३१औं विश्व आदिवासी दिवस २०२५

३१औं विश्व आदिवासी दिवस २०२५

(शा.अ. श्री हितकाजी गुरुङ्ग, आ.ज.उ.रा.प्रतिष्ठान) नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, संयुक्त राष्ट्र संघको कृषि तथा खाध संगठन (FAO ) र युनेस्को (UNESCO) को संयुक्त आयोजनामा "३१औं विश्व आदिवासी दिवस" को सन्दर्भमा मिति २०८२ साउन २२ गते बिहिबार बसन्तपुर ,काठमाडौंमा नेपाली आदिवासी ज्ञान प्रणालीको प्रवर्द्वन ( Promoting Indigenous Peoples Knowledge Systems of Nepal)' कार्यक्रम अत्यन्तै भब्यरुपमा सु-सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि सम्माननीय राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालज्युको उपस्थितिमा अन्य अतिथिगणहरु राष्ट्रिय सभा सदस्य श्री सुरेस आले मगर, सांसद माननीय उर्मिला माझी, आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापा मगर, माननीय सूर्य बहादुर गुरुङ, प्रतिष्ठानका सञ्चालक परिषद सदस्यहरु, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष श्री गेल्जे शेर्पा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङिमी शेर्पा, संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधिज्यु साथै अन्य कुटनैतिक निकायका प्रमुख श्री हाना सिङ्गर ह्याम्डी, यूनेस्को काठमाडौं नेपालका प्रमुख श्री याको डु टोइट, डब्लु डब्लु एफका प्रमुख श्री घनश्याम गुरुङ, जातिय संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु, नेपाल आदिवासी अपाङ्ग संघ (निडा)का अध्यक्ष श्री खड्क सारु मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष श्री लक्की चौधरी, नेपाल आदिवासी जनजाति यूवा महासंघका अध्यक्ष तथा पदाधिकारीहरु, आदिवासी जनजाति विधार्थी महासंघका अध्यक्ष श्री चन्द्र प्रसाद चौधरी, नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष श्री नगेन्द्र कुमाल, श्री जगत बराम, जनजाति कलाकार, पत्रकार, आदिवासी जनजाति विज्ञहरु, स्वयंसेवक, सुरक्षाकर्मी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, FAO र UNESCO का सम्पूर्ण कर्मचारीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुको साथ र सहयोगबाट उक्त कार्यक्रम भव्यताका साथ सु-सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिज्यूहरुबाट "३१औं विश्व आदिवासी दिवस २०२५" को उपलक्ष्यमा आ-आफ्नो शुभकामना मन्तब्यहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न आदिवासी जनजातिहरु नेवार, थारु, तामाङ, गुरुङ, मगर, राई, लिम्बू, सुनुवार, याक्खा, भुजेल, माझी, छन्त्याल, कुमाल र थामी समुदायको मनोरञ्जात्मक सांस्कृतिक झाँकी तथा नाचहरु पनि प्रस्तुत गरिएको थियो । यसका साथै थारु कल्याणकारीणी सभा (थाकस)ले थारु जातिको विभिन्न परिकारहरु प्रदर्शन गरेको थियो । थारु खानामा घोङ्‌घी, अनदीको भात, भक्का, गंगटाको परिकार, महुवाको रक्सी, ढिक्री, बरिया, बयरको चटनी, चिच्चर, खुर्मा, जाँडको झोल आदि राखिएको थियो ।यसै गरी कार्यक्रमका सहभागीहरुलाई नेवार समुदायको विशेष परिकार नेवारी खाजा वितरण गरिएको थियो । यस कार्यक्रमको आदिवसी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष श्री रेशम गुरुङ ज्यूले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषाले सरकारी कामकाजको भाषाको रुपमा मान्यता पाएको। गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा अघि बढाईएको बताउनु भयो ।

यसको साथै आदिवासी जनजाति समुदायको हक, अधिकार कार्यान्वयनका लागि पनि अघि बढ्नु पर्ने बताउनु भयो । अन्त्यमा सबै सहभागीहरुलाई यस कार्यक्रममा उपस्थित भई सफल बनाई दिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रम सञ्चालन प्रतिष्ठानका सदस्य सचिव श्री ज्ञानेन्द्र पुन मगर ज्यूले र अन्तर्राष्ट्रिय संस्था यूनेस्को काठमाडौंका आदिवासी विशेषज्ञ श्री वर्षा लेखी ज्यूले गर्नु भएको थियो ।