International Mother Language Day 2024 !!

International Mother Language Day 2024 !!

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अन्तराष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा यही मिति: २०८० फाल्गुन ०९ गते, बुधबार ( २१ फेब्रुउरी २०२४) धोबीघाट, ललितपुरमा "मातृभाषा राष्ट्रिय सेवा पुरस्कार अर्पण तथा मातृभाषा कविता वाचन कार्यक्रम" सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी ज्यू बाट कार्यक्रमको उद्‌घाटन गरिएको थियो । प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा अन्य अतिथीहरुमा थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरी, जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा,  राष्ट्रिय सभाका सांसद सुरेश आले मगर तथा डा. चुन्दा बज्राचार्य लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । 

 

प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०८० को अवसरमा यस वर्ष मातृभाषा राष्ट्रिय सेवा पुरस्कार वरिष्ठ जनकवि/गीतकार श्री दुर्गालाल श्रेष्ठज्यूलाई नगद रू. एक लाख सहित ताम्रापत्र पुरस्कार प्रदान गर्ने निर्णय गरिएता पनि स्वास्थ्यका कारण वहाँ समारोहमा उपस्थित हुन नसकेकाले वहाँका छोरा सुमन श्रेष्ठलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री अनिता देवी र प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीबाट पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार छनौट समिति संयोजक संस्कृतिविद् चुन्दा बज्राचार्यले वरिष्ठ जनकवि/गीतकार श्री दुर्गालाल श्रेष्ठका नेपालभाषामा १६ वटा नाटक, एकांकी, बालकविता, गीतसंग्रह, रहेको बताइन् । यसैगरी नेपाली भाषामा ९ वटा र ७ वटा अनुवाद कृति रहेका छन् । श्रेष्ठज्यूका गीत रचनाहरु मध्ये ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल’ र ‘फूलको आँखामा फूलै संसार’ निकै लोकप्रिय छन् ।

उक्त कार्यक्रममा उपस्थित कवि कवियत्रीहरूले आफ्नो रचनाहरु दुरा भाषामा देवबहादुर दुरा, वाम्बुले भाषामा मन्जित राई ‘मानव’, कुमालमा पशुपति कुमाल, डगौरा थारुमा जुनु थारु, मगर ढुटमा हिरामती राना सिंजाली, सुनुवारमा रणवीर सुनुवार, मगरमा गोपाल पुन मगर, ९ वर्षीया खारुमी राईले बान्तावा भाषामा, थामी भाषामा बिकेस थामी, याम्फुमा प्रवीण याम्फु, छिला राई, खालिङमा अर्जुन खालिङ राई, तमुमा विमला गुरुङ, उरावमा कुमारी सरणा उरावले आ-आफ्नो मातृभाषामा कविता वाचन गरिएका थिए ।