वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व पुन्हि - १५

यस आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आ.व. २०८१/०८२ को कार्यक्रम तर्फ "ईन्टराक्सन मिटिङ विथ् आईपिज् एण्ड एक्सपर्टस कार्यक्रम" मिति: २०८१ असार ०८ गते, आइतबार स्क्वायर होटल, पुल्चोक, ललितपुरमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थामा आदिवासी जनजातिहरुको क्षेत्रमा विभिन्न तहमा कार्यरत पदाधिकारीहरु तथा विज्ञहरुका माझ एक भेटघाट, अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रम सुरुवात प्रतिष्ठानका सदस्य सचिव श्री ज्ञानेन्द्र पुन मगरज्यूले यस कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आदिवासी जनजातिय सघसंस्थाहरु सित समन्वय गर्ने उद्देश्यका साथ विश्व परिवेशमा आदिवासी जनजातिका विषय सम्बन्धी सूचना तथा सद्भाव आदान प्रदान हुने हुँदा उक्त कार्यक्रम तय गरिएको बताउनु भयो । यसको लगतै उपस्थित सहभागीहरुबाट आ-आफ्नो परिचय दिन परिचायात्मक कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य र विषय प्रवेशका लागि प्रतिष्ठानका सदस्य सचिवज्यूले कार्यक्रम सूची सम्बन्धी जानकारी गराउँदै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बारेमा संक्षिप्त जानकारीका लागि प्रतिष्ठानका शाखा अधिकृत श्री हितकाजी गुरुङ्गद्वारा प्रतिष्ठानको परिचय, उद्देश्य, संरचना र कार्यक्रमहरु सम्बन्धी पावर पोइन्ट मार्फत प्रस्तुतीकरण गर्नका लागि निर्देशन गर्नु भएको थियो । प्रतिष्ठानका शाखा अधिकृत ज्यूबाट उक्त प्रस्तुती मार्फत प्रतिष्ठानको चिनारी, उद्देश्य, कार्यक्रमहरु, कार्यक्षेत्र अधिकार तथा भावी योजनाहरु प्रस्तुती पश्चात कार्यक्रममा उपस्थित डा. कृष्ण हाछेथु ज्यूद्वारा प्रतिष्ठानको सूचीकृत आदिवासी जनजातिहरुको ईन्साइकोपेडिया निर्माण कार्यको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो। प्रस्तुत विषयवस्तुहरु माथि सहभागीहरुबाट वहाँहरुको जिज्ञासा र प्रश्नहरु छलफलका लागि सेशन खुला गरिएको थियो । छलफलमा प्रतिष्ठानबाट प्रकाशन हुने पुस्तकहरु सहज रुपले पढ्न हेर्न पाउने गरी व्यवस्थित ढंगले अनलाईनमा राख्न सके धेरै उपलब्धिमूलक हुने बताउनु भयो । सहभागिहरुबाट आएका जिज्ञासाहरुमा आदिवासी जनजातिको पाँच समूहको वर्गीकरण वि.सं.२०५८ सालमा क) लोपोन्मुख समूह ख) अति सिमान्तकृत समूह ग) सिमान्तकृत समूह घ) सुविधा वञ्चित समूह ङ) उन्नत समूह गरिएको भएता पनि हाल सम्म यसको अधावधिकका लागि अध्ययन अनुसन्धानका लागि कुनै पहल नभएको बताउनु भयो । यसमा उन्नत समूहमा नेवार र थकाली जातिहरुलाई राखिएता पनि सबै आदिवासी जनजातिहरुको आफ्नै किसिमको उत्थानको आवश्यक रहेका हुन्छन। नेवार जाति भित्र पनि फरक फरक अवस्था रहेका नेवारहरु छन् । त्यस्तै थकाली जातिको भाषा संरक्षण गर्न आवश्यक छ ।
