थारू

थारू

प्रतिष्ठान ऐनमा सूचीकृत थारू नेपालको भित्री(तराई र तराईमा प्राचीनकालदेखि बसोबासरत बहुसङ्ख्यक आदिवासी जनजाति हो । यो जातिबारे लेखिएका दर्जनौँ पुस्तक र लेख छन्, तर यसको उत्पतिबारे रहेका भिन्नाभिन्नै कहावत जहाँको त्यहीँ छ । एक थरीले अहिलेको पाकिस्तानमा रहेको सिन्ध प्रान्तको थर भन्ने ठाउँ र भारतमा रहेको थार मरुभूमिलाई देखाउने गरेका छन् । तर संयोगवश शब्द संयोजन मिल्न गएको बाहेक यी ठाउँबाट थारूको उद्भव भएको कुरा स्थापित गर्ने अर्को कुनै आधार छैन । अर्को थरीले भारतको चितौडको महाराणा प्रताप नामका राजासँग जोडेर एउटा कथा बुन्ने गरेका छन् । यस अनुसार मुसलमानको आक्रमणबाट महाराणा प्रतापको मृत्युपछि नेपालको चुरेमुनि शरण लिएका रानी र उनकी नोकरबीच शारीरिक सम्पर्कबाट जन्मेका सन्तान र त्यसका दरसन्तान नै अहिलेका थारू हुन गए । थारू को हो भन्नेमा अर्को एउटा धारणा पनि छ । चुरे पहाडको फेदीमा र तराईमा बसोबास गर्ने थारू मूलवासी हो । सो स्थानको नजिकै पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आएका भिन्न जात र जातिका मानिसहरूले आफूलाई थारूमै सामेलीकरण गरेकोले अहिलेको थारू पनि नेवार जाति जस्तै एक अन्तरघुलित (मेल्टिङ पट) जनजाति हो (रजौरे २०५६: १८८) । थारू जातिको उत्पतिबारे माथि उल्लिखित तीन भिन्नाभिन्नै कहावतलाई सरोकारवाला समूहले कपोलकल्पित भनेर प्रतिवाद गर्ने गरेका छन् ।


थारू कल्याणकारी सभाले थारूलाई एक प्राचीन जाति भनेर दावा गर्ने गरेको छ, र नेपालमा उनीहरूको बसोबास मङ्गोल नस्ल र आर्य वंशका मानिसभन्दा धेरै अगाडिदेखि रहेको भन्ने गरेको छ । केही विद्वान्‌हरूका अनुसार थारू नेपालकै कपिलवस्तुमा उद्भव भएको जाति हो (विष्ट सन् २००२: ३८; शर्मा २०३९: ३५७) । यो कुरालाई बल पुर्याउन के तर्क गर्ने गरिएको छ भने अहिलेको थारूको पुर्खा शाक्यवंश हो जुन वंशमा गौतम बुद्ध जन्मेका थिए । थारू सुरुवात कालदेखि नै नेपालको आदिवासी रहेको प्रमाणित गर्न दाङलाई राजधानी बनाई थारू जातिका दङ्गीशरण र उनका १८ पुस्ताले गरेको राजकाजलाई अगाडि सारिएको छ (दहित २०६२: ८) ।


माथि उल्लेख गरिएका मिथक र जनश्रुतिहरू एक अर्कासँग मिल्दैनन् । तर के कुरा निर्विवाद हो भने थारू नेपालको भित्री-तराई र तराईका रैथाने जाति हो । अर्को सत्य के हो भने थारूभित्र स्थानबोधक भाषिक समूहहरू छन् : जस्तै, दंगोरा, राना, कठरिया, मोरङ्गिया र चितौनिया (गुणरत्ने सन् २००२: शर्मा २०३९: दहित २०६२) । यो विविधता खास गरेर स्थानको भिन्नताले जन्माएको हो । २०७८ को जनगणना अनुसार थारूको जनसङ्ख्या १८,०७,१२४ छ, तर थारू कल्याणकारी सभाले यो सङ्ख्या ३५ लाखदेखि ४० लाख हुनुपर्ने दावी गरेको छ । जनगणनामा उल्लिखित थारूहरूमध्ये पुग(नपुग एक तिहाइ पर्सादेखि मोरङ सम्मको पूर्वी तराईमा बसोबासरत छन् भने दुई तिहाइभन्दा बढी चितवनदेखि कञ्चनपुर सम्मको पश्चिम तराईमा । थारू भाषीहरूको सङ्ख्या १७,१४,०९१ छ, जुन सो जातिको कुल सङ्ख्याको ९५ प्रतिशत हो ।


थारूको मातृभाषा थारू हो, जुन भारोपेली भाषा परिवारभित्र पर्छ । यो जातिको धर्मबारे विवाद छ । यिनीहरू मूलतः बौद्ध धर्मावलम्बी हुन् (उक्याव र अधिकारी २०५७: १६०), तर हिन्दुकरणबाट अधिक प्रभावित । २०७८ को जनगणना अनुसार ९६.५ प्रतिशत थारूहरू हिन्दु हुन् । थारूको हिन्दुकरण भएको पक्कै हो, तर अहिले थारू अभियन्ताहरू यसको विनिर्माण गर्दैछन् । उनीहरूको तर्क के छ भने थारू समाज वर्ण व्यवस्था अनुसार श्रेणीगत तहमा बनेको छैनस सबै थारू जन्मको आधारमा समान छन् । अर्को तर्क के छ भने परम्परागत हिन्दु धर्ममा ब्राह्मण मात्र पुरोहित हुन्छ, तर थारूको पुरोहित स्वजातीय गुरुवा हो । आनुवंशिक रूपमा थारू बौद्ध धर्मावलम्बी हो भनेर अभियान नै चलाएको देखिन्छ ।


थारूको एक मात्र पेशा कृषि हो, र सँगै जोडिएर आउने पशुपालन । तर तराई औलोमुक्त भएपछि पहाडबाट अन्य जात र जातिहरू थारू बस्तीमा बसाइँसराइको जुन भेल आयो, त्यो क्रममा धेरै थारूहरू आफ्नो भूमिबाट विस्थापित भए । लाखौँ थारूहरू कमैया र कमलरीमा परिणत भए । हालै यो प्रथा अन्त्य भयो, र त्यस पछिका दिनमा हिजोका कमैया र कमलरी आज विभिन्न गैर-कृषि क्षेत्रमा लागेका छन् ।
थारूको बलियो प्रथाजनित संस्था छ । गाउँबस्तीका सबै घरमूली सदस्य रहने सभा छ, जसलाई खेल वा जुतान भनिन्छ । यसको संरचनाले ग्रीक कालीन प्रत्यक्ष लोकतन्त्रलाई सम्झना गराउँछ । त्यसको कार्यकारणीमा बडघरको नेतृत्व हुन्छ, जसलाई स्थान अनुसार कहीँ भलमन्सा भनिन्छ भने अर्को ठाउँमा मटावाँ वा महतौं भनिन्छ । अन्य जातिको तुलनामा थारूको बडघरको कार्यक्षेत्र व्यापक छ । यसले घरपरिवार र गाउँठाउँमा हुने झगडाको मेलमिलाप र छिनोफनो गर्ने मात्र होइन, सार्वजनिक हितका लागि यो जातिका मानिसहरूबाट निःशुल्क श्रमको पनि परिचालन गर्छ । पूजाआजा, चाडपर्व र अरू संस्कारगत काममा अगुवाको भूमिका निर्वाह गर्छ ।