अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम

यस आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आ.व. २०८१/०८२ को वार्षिक स्वीकृत अभौतिक सांस्कृतिक संरक्षण, सम्बर्द्धन कार्यक्रम अन्तरगत "अभौतिक सांस्कृतिक सम्पदा वस्तुसूचीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम" मिति: २०८१ चैत्र १३ गते, बुधबार सिद्धार्थ कटेज, धाविघाट, ललितपुरमा आदिवासी जनजाति संघसंस्थाका सांस्कृतिक सम्पदा विषय सम्बन्धित पदाधिकारी तथा प्रतिनिधिहरु र आदिवासी जनजाति विज्ञहरुको सहभागितामा उक्त अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ । यस आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण कार्यक्रम अन्तरगत आदिवासी जनजातिहरुको हाल सम्म ४४ वटा वृत्तचित्र निर्माण गरि सकेको छ। नेपालको सूचीकृत ६० आदिवासी जनजातिहरुको विभिन्न अवस्थामा छरिएर रहेका अभौतिक सांस्कृतिक सम्पदाहरुको व्यवस्थित ढंगले अभिलेखिकरण गरी राष्ट्रिय सूचीकरणमा दर्ता गर्न सके यसको उचित संरक्षण हुने र भविष्यमा यसका लागि थप पहल गर्न सक्ने माघ्यमहरु सिर्जना हुनेछ । ने

पाल सरकारको संस्कृति नीति २०६७ लाई अधावधिक गर्दै राष्ट्रिय संस्कृति नीति २०७८ को मस्यौदा तयार भएको र मन्त्रीपरिषदबाट स्विकृत हुने प्रक्रियामा रहेको छ । यस्तै गरी संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय संस्था यूनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा संरक्षण महासन्धी २००३ को नेपाल पक्ष राष्ट्र २०१० मा भए देखि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयबाट पनि यूनेस्को काठमाडौं कार्यालयको समन्वयमा विगतमा यस अमूर्त सांस्कृतिक सम्पदाहरु सम्बन्धी केही कार्यक्रमहरु सञ्चालन हुदै आईरहेको छ । मन्त्रालयले राष्ट्रिय सूचीकरण कार्यान्वयनका लागि अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ ल्याइएको छ । मन्त्रालयले यही सन्दर्भमा मिति: २०८१ माघ ०६ गते विभिन्न व्यक्ति, समूह, समुदाय वा संघसंस्थाहरुलाई "अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्नका लागि आवेदन आव्हान सम्बन्धी" सूचना सार्वजनिक गरेको छ । यस कार्यका लागि सहजीकरण गर्नका लागि यस प्रतिष्ठानद्वारा विभिन्न सूचीकृत आदिवासी जनजातिहरुका संस्कृति सम्बन्धित व्यक्ति/समूहलाई पनि यस सम्बन्धी ज्ञान तथा जानकारी होऊन भनी उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम सञ्चालक प्रतिष्ठानका सूचना अधिकृत श्री हितकाजी गुरुङ्गले यस सम्बन्धी जानकार गराइएको थियो । कार्यक्रममा आसन-ग्रहण, परिचायत्मक कार्यक्रम र राष्ट्रगान लगतै प्रतिष्ठानका सदस्य सचिव श्री कमल प्रसाद राजवंशी ज्यूले आफ्नो स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य र विषय प्रवेशका लागि विषयविज्ञ डा. सोम बहादुर धिमाल ज्यूलाई अभौतिक सांस्कृतिक सम्पदा वस्तुसूचीकरणको कार्यपत्र प्रस्तुतीका लागि अनुरोध गरिएको थियो । वहाँले अमूर्त सांस्कृतिक सम्पदा संरक्षण महासन्धी २००३ को व्याख्या तथा नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले सार्वजनिक गरेको अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण आवेदन प्रक्रिया तथा अनुसूचीहरु माथि प्रकाश पार्नु भएको थियो। मन्त्रालयको विवरणसूची फाराम ढाँचाको १-१० वटा बूँदाहरु भर्ने तौरतरिका तथा विधिहरु बारे वहाँले विस्तृत रुपमा वर्णन गर्नु भएको थियो। कार्यपत्र केही लामो भएता पनि सबैले सरल ढंगबाट बुझुन् भन्ने प्रयत्न डा. सोम धिमालबाट गर्नु भएको थियो।यो प्रस्तुती निकै उपयोगी रहेको पनि सहभागिहरुबाट प्रतिक्रिया आएको थियो। प्रतिष्ठानको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण कार्यक्रम अन्तरगत विगत देखि आदिवासी जनजातिहरुको लोपोन्मुख अवस्थाको अभौतिक संस्कृति सम्बन्धी वृत्तचित्र निर्माण तथा अभिलेखिकरण कार्यहरु सम्पन्न गर्दै आईरहेको छ । हाल सम्म प्रतिष्ठानले यस कार्यक्रम अन्तरगत विभिन्न आदिवासी जनजातिहरुको जम्मा ४४ वटा वृत्तचित्रहरु निर्माण भई सकेको र उक्त वृत्तचित्रहरु इण्डिजिनस् टेलिभिजन, काठमाडौं मार्फत प्रसारण गर्दै आईरहेको छ । यी वृत्तचित्रहरु अनलाईन मार्फत सामाजिक सञ्जाल, यू ट्युब च्यानल तथा प्रतिष्ठानको वेभसाइटहरुमा पनि सार्वजनिक रुपमा हेर्न मिल्ने गरी उपलब्ध गरि रहेकोछ । न्यूनतम बजेटमा तयार पारिएको भएता पनि आदिवासी जनजातिहरुको वृत्तचित्रहरु प्रतिष्ठानले यसरी तयार गरी संस्कृति संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्दै आई रहेको छ । यस कार्यबाट आदिवासी जनजातिहरुको संस्कृति, मौलिक परम्परा, संस्कार, भाषा, धर्म आदी जगेर्ना हुने तथा भावी पुस्ताको लागि पनि निकै उपयोगी हुने देखिएको छ ।