आर्थिक अवस्थालाई मात्र नहेरी अन्य सामाजिक, सांस्कृतिक, भाषिक, शैक्षिक अवस्थाहरुको अवस्थालाई पनि ध्यान दिन जरुरी छ । विभिन्न आदवासी जनजातिहरुको पुन:सुचीकरण के कस्तो अवस्थामा छन् ? यसको परिमार्जन किन हुन नसकेको? र आदिवासी ५९, ६०, ६१? कति भएको हो ? आदि कुराहरु छलफलमा उठेका प्रश्नहरु थिए । प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासंग, आदिवासी जनजाति आयोगको कार्य क्षेत्र पनि फरक फरक रहेको बताउनु भयो ।प्रतिष्ठानको कार्यक्रमहरुले आदिवासी जनजातिको हक हित र पहिचानको संरक्षण गर्दै उनीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा राजनितिक पहुँचमा सामवेशीता, पारदर्शीता, आत्मनिर्णयको अधिकार, सहभागिमूलक अवधारणा मार्फत सशक्तिकरण, संरक्षण, सम्बर्द्धन तथा विकास गर्दै राष्ट्र निर्माणमा बृहत भूमिका हुने बताउनु भयो ।यसका लागि सबै यस क्षेत्रमा काम गर्ने संघसंस्था, समुह, व्यक्तिको बुझाई एकमत हुनु पर्यो ।प्रतिष्ठानले ग्राउण्ड लेभलमा कसरी पहुँच पुर्याउने सो पनि ध्यान दिनु पर्यो ।धेरै आदिवासी जनजाति महिलाहरु प्रतिष्ठानको कार्यक्रमहरुमा पहुँच छैनन् ।
आदिवासीको समस्याहरु सामाधान गर्न अध्ययन अनुसन्धानबाट आएको डाटा र अनालाईसिसको प्रयोग गरि आदिवासीको फ्रेमवर्क तयार गरी उनीहरुको समस्या पहिचान गरी सोही अनुरुप कार्य गर्नु पर्ने । अहिलेको अवस्थामा जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय निकायहरुको धेरै चासोको विषय भएता पनि यस लगायत आदिवासी जनजातिहरुका धेरै विषयहरुमा प्रतिष्ठानको संलग्नता र भूमिका नदेखिएको बताउनु भयो । प्रतिष्ठानले गरि रहेको ईनसाइक्लोपेडिया पनि सम्बन्धित जातिले गर्दा अझ बढी राम्रो हुने । यस छलफल कार्यक्रमले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थाहरु सित प्रतिष्ठानले भविष्यमा सहकार्य गर्ने वातावरण बन्ने तथा आ-आफ्नो आदिवासी जनजातिको क्षेत्रमा अनुभवहरु आदान प्रदान गर्दा कार्यक्रमहरु निकै उपलब्धीमूलक हुने बताउनु भयो । यसै गरि विभिन्न संघसंस्थाहरु माझ समन्वय र सम्बन्ध विस्तार हुने र आदिवासी जनजातिको समस्या मुद्दाहरु सहकार्यमा निराकरण गर्न सकिने बताउनु भयो । प्रतिष्ठानले छोटो अवधिमा नै यस प्रकार तय गर्नु भएको हार्दिक धन्यवाद तथा कृतज्ञता पनि दिनु भयो । वहाँहरुले आदिवासी जनजाति र प्रतिष्ठानको सन्दर्भमा राख्नु भएको प्रश्न जिज्ञासा माथि प्रतिष्ठानका सदस्य सचिव श्री ज्ञानेन्द्र पुन मगर ज्यूले जवाफ दिदै प्रकाश पारि दिनु भएको थियो। यसको लगतै बाँकी जिज्ञासा प्रश्नोत्तर प्रतिष्ठानका उपाध्यक्ष श्री रेशम गुरुङ्गले प्रतिष्ठानले गर्न पर्ने धेरै कुराहरु रहेको र यस छलफलबाट बढी भन्दा बढी प्रश्नहरु आउनु स्वभाविक रहेको बताउनु भयो । तर प्रश्नको उत्तर आजै दिनु भन्दा पनि प्रतिष्ठानले ती प्रश्नका जवाफहरु पछी कामले देखाउने कुरामा विश्वास दिलाउनु भयो ।
कार्यक्रमको अन्तमा प्रतिष्ठानका उपाध्यक्ष श्री रेशम गुरुङ्गज्ञयूबाट सम्पूर्ण सहभागीहरुलाई यस कार्यक्रममा सहभागिता जनाई आफ्नो अमूल्य सुझाव तथा जिज्ञासाहरु राखि यस कार्यक्रमलाई सफल पारी दिनु भएकोमा हार्दिक धन्यवाद दिनु भयो । यस कार्यक्रमबाट आदिवासी जनजातिहरुका विभिन्न संघसंस्थाहरु आदिवासी जनजातिको अधिकार र पहिचानका लागि निरन्तर समन्वय र सहकार्य गर्नका लागि निकै लाभान्वित भएको छ ।