प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा त्रयोदशी - २८

प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव–२०८२ सम्पन्न

प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव–२०८२ सम्पन्न

काठमाडौं, माघ २७ — आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव–२०८२ तीनदिने कार्यक्रमसहित सम्पन्न भएको छ । माघ २५ देखि २७ गतेसम्म सञ्चालन भएको सम्मेलनको उद्घाटन सम्माननीय राष्ट्रपति ज्यू रामचन्द्र पौडेलले गर्नुभएको थियो ।

देशभित्र तथा विदेशबाट गरी ८०० भन्दा बढी प्रतिनिधि तथा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त सम्मेलनमा सूचीकृत आदिवासी जनजाति समुदायहरूको प्रतिनिधित्व रहेको थियो । राउटे, वनकरिया जस्ता लोपोन्मुख समुदायदेखि नेवार, थकाली लगायत विभिन्न समुदायका प्रतिनिधिहरू आफ्ना–आफ्ना थलोबाट सहभागी भई सम्मेलनलाई समावेशी र समुदायगत प्रतिनिधित्वयुक्त बनाएका थिए  ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपति ज्यूले आदिवासी जनजातिहरूको मौलिक ज्ञान, परम्परा, भाषा र सांस्कृतिक अभ्यास राष्ट्रको बहुमूल्य सम्पत्ति भएको उल्लेख गर्नुभयो। उहाँले परम्परागत ज्ञान प्रणालीको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरणलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि आदिवासी समुदायको योगदानलाई नीतिगत रूपमा सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रतिष्ठानले विगत २५ वर्षमा आदिवासी अधिकार, सशक्तीकरण र अनुसन्धानका क्षेत्रमा पु¥याएको योगदानको उहाँले प्रशंसा गर्नुभयो । 

सम्मेलनको दोस्रो दिन

सम्मेलनको दोस्रो दिन विभिन्न विषयगत सत्रहरूमा प्यानल छलफल तथा अनुभव आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो । विज्ञ, प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ता र समुदाय प्रतिनिधिहरूको सहभागितामा आदिवासी ज्ञान प्रणाली, भाषा संरक्षण, सांस्कृतिक अधिकार, प्राकृतिक स्रोत व्यवस्थापन, जलवायु परिवर्तन र दिगो विकासका सवालमा गहन छलफल, अनुभव आदानप्रदान भएको थियो । छलफलका क्रममा परम्परागत ज्ञान र आधुनिक विकास अवधारणाबीच समन्वय आवश्यक रहेको, स्थानीय तहसम्म ज्ञानको अभिलेखीकरण प्रणाली विकास गर्नुपर्ने तथा समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने सुझावहरू प्रस्तुत गरिएका थिए ।

सम्मेलनको एक विशेष आकर्षणका रूपमा “आदिवासी गौरव” का रूपमा शंखधर साख्वा, पासाङ ल्हामु शेर्पा, लखन थापामगर, जंगवीर तामाङ, बाजहाङ आङ्बुहाङ, राम प्रसाद राई, बंशु गुरुङ, भूपि सेरचन गरि ८ जना विशिष्ट व्यक्तित्वहरूको योगदान समेटिएको छोटो जीवनी (बायोग्राफी) भिजुअल देखाइएको थियो । जसले सहभागीहरूलाई आदिवासी समुदायका प्रेरणादायी व्यक्तित्वहरूको योगदानबारे जानकारी गराउनुका साथै गौरवको भावना अभिवृद्धि गरेको थियो ।  


सम्मेलनको तेस्रो दिन

तेस्रो दिन विभिन्न समानान्तर प्राविधिक सत्रहरूमा कुल ६६ वटा अनुसन्धानपत्र प्रस्तुत गरिएका थिए। देशका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था तथा समुदायस्तरबाट सहभागी विद्वान र अनुसन्धानकर्ताहरूले आदिवासी भाषा, सांस्कृतिक सम्पदा, जैविक विविधता संरक्षण, परम्परागत शासन प्रणाली, महिला नेतृत्व, मौलिक ज्ञान र दिगो जीविकोपार्जनलगायत विषयमा आफ्ना अध्ययन प्रस्तुत गरेका थिए । प्रस्तुत अनुसन्धानपत्रहरूमाथि अन्तरक्रियात्मक छलफलसमेत भएको थियो, जसबाट भावी नीति निर्माण तथा अनुसन्धानका दिशानिर्देश गरेको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै अर्थ मन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय रामेश्वर खनालज्यूले आदिवासी जनजाति समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक सशक्तीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।  उहाँले समावेशी विकासलाई व्यवहारमा कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो। साथै, आदिवासी ज्ञानलाई राष्ट्रिय विकासको मूलधारसँग जोड्न अनुसन्धान, दस्तावेजीकरण र नीतिगत संस्थागतकरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिष्ठानले सम्मेलनमा प्रस्तुत ६६ वटै अनुसन्धानपत्रहरूलाई संकलन गरी पुस्तकाकार रूपमा प्रकाशन गर्ने जनाएको छ । यस प्रकाशनमार्फत सम्मेलनका उपलब्धि, निष्कर्ष र सिफारिसहरूलाई संस्थागत गर्दै दीर्घकालीन सन्दर्भ सामग्रीका रूपमा विकास गरिने प्रतिष्ठानले स्पष्ट पारेको छ। अनुसन्धानपत्रहरूको प्रकाशनले आदिवासी ज्ञान प्रणालीको संरक्षण, प्रवद्र्धन तथा नीतिगत बहसलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

“ज्ञानको आदान–प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण” भन्ने मूल नारासहित सम्पन्न सम्मेलनले आदिवासी जनजातिहरूको मौलिक ज्ञानलाई राष्ट्रिय विमर्शको केन्द्रमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानले जनाएको छ। तीन दिनसम्म सञ्चालन भएको कार्यक्रमले नीति–निर्माता, अनुसन्धानकर्ता, समुदाय प्रतिनिधि र युवा पुस्ताबीच सार्थक संवादको वातावरण सिर्जना गर्नुका साथै रजत जयन्तीको उपलब्धिलाई संस्थागत आधार प्रदान गरेको निष्कर्ष निकालिएको छ ।

सम्मेलन सम्पन्न गर्न प्रतिष्ठान राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. गणेश गुरुङको संयोकत्वमा प्रा. डा. कृष्ण हाछेथु, डा. मुक्तसिं तामाङ, डा. श्यामु थापा र शंकर लिम्बू रहेको स्टेरिङ कमिटि बनाएको थियो ।