वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व षष्ठी - ६
प्रतिष्ठान ऐनमा सूचीकृत तोप्केगोला एक हिमाली जाति हो । स्थान-विशेषसँग जोडिएर नामकरण भएको यो जाति स्थानीय स्तरमा ढोक्प्या भनेर चिनिन्छ । नेपालमा उनीहरूको थातथलो ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलाभन्दा पश्चिम पट्टिको मेवा खोलाको सिरान हो । यो एक अति अल्पसङ्ख्यक जाति हो जसको जनसङ्ख्या २०७८ को जनगणना अनुसार ६४२ मात्र छ । तीमध्ये ९८ प्रतिशतको बसोबास ताप्लेजुङ जिल्ला होस अर्थात्, उनीहरू सबै आफ्नै थातथलोमा बस्छन् ।
नस्लमा मङ्गोल तोप्केगोलाको भाषा ढोक्प्या हो, जुन तिब्बती-बर्मेली परिवारभित्र पर्दछ । तर यो भाषाको लिपि छैन, न त यो जनगणनामा उल्लेख भएको छ । यिनको भाषा, भेषभुषा, रहनसहन छिमेकी ल्होमी (शिङसावा), वालुङ र थुदामको जस्तै तिब्बतीसँग मिल्छ । यी सबैको धर्म बोन मिश्रित बौद्ध हो र साथै प्रकृतिपूजन पनि हो ।
तोप्केगोला जातिको मुख्य पेशा व्यापार हो । उनीहरूको व्यापार केन्द्र चैनपुर (संखुवासभा) र सार (तिब्बत) बीच पर्छ । कृषि र पशुपालन सहायक पेशा मात्र हो । उब्जाउ हुने अन्नमा जौ, गहुँ, उवा र फापर हुन् । पाल्ने पशुमा चौँरी, भेडा-च्याङ्ग्रा र खच्चर हुन् ।