वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व पुन्हि - १५

आदिवासी जातिहरुको जातिय संघसंस्थाहरु सित प्रतिष्ठानको छलफल कार्यक्रम मितिः २०८१ पौष १८ गते, बिहीबार आ.ज.उ.रा.प्रतिष्ठानको हल, सानेपा, ललितपुर । नेपाल सरकारद्वारा सुचिकृत विभिन्न ५९ आदिवासी जनजातिहरु मध्ये काठमाडौ उपत्यकामा रहेका २०-२१ वटा जातिय संघ संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरुको छलफल बैठक प्रतिष्ठानको उपाध्यक्ष श्री रेशम गुरुङ्ग ज्यूको अध्यक्षतामा प्रतिष्ठानको हल, सानेपा, ललितपुरमा सञ्चालन भएको थियो । प्रतिष्ठानको सदस्य सचिव कमल प्रसाद राजवंशीबाट प्रतिष्ठान बारे प्रकाश पार्नु भएको थियो ।
प्रतिष्ठानको विगत देखि हालसम्म आदिवासी जनजाति सम्बन्धि विविध कार्यक्रमहरु सञ्चालन हुदै आएको वहाँले बताउनु भयो । तर संघियता सँगै बजेटको आकार साँगुरिएको र सोही अनुसार कार्यक्रमहरु कम हुदै जाँदा प्रतिष्ठानको कार्य क्षेत्र पनि कम हुँदै गएको बताउनु भयो । यसले गर्दा विगतमा जे जस्तो भएता पनि अगामी दिनहरुमा प्रतिष्ठानले के कसरी आफ्नो कार्यक्रमहरु प्रभावकारी ढंगबाट गर्नु पर्ने बारे सल्लाह, सुझाव तथा प्रतिक्रियाहरुको अपेक्षा राख्दै यो बैठक सञ्चालन गरिएको थियो । यस बैठक छलफलमा उपत्यकामा रहेका २०-२१ वटा जातिय संस्थाहरुबाट प्रतिनिधिहरु उपस्थित रहेको र यस बैठकबाट प्रतिष्ठानले विभिन्न जातिय संघसंस्था, आदिवासी जनजाति आयोग र अन्य सरोकारवालाहरु सँग कसरी प्रतिष्ठानले समन्वय गरेर अघि बढ्न सकिन्छ भन्ने बारे छलफल वहस चलाईएको थियो।
उपाध्यक्षले यस अघि प्रतिष्ठानका पूर्व उपाध्यक्ष श्री जीतपाल किरात, श्री चन्द्र बहादुर गुरुङ्ग र श्री गोकुल घर्ती मगरलाई भेटघाट गरी छलफल गरी सक्नु भएको बताउनु भयो । प्रतिष्ठान, आयोग र जातिय संस्थाहरुको कार्यक्रम दोहोरो नहोस् र आ-आफ्नो कार्यक्षेत्र र जिम्मेवार आदिवासी जनजातिका हितका लागि निर्वाह गर्नु पर्ने बताउनु भयो । प्रतिष्ठानले आदिवासी जनजाति विज्ञ तथा अन्य नसमेटिएका सरोकारहरुवालासँग पनि छिट्टै यस प्रकारको छलफल कार्यक्रम राख्ने तयारी गरि रहेको नवनियुक्त उपाध्यक्षले बताउनु भयो।यस आ.व.मा झण्डै सवा ७ करोडको सेरोफेरोमा बजेट रहेको र थप ५ करोड अध्ययन अनुसन्धानमा आउन बाँकिको मन्त्रालयमा प्रक्रिया भई रहेको छ । प्रतिष्ठानको कार्यालय सञ्चालनमा बढी रकम खर्च हुने तथा कार्यक्रममा कम मात्र बजेटहरु विनियोजन हुदै आईरहेको बताउनु भयो । आर्थिक वर्ष शुरु भएर ४-५ महिना भई सकेको अवस्थआमा बजेट थोरै भए पनि जातिय संस्थाहरुले यही पौष महिना सम्ममा आफ्नो संस्थाहरुको अडिट तथा नविकरण गरी कागजातहरु दुरुस्त राख्ने कार्य गर्न हुन अनुरोध गर्नु भयो । प्रतिष्ठानले वार्षिक कार्यक्रम अनुसार २ पटक परिषद बैठक भने पनि हालसम्म एकै पटक मात्रै गरी आएकोमा यसपाली देखि सकभर दुवै पटक यही माघ २५ गते प्रतिष्ठानको स्थापना दिवसमा र अन्तिम अषाढमा गर्ने तय राखिएको छ ।