यस प्रकार वृत्तचित्रहरुलाई समय समयमा हुने आदिवासी जनजातिका चाडपर्व, सभा सम्मेलन वा विशेष महोत्सव अवसरहरु जस्तै: विश्व आदिवासी दिवस, विश्व आदिवासी जनजाति चलचित्र महोत्सव आदिमा प्रस्तुत गर्न पाए यसको अझ बढी महत्व हुन सकिने देखिन्छ । जस्तै: चितवनको सौराहामा थारु समुदायले आफ्नो मौलिक झल्कने परम्परागत भेषभुषामा आफ्नो नाचगान, गीत, बाजागाजा, खानपिन आदि त्यहाँ घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरु माझ प्रस्तुत गर्दछन् । यसबाट उनीहरुको संस्कार संस्कृतिको संरक्षण र सम्बर्द्धन हुने तथा थारु जातिको यसबाट आयआर्जन भई जीवकोपार्जनमा सहयोग पुगि रहेको छ । आफ्ना संस्कृतिहरु जातिय संग्राहलय बनाएर राख्ने तथा आफ्ना बालबालिकाहरुलाई पनि आफ्नो संस्कार, संस्कृति, भाषा सिकाउँदै जानु पर्दछ । यसबाट हाम्रा पुर्खाले गर्दै आएका मौलिक परम्परागत रितिरिवाज तथा ज्ञान सीपको पनि जगेर्ना हुन्छ । यसर्थ यस प्रतिष्ठानको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण तथा सम्बर्द्धन कार्यक्रम वृत्तचित्र निर्माणमा मात्र सिमित नगरी अन्य माध्यमहरुबाट पनि आदिवासी जनजातिय संस्था, ब्यक्ति, समूह, समुदायमा पुर्‍याउन पर्ने आवश्यक देखिन्छ । यस्तै समुह, समुदायमा भिडियो रेकर्डिङ, अध्ययन गर्न जाँदा कस्तो समुदाय हो? स्थानीय श्रोत व्यक्ति मार्फत सहजीकरण तथा सहमति गर्नु पर्ने हुन्छ ।

उनीहरुको संस्कार, भावना, गोपनियता आदीलाई सम्मान गर्नु पर्दछ । संस्कृति सुचीकरण विभिन्न प्रकारका हुन्छन् १) मानव सभ्यताका लागि प्रतिनिधिमूलक सूची (Representative List for Humanity) २) कुनै राम्रो अभ्यास अरुको लागि सिकाई हुन सक्ने (Good Practices) ३) जरुरी छ, तुरुन्तै नगरे हराउन सक्ने अवस्थाको (Urgent Safeguarding List) यस्तै वस्तुसुचीकरण (Inventorying Form)बाट पनि धेरै कुराहरु समेटेको छ । समुदाय, अभ्यासकर्ता सँग यो फारम भर्ने गरिन्छ । यस बाहेक संलग्न व्यक्तिहरुसँग भिडियो अन्तर्वाता लिंदा पनि धेरै कुराहरु आउँदछ । समुदायमा चेतना अभिवृद्धि गरेर आफैले गर्न सक्ने बनाउन सके राम्रो हुन्छ । डकुमेण्ट्रिहरुमा संरक्षण गर्न पर्ने संस्कृति सम्बन्धी महत्वपुर्ण विषयवस्तु आयो आएन पुनरावलोकन गर्नु पर्दछ । भिडियो खिच्नु अघि पूर्व तयारी अध्ययन अनुसन्धान तथा छलफल हुन अति आवश्यक छ । यसको अभ्यास र पुस्तान्तरण कसरी भएको छ वा हुन सक्छ र हाल कुन अवस्थामा सञ्चालन भई रहेको छ आदि विचार पुर्याउनु पर्दछ । तर सकभर गुणस्तरिय, जानकारमूलक र यसको महत्व बुझ्न आवश्यक छ । महासन्धी २००३ को संस्कृतिको ५ वटा क्षेत्रहरु सहज होस् भनी छुट्याईएको छ । तर कतिपय संस्कार संस्कृतिहरु एक वा एक भन्दा बढी डोमेनहरुमा पनि आवद्ध भएका हुन्छन् । जस्तै: मुर्ति बनाउन परम्परागत कलाकौशल भएता पनि बनाउन अघि र बनाई सकेपछी त्यसलाई विधि, प्रक्रिया, पुजा आदि गरिनु पर्दछ ।

