NFDIN FPIC Book Release Program 2023

NFDIN FPIC Book Release Program 2023

आदिवासी जनजातिहरुको स्वतन्त्र, अग्रिम जानकारी सहितको मन्जुरी, राष्ट्रिय कार्यान्वयन निर्देशिका २०८० बिमोचन कार्यक्रम

प्रस्तोता: शाखा अधिकृत हितकाजी गुरुङ्ग

आदिवासी जनजातिको स्वतन्त्र, अग्रिम जानकारीसहितको मन्जुरी राष्ट्रिय कार्यान्वयन निर्देशिका २०८० बिमोचन कार्यक्रम आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजना र अन्तर्राष्ट्रिय संगठन डब्लु डब्लु एफ नेपालको सहयोगमा मिति:२०८० जेठ २९ गते, सोमबार ललितपुरमा सम्पन्न भएको थियो ।उक्त कार्यक्रमका प्रमुख अतिथि आ.ज.उ.रा.प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्ति रहनु भएको थियो । अन्य विशिष्ट अतिथिहरुमा डब्लु डब्लु एफ नेपालका निर्देशक डा. घनश्याम गुरुङ्ग, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष द्वय श्री लहरु माया जिमी तथा श्री सुर्ती माया कुमाल, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका उपाध्यक्ष श्री कल्पना भट्टचन, आ.ज.उ.रा.प्रतिष्ठानका कार्यकारी सदस्य श्री सेतेमान तामाङ लगायत आदिवासी जनजातिय संस्थाका अध्यक्ष, पदाधिकारी, आदिवासी विज्ञहरु, पत्रकारहरु लगायत विभिन्न सरकारी/गैर सरकारी संघसंस्थाका प्रतिनिधि ज्यूहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो ।

यस कार्यक्रमको सञ्चालन आ.ज.उ.रा.प्रतिष्ठानका सदस्य सचिव श्री कमल प्रसाद राजवंशीले गर्नु भएको थियो । कार्यक्रमको शुरुवातमा अतिथिज्यूहरुलाई आशन ग्रहण गर्दै प्रतिष्ठानका कार्यकारी सदस्य श्री सेतेमान तामाङ ज्यूले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो ।प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्तिद्वारा दिप प्रज्वलन गरी कार्यक्रम उद्‌घाटन गर्नु भएको थियो ।यसको लगतै अन्तर्राष्ट्रिय संगठन डब्लु डब्लु एफ नेपालको सहयोगमा प्रतिष्ठानद्वारा प्रकाशित आदिवासी जनजातिको स्वतन्त्र, अग्रिम जानकारीसहितको मन्जुरी राष्ट्रिय कार्यान्वयन निर्देशिका २०८० अतिथि ज्यूहरुबाट लोकार्पण गर्नु भएको थियो ।  

कार्यक्रमको अध्यक्षता गर्नु हुने प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्ति ज्यूले यस कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु हुदै विभिन्न आदिवासी जनजातिहरुको लागि यस एफपिक राष्ट्रिय कार्यान्वयन  निर्देशिका आदिवासी जनजातिहरुको थातथलो, पुर्ख्यौली भूमी तथा प्राकृतिक श्रोत साधन माथिको अधिकारको संरक्षण एवं सम्बर्द्धन गर्न निकै उपयोगी हुने बताउनु भयो ।

कार्यक्रममा यस निर्देशिका सम्बन्धी डा. कुन्साङ लामा ज्यूबाट पावरपोइन्ट मार्फत प्रस्तुतीकरण गर्नु भएको थियो । प्रस्तुती पश्चात मन्तब्यको क्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष श्री लहरु माया जिमीले पनि यस एफपिक निर्देशिका आदिवासी जनजातिहरुलाई स्थानिय तहसम्म पुर्याउन सके यसबाट आदिवासी जनजातिहरुको चेतना अभिवृद्धि हुने बताउनु भयो ।अन्तर्राष्ट्रिय संगठन डब्लु डब्लु एफ नेपालका निर्देशक डा. घनश्याम गुरुङ्गले प्रतिष्ठानले यस निर्देशिका मार्फत विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले कुनै परियोजना वा कार्यक्रम गर्दा यसले मार्ग निर्देशन गर्ने बताउनु भयो । साथै प्रतिष्ठानको यस कार्य प्रति वधाई दिनु भयो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका उपाध्यक्ष श्री कल्पना भट्टचन ज्यूले पनि यस निर्देशिका प्रकाशनबाट आदिवासी जनजाति लगायत सरोकारवालाहरु लाभान्वित हुने बताउनु भयो ।

निर्देशिका प्रस्तुतीकरण पश्चात उक्त विषयवस्तु माथि सहभागिहरुबाट छलफल, बिमोचन तथा जिज्ञासाहरु राख्ने कार्य भएको थियो । सहभागिहरुबाट उठेका प्रश्न तथा जिज्ञासाहरु माथी प्रस्तोताकर्ता डा.कुन्साङ लामा ज्यूबाट प्रतिउत्तर तथा पुष्ट्याई गर्ने कार्य गर्नु भएको थियो ।

कार्यक्रमको अन्तिममा समापनको लागि प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्ति ज्युले कार्यक्रममा सबैले सक्रियताका साथ उपस्थित भएर यस कार्यक्रम सफल पारि दिनु भएकोमा धन्यवाद दिदैं कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।