वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व षष्ठी - ६
स्थानीय भाषामा ह्यूल्कोसोमपेम्ही भनेर चिनिने तीन गाउँले थकालीको थातथलो मुस्ताङ जिल्लाका यी तीन गाउँ हुन् स् थाकस्याङ, थाकचिमाङ र थाकठिनी । एक कथ्य इतिहास अनुसार यो जातिको पुर्खा त्रिनेत्रधारी ध्यल थोकोर्चेन हुन्, जो तिब्बतको सामसुङबाट बसाइ सरेर थाकठिनी आएका थिए ।
प्रतिष्ठान ऐनले तीन गाउँले थकाली एक अलग्ग आदिवासी जनजाति भनेर पहिचान दिएको छ, तर जनगणनामा यो जाति उल्लेख छैन । एक अध्ययन अनुसार यो जातिको जनसङ्ख्या १,१६३ छ (गुरुङ र अरू २०६८: ७) । ह्यूल्कोसोमपेम्हीको प्राचीन धर्म बोन हो, तर अहिले बौद्ध धर्मका अनुयायी भएका छन् । यो जातिको संस्कृति र संस्कारमा यी दुवै धार्मिक परम्पराको सम्मिश्रण भएको पाइन्छ ।
तीन गाउँले थकालीको प्रमुख पेशा कृषि र पशुपालन हो । यसलाई रैथानेहरूले निरन्तरता दिइरहेका छन् । यो जाति अधिक बसाइ सरेर जाने समूहमा पर्छ । अहिले यो जाति काठमाण्डु लगायत विभिन्न शहरहरूमा भेटिन्छन् । तीन गाउँले थकाली सेवा समाजको केन्द्रीय कार्यालय पोखरामा छ । यसबाट के बुझिन्छ भने अधिकांश तीन गाउँले थकालीहरूको नयाँ बासस्थान पोखरा शहर हो । बसाइ सरेर आएका तीन गाउँले थकालीहरूको आय आर्जनको प्रमुख स्रोत व्यापार र होटल व्यवसाय हुन् ।
तीन गाउँले थकालीको प्रथाजनित नियम अनुकरणीय छ । गाउँमा रहेका हरेक घरको मूली सदस्य रहने एक परम्परागत संस्था छ, जसलाई ह्यूलो झोम्पा भनिन्छ । त्यसको प्रमुख अर्थात् मुखिया हरेक वर्ष निर्वाचित हुन्छन्, र उनकै नेतृत्वमा ह्यूलो झोम्पाको बैठक वर्षको दुई पटक बस्छ । यो संस्थाको कार्यक्षेत्रबारे गरिएको अध्ययनले यस्तो देखाएको छ : “ह्यूलो झोम्पाले नियम कानुन बनाउँछ र पालना पनि गराउँछ । कसुरवार, कानुन तोड्ने, सुरक्षित वनबाट रुख काट्ने, कसैको वस्तुभाउ अर्काको खेतबारी छाडा छाड्ने, गाउँमा सामाजिक कार्यमा सहभागी नहुनेलाई जरिवाना तिराउँछ । साथै गाउँको सम्पत्तिको रक्षा पनि गर्छ । कुन ॠतुमा कुन बाली लगाउने भनी निष्कर्ष निकाल्छ । परिषदको कार्यक्षेत्रभित्र बाटो-घाटो, पुलको निर्माण, मर्मत र यस्तै विकास कार्य पर्छन् । धार्मिक, सामाजिक कार्य तथा न्यायका विषयमा समेत निर्णय दिन्छ र कार्यान्वयन पनि गर्छ” (गुरुङ र अरू २०६८: १०४) ।