कार्यक्रम सञ्चालक प्रतिष्ठानका श्री हितकाजी गुरुङ्ग ज्यूले पनि यस सूचीकरण प्रक्रिया मन्त्रालय मार्फत नै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था यूनेस्कोमा सूचीकरण दर्ता प्रक्रियामा जाने हुनाले मन्त्रालय कै प्रक्रिया र ढाँचा अनुसरण गर्न पर्ने भएको बताउनु भयो । नेपाल कला र संस्कृतिको धनी, बहुजाति, बहुभाषी र विविधताको देश भएकोले यहाँको विभिन्न सांस्कृतिक सम्पदाहरु विभिन्न समुदायले अभ्यासमा रहेता पनि यसको व्यवस्थित रुपले अभिलेखिकरण, संकलन तथा संरक्षण हालसम्म पनि हुन नसकेकोले यसलाई व्यवस्थित गर्न यो कार्यविधि २०८१ आएको बताउनु भयो ।महासन्धी २००३ ले वस्तु सूचीकरण दर्ता प्रक्रिया गर्दा मानव अधिकार उल्लंघन हुने, बालश्रम, शोषण, पशु हत्या वध जस्ता प्रकृतिका दृश्यहरु सेन्सर गर्नु पर्ने तथा नेपालको छाउ प्रथा, मुक्त कमैया जस्ता मानव अधिकार हनन् हुने जस्ता प्रवृत्तिका सांस्कृतिक परम्पराहरुलाई दर्ता प्रक्रियामा समावेश नगरिने बताउनु भयो । कार्यक्रममा सांस्कृत विद् डा. भक्त राई ज्यूबाट पनि मन्त्रालयले यो माघ ०६ गते देखि वैशाख मसान्त सम्मका लागि आवेदन आव्हान गरेकोमा असन्तुष्टी जनाउनु भयो । अभौतिक सांस्कृति सम्पदाको सूचीकरणका लागि कम्तिमा पनि १ वर्षको परिचक्रको आवश्यक हुने बताउनु भयो । आदिवासी जनजातिहरुले गर्ने सांस्कृतिक परम्पराहरु वर्षमा निश्चित समय र स्थानमा हुने भएकोले यसको अध्ययन तथा अभिलेखन गर्न सोही मिति र समय अत्यन्तै महत्व हुने हुँदा यो आवेदनको अवधी वैज्ञानिक नभएको बताउनु भयो ।तर प्रतिष्ठानको यस प्रकार कार्यक्रम संघ, प्रदेश र स्थानीय तहमा पनि जानु पर्ने बताउनु भयो ।

वरिष्ठ पत्रकार श्री खिम घलेले पनि यस सम्बन्धी प्युठान जिल्लाका मगर समुदायहरुले अभ्यास गरिने सराया नाच सम्बन्धी स्थानीय समुदायको सहमति लिएर कार्य गरिएको र यस प्रकारको अभिमुखिकरण कार्यक्रमहरु प्रदेश, संघ र स्थानीय तहहरुमा पनि जान सके अझ फलदायी हुने बताउनु भयो । कार्यक्रमको अन्तमा प्रतिष्ठानका उपाध्यक्ष श्री रेशम गुरुङ्गज्ञयूबाट सम्पूर्ण सहभागीहरुलाई यस अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सहभागिता जनाई आफ्नो अमूल्य सुझाव तथा जिज्ञासाहरु राखि यस कार्यक्रमलाई सफल पारी दिनु भएकोमा हार्दिक धन्यवाद दिनु भयो । यस कार्यक्रमबाट आदिवासी जनजातिहरु अभौतिक सांस्कृतिक सम्पदा विषयवस्तु तथा वस्तुसूचीकरणका लागि निकै लाभान्वित भएको छ । प्रस्तोता: हितकाजी गुरुङ्ग शाखा अधिकृत