्ती बसाउन थालेको र उनीहरूका सन्तान नै आजको थामी समुदाय रहेको विश्वास गरिन्छ । थामीको पहिलेको किपट स्थानलाई आधार मानेर थामीको आदिभूमि यसरी विस्तारित भएको दावा गरिएको छ स् “पूर्वमा गौरीशंकर हिमालको फेदमुनिदेखि पश्चिममा सिन्धुपाल्चोक जिल्लाको तामाकोशी हुँदै जिरीदेखि उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतसँगको देउढुंगासम्म” (नेपाल थामी समाज २०६७: १) । २०७८ सालको जनगणना अनुसार थामीको जनसङ्ख्या ३२,७४३ छ, जुन ५०,००० जति हुनु पर्ने दावा सरोकारवाला संस्थाले गरेको छ । जनगणनामा उल्लिखित थामीहरूमध्ये करिब ८० प्रतिशतको बसोबास स्थल माथि उल्लिखित चार जिल्लामा छन् ।


मङ्गोल मूलको र किरात वंशीय थामीको आफ्नै भाषा छ, जुन तिब्बती-बर्मेली परिवारभित्र पर्छ । २०७८ सालको जनगणनामा उल्लिखित कुल ३२,७४३ थामीमध्ये ८२ प्रतिशतले आफ्नो मातृभाषा थामी भनेका छन् । थामी किरातवंशी भएकाले यिनको धर्म किराती हुने नै भयो, तर किराती संस्कृति जति पश्चिम सर्यो त्यति पातलिँदै गएको छ । यसको कारण हो हिन्दुकरण । थामीले पनि दशैँ र तिहार पर्व मनाउँछन् । यद्यपि यो जातिको परम्परागत धर्म बोन हो र साथसाथै झाँक्रीपन्थ पनि अपनाउँछन् । जन्मदेखि मृत्युपरान्त गरिने सबै रीतिरिवाज, चालचलन तथा संस्कार आफ्नै झाँक्री (गुरु) बाट सम्पन्न गरिन्छ । अहिले धर्मसँग जोडिएको आफ्नो पहिचानप्रति थामीको लगाव बढ्दै गएको संकेत देखापरेको छ । २०७८ मा गरिएको पछिल्लो जनगणनामा ४०.७ प्रतिशत थामीहरूले आफ्नो धर्म किरात जनाएका छन् । अरू केही जनजातिले जस्तै उनीहरू उँधौली र उँभौली मान्छन् । भूमे पूजा थामीको अर्को मौलिक परम्परा हो, जसले उनीहरूलाई प्रकृतिपूजकको नजिक पुर्याउँछ । अरू प्रकृतिपूजक आदिवासी जस्तै थामीले पनि जल, जमिन, जङ्गल, हावा, माटो र खोलानालाको पूजा गर्छन् ।


थामीको मूल पेशा कृषि हो । तर एक समय किपटिया भनेर नाम चलेका थामीहरू अहिले लगभग भूमिहीन अवस्थामा छन् । जीवन निर्वाहको लागि आफ्नो स्वामित्वमा रहेको जग्गा धेरै कम भएकोले वैकल्पिक रोजगारतर्फ तानिएका छन् । धेरै पहिले थामी जङ्गली अवस्थामा रहेको र त्यसकै विरासतले होला यो जातिमा जङ्गल फँडानी गर्ने र काठ चिर्ने काममा विशेष दखल छ । यसको अतिरिक्त कृषि र उद्योगमा ज्याला मजदुरी आय आर्जनको प्रमुख स्रोत हो ।


थामीको आफ्नै परम्परागत संस्था छ, र त्यसको नेतृत्व गर्नेलाई मझुवा भनिन्छ । मझुवाकै रेखदेख र निर्देशनमा थामीको समुदायगत सामाजिक, धार्मिक र सांस्कृतिक संस्कारहरू संचालन हुने गरेका छन् ।