अन्तराष्ट्रिय मातृभाषा दिवस २०८१ कार्यक्रम

अन्तराष्ट्रिय मातृभाषा दिवस २०२५ को अवसरमा मातृभाषा राष्ट्रिय सेवा पुरस्कार वितरण तथा मातृभाषा कविता वाचन कार्यक्रम आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अन्तराष्ट्रिय मातृभाषा दिवस २०२५ को अवसरमा यही मिति: २०८१ फाल्गुन ०९ गते, शुक्रबार ( २१ फेब्रुवरी २०२५) एभरेष्ट होटल, वानेश्वर, काठमाडौमा "मातृभाषा राष्ट्रिय सेवा पुरस्कार वितरण तथा मातृभाषा कविता वाचन कार्यक्रम" सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि रक्षा मन्त्री माननीय श्री मानवीर राई ज्यू बाट पानसमा दियो बालेर कार्यक्रमको उद्‌घाटन गरिएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष श्री रेशम गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथीहरुमा आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय श्री राम बहादुर थापा, नेपाल भाषा विभाग, पाटनका डा. राजनलाल जोशी, त्रि.वि. केन्द्रिय भाषा विज्ञान विभागका सह प्रा. कर्णा खतिवडा, नेपाल आदिवासी जनजाति अपाङ्ग महिला महासंघका अध्यक्ष श्री प्रतिमा गुरुङ्ग, नेपाल आदिवासी जनजाति अपाङ्ग महासंघका अध्यक्ष श्री खड्‌ग सारु मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष श्री गजुरधन राई, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्री त्रयलोक्यमान बनेपाली, भाषा आयोगका डा. लोक बहादुर लोप्चन, श्री मल्ल के. सुन्दर तथा सार्वजनिक सेवा प्रसारण नेपाल (पिसिबि)का सञ्चालक समिति सदस्य श्री अनिता गुरुङ्ग ज्यू लगायत आदिवासी जनजाति विज्ञ, जातिय संस्था प्रतिनिधि तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।

प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०८१ को अवसरमा यस वर्ष मातृभाषा राष्ट्रिय सेवा पुरस्कार साहित्यकार श्री योगेश राल्फाली (योक बहादुर घिसिङ) लाई नगद रू. एक लाख सहित ताम्रापत्र पुरस्कार प्रदान गरिएको थियो। रक्षा मन्त्री माननीय श्री मानविर राई तथा प्रतिष्ठानका उपाध्यक्ष श्री रेशम गुरुङ्गबाट पुरस्कार प्रदान गरिएको थियो । मातृभाषा राष्ट्रिय सेवा पुरस्कार ३ सदस्य छनौट समितिमा संयोजक श्री मल्ल के. सुन्दर, सदस्य श्री बम कुमारी बूढा र सदस्य डा. लोक बहादुर लोप्चन रहनु भएको थियो । मातृभाषा राष्ट्रिय सेवा पुरस्कृत साहित्यकार योगेश राल्फाली (योक बहादुर घिसिङ) लेखक, कवि, उपन्यासकार र महाकाव्यका स्रष्टा समेत हुन् । उनी तामाङ भाषा र साहित्य बाटिकामा कविता संग्रह देखि उपन्यास र महाकाव्य लेखन सम्म गरी एक दर्जन भन्दा बढी सिर्जनाका साथ आधा दर्जन पुरस्कारबाट सम्मानित भई सकेका छन् ।

कवि तथा गीतकारका रुपमा नेपाली भाषामा कविता संग्रह "आँसुले भिजेको परेली" (२०५३), "जन्जिरको घेराबाट" (२०५७), राल्फाली मैँच्याङ (२०६०), गजल विधामा "भोको पेट" (२०६३) संग्रहहरु प्रकाशित छन् । तामाङ भाषा र साहित्यको कविता विधा तर्फ "क्लुन्दुङ थोपो" (तालु खुइले, २०६९), मुक्तक संग्रह "थेच्यार" (बलेंसी, २०५९), हाइकू संग्रह "का:ला मिख्लि" (रगतको आँसु, २०६९); तामाङ गीतका रुपमा "ह्याङला ठीम" (२०७२); महाकाव्य "दुईला ङ्हार" (समयको गर्जन, २०७३), "गगन" (शोककाव्य खण्डकाव्य, २०७३); "घाइते ताम्सालिङ: कविता संग्रह (२०७६), "खानीखोला म्हाबर" (२०८०) गीतको शब्द रचना समेत गरेका हुन् । उपन्यास, कथा र पत्र साहित्यमा तामाङ भाषामा "प्राङबोला छेटाङ" (गरिबको साइत, २०५९), "याङसीला" ९२०६९) प्रकाशन भएका छन् । समष्टिमा तामाङ भाषा र नेपाली भाषा गरी हालसम्म लेखकको १३ वटा कृतिहरु प्रकाशित छन् जसमा ९ वटा तामाङ भाषामा सिर्जित छन् भने अन्य ४ वटा नेपाली भाषामा लेखिएका छन् । प्रकाशोन्मुख कृतिहरुमा "गोइलो कथा संग्रह", ख्रेमख्रेम बालगीत संग्रह, सिन्ज्याङ महाकाव्य, फ्याङगुलिङ गजल समग्र छन् ।

उक्त कार्यक्रममा उपस्थित कवि कवियत्रीहरू श्री सञ्जता दुरा, श्री प्रताप सिंह नाछिरिङ, श्री सम्राट गुरुङ्ग, श्री अनिता हास्दा, श्री भग्वता कुमाल, श्री जीवन कुमार धिमाल, श्री टेसी डोमा ल्होमी, श्री उत्तम कुमार सुनुवार र श्री आङ्ग्याल लामाद्वारा आ-आफ्नो मातृभाषामा कविता वाचन गरेका थिए ।