NFDIN 23rd Establishment Day Program !!

NFDIN 23rd Establishment Day Program !!

(Section Officer: Mr. Hitkaji Gurung, NFDIN@2024)

२०८० साल माघ २५ गते, बिहीबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आफ्नो कार्यालयको २३ औँ स्थापना दिवस प्रतिष्ठान परिसर बल्खु सानेपा, ललितपुरमा भब्यताका साथ मनाइएको थियो ।उक्त कार्यक्रमका प्रमुख अतिथि माननीय सहरी विकास मन्त्री सीता गुरुङ्ग ज्यूले पानसमा बत्ती बालेर कार्यक्रमको उद्‌घाटन गर्नु भएको थियो। कार्यक्रमका अतिथीहरुमा आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्जे शेर्पा, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, प्रतिष्ठानका सदस्य विष्णुकुमारी चौधरी, आदिवासी जनजाति आयोगका सदस्य डा. मीन श्रीस, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका उपाध्यक्ष कल्पना भट्टचन, नेपाल आ.ज.महासंघका पूर्व अध्यक्ष जगत बराम, प्रतिष्ठानका कार्यकारिणी सदस्य संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल तथा प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी सहभागी हुनु भएको थियो । कार्यक्रममा अतिथीहरुबाट शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारिणी सदस्य श्री सेतेमान तामाङज्यूले यस समारोहमा पाल्नु हुने सम्पुर्ण अतिथी तथा पाहुनाहरुलाई हार्दिक स्वागत गर्दै आफ्नो मन्तब्य दिनु भएको थियो। प्रतिष्ठानका कर्मचारीहरु बीच अन्तर ब्याडमिन्टन प्रतियोगिताका बिजेता प्रथम, द्वितीय, तेस्रो र उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल तथा पुरस्कार रकम कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्री सीता गुरुङ्गको बाहुलीबाट प्रदान गरिएको थियो।

मन्तब्यको क्रममा सहरी विकास मन्त्री सीता गुरुङ ज्यूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सफल बनाउने जिम्मेवारी सबैको साझा जिम्मेवारी भएकाले सबैले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।  आदिवासी जनजातिहरुको अधिकार पनि यही व्यवस्थामा सुनिश्चित हुने वहाँले बताउनु भयो । नेपालको विविधता भित्र आदिवासी जनजातिको पृथक् पहिचान रहेकाले त्यसको संरक्षण गर्ने जिम्मेवारी सबैको भएको बताउनु भयो । नेपालको समावेशी लोकतन्त्र विश्वको लोकतन्त्र भन्दा भिन्नै रहेकाले यसको सही व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । 

कुल जनसङ्ख्याको ३८ प्रतिशत जनजातिको कला, संस्कृति र पहिचानको प्रवर्धन गर्न आवश्यक रहेकाले सरकार त्यसमा जिम्मेवार बन्नुपर्ने उहाँले सुझाव दिनुभयो । जनजाति प्रतिष्ठान र आदिवासी आयोगका प्रकृति फरक भएको र दुवैको महत्त्व रहेकाले त्यसबारेमा सरकारलाई बुझाउन आवश्यक रहेको।  प्रतिष्ठान जनजातिको प्रतिष्ठाको विषय भएकाले यसको बजेट सिलिङ वृद्धि गरी काम गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।

प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले आदिवासी जनजातिको पहिचान कला संस्कृति रहेकाले त्यसको संरक्षण गर्न नसके पहिचान समाप्त हुने बताउनुभयो । आदिवासीको पहिचान बचेमात्र देशको विविधता पनि कायम रहने चर्चा गर्नुहुँदै उपाध्यक्ष घर्तीले सबैलाई त्यसमा लाग्न आग्रह गर्नुभयो ।वहाँले यस कार्यक्रममा पाल्नु हुने सम्पूर्ण अतिथिगणहरुलाई धन्यवाद दिदैं यस प्रतिष्ठानको स्थापना दिवस समारोह सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नु भयो ।

सो अवसरमा मगर, ह्योल्मो, राजवंशी, तामाङ र गुरुङ्ग जातिका कलाकारहरुद्वारा आ-आफ्ना मनोरञ्जनात्मक सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रम प्रतिष्ठानका सदस्य सचिव कमल प्रसाद राजवंशीले सञ्चालन गर्नु भएको थियो ।