प्रतिष्ठानको कार्यहरुको भिजिविलिटि देखिनु आवश्यक छ र यसमा सम्पुर्ण आदिवासी जनजाति संघसंस्था तथा सरोकारवालाहरुसँग सहकार्य गर्दै जान पर्नेछ । यसको लगतै उपाध्यक्ष ज्यूबाट छलफलका लागि कार्यक्रममा सहभागिहरुलाई आफ्नो जिज्ञासा तथा सुझावका लागि अनुरोध गर्नु भयो । जातिय संस्थाबाट प्रतिष्ठानका नवनियुक्त उपाध्यक्षलाई यस छलफल कार्यक्रम राख्नु भएकोमा धन्यवाद तथा वहाँको कार्यकालको शुभकामना प्रदान गर्नु भयो ।प्रतिष्ठान स्वायत्त संस्था भएकोले ३७ प्रतिशत आदिवासी जनजातिको लागि बजेट एकदमै न्यून भएको र यसको लागि सरकारबाट लगायत अन्य दातृ संस्थाबाट पनि पहल गर्नु पर्ने बताउनु भयो । प्रतिष्ठानको आदिवासी जनजाति परिचयपत्र लोकसेवा आयोगले मान्यता नदिने हुँदा सिफारिस वडा, पालिका र जिल्ला प्रशासन कार्यालयबाट हुने हुँदा जातिय संस्थाले गर्दै आएको कार्य बन्द जस्तै भएको बताउनु भयो । आदिवासी जनजाति बराम ऐनमा बरामु भनी सुचिकृत भएको हुँदा बराम र बरामु जाति एकै हो भनी कागजात बनाउनु पर्ने जनगुनासो रहेको बताउनु भयो ।
आदिवासी जनजाति आयोग आए पछी प्रतिष्ठानको अस्तित्वमा नै समस्या आएको र प्रतिष्ठानलाई खारेज हुनु हुदैन भन्ने रहेको छ । आयोगले निति निर्माण र सरकारलाई सिफारिस गर्ने कार्य गर्नु पर्नेमा प्रतिष्ठानले जस्तो कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा आयोगलाई जनजाति महासंघको नेतृत्वमा सम्पुर्ण जातिय संस्थाहरुले चेतावनी गर्नु पर्ने बताउनु भयो ।आयोगले प्रकाशित गरिएको उपथरहरु सम्बन्धी जातिय संस्थाहरु सहमत नभएको र ज्ञापनपत्र बुझाउँदा पनि वेभसाइटबाट हालसम्म नहटाइएको बताउनु भयो ।प्रतिष्ठानको सञ्चालक परिषदबाट पारित नभई रानाथारू सुचिकृत भएको र अन्य जाति सोना, हुम्ली र थासाङ जाति पनि आदिवासी जनजाति सुचीमा सुचीकृत हुन पहल भई रहेकोमा प्रक्रियागत ढंगबाट अध्ययन अनुसन्धान भएपछी मात्र जातिहरु थपघट हुनु पर्ने बताउनु भयो । यस सम्पूर्ण छलफल, जिज्ञासा, सल्लाह सुझावहरुको टिपोट गर्दै प्रतिष्ठानले अगामी दिनहरुमा आफ्नो मार्गदर्शनहरुमा विशेष ध्यान दिने बताउँदै प्रतिष्ठानका उपाध्यक्ष श्री रेशम गुरुङ्ग ज्यूबाट कार्यक्रममा निकै उपलब्धिमूलक भएको जानकारी गराउँदै उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम अन्त्य भएको घोषणा गर्नु भयो ।