प्रतिष्ठानको सूचना बोर्ड तथा आ.ज.प्रमाण पत्र अनलाईन सेवा !!

(प्रस्तोता: शा.अ. हितकाजी गुरुङ्ग)

मिति: २०८० असार १९ गते, मंगलबार

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आफ्नो कार्यालय भवन रहेको स्थान सानेपा, ललितपुरमा कार्यालयको कार्यक्रम, क्रियाकलाप, जानकारी, गतिविधि तथा अन्य सूचनाहरु प्रवाह गर्न ईलेक्ट्रोनिक सूचना बोर्ड जडान गरि सुचारूका लागि उद्‌घाटन कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्तिको अध्यक्षतामा प्रतिष्ठानका सदस्य सचिव श्री कमल प्रसाद राजवंशी लगायत प्रतिष्ठानका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालक प्रतिष्ठानका शाखा अधिकृत श्री हितकाजी गुरुङ्गले यस ईलेक्ट्रोनिक सूचना बोर्ड जडानको मुख्य उद्देश्य, प्रक्रिया तथा कार्यान्वयन पक्षलाई उद्दृत पार्दै नेपाल सरकारद्वारा पिछडिएका आदिवासी जनजातिहरुको समग्र विकास गर्दै राज्यको मूलप्रवाहमा समाहित गर्न यस प्रतिष्ठानको स्थापनाकाल देखि नै विभिन्न कार्यक्रम तथा सेवाहरु प्रदान गर्दै आईरहेको छ ।यसै अन्तरगत कार्यालयलाई आदिवासी जनजाति मैत्री बनाउनु पर्ने तथा उनीहरुलाई सूचनाको हकबाट वञ्चित नहोउन भनी कार्यालयले प्रदान गरिने हरेक कार्यक्रम सम्बन्धी जानकारी, प्रक्रिया, प्रगति, सन्देश, नागरिक वडापत्र, सूचनामूलक विज्ञापन तथा आदिवासी जनजातिहरु सम्बन्धी वृत्तचित्रहरु यस मार्फत प्रस्तुत गर्ने हुँदा कार्यालयमा आउने सबै सेवाग्राहीहरुले यसबाट लाभ लिन सकिने बताउनु भयो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव ज्यूबाट खादा र उपाध्यक्ष ज्यूबाट कन्ट्रोल बटन दबाएर जडान गरिएको स्क्रीनको उद्‌घाटन गरिएको थियो।

यसै समारोहमा प्रतिष्ठानद्वारा वितरण गर्दै आएको आदिवासी जनजाति प्रमाण पत्रको पनि अनलाईन प्रक्रिया सम्पन्न गरिएको जानकारी गराईएको थियो । आदिवासी जनजाति प्रमाण पत्र प्रक्रियाका लागि सेवाग्राहीहरु प्रतिष्ठानको कार्यालयमा आई राख्न नपर्ने र यसलाई जुनसुकै स्थानबाट पनि अनलाईन मार्फत निवेदन फाराम भरी प्रमाण पत्र प्राप्त गर्न सकिने भएकोछ ।यसका लागि आवश्यक कागजातहरु अनलाइन फाराममा अपलोड गरि सेवा शुल्क नजिकको बैकमा दाखिला गर्न सकिनेछ ।यस कार्यबाट देशभरका आदिवासी जनजातिहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । उक्त सेवा यही २०८० साउन ०१ गते देखि सुचारू हुनेछ ।

यसको लगतै प्रतिष्ठानका सदस्य सचिव ज्यूबाट आफ्नो मन्तब्य राख्दै यस अनलाईन प्रक्रियाले धेरै आदिवासी जनजातिहरु लाभान्वित हुने बताउनु भयो । मन्तब्य कै क्रममा उपाध्यक्ष ज्यूबाट यस नयाँ कामबाट प्रतिष्ठानका काम, कर्तब्य तथा कार्यक्रमहरु बारे जानकारी हुने विश्वास गर्नु भयो । कार्यालयमा नै प्रमाण पत्रका लागि आउनु पर्ने वाध्यता पनि अनलाईन भए पछी सो झन्झट नहुने बताउनु भयो । प्रतिष्ठानको जुन उद्देश्यले स्थापना भएको थियो र सोही अनुसार कार्य क्षेत्र पनि बृहत थियो तर अहिलेको अवस्थामा आईपुग्दा कार्यक्रमहरु गर्न श्रोत साधनको अभाव रहेको छ । यसको लागि सबैले आफ्नो तर्फबाट प्रयत्न र चिन्तन गर्नुपर्ने बताउनु भयो ।

यसपछी प्रतिष्ठानमा धेरै समय देखि कार्यरत अनुगमन अधिकृत जगतमान गुरुङ्ग अवकाश हुनु भएकोमा बिदाई तथा चेक हस्तान्तरण कार्यक्रम गरिएको थियो । यस्तै केही वर्ष अघि निधन हुनु भएको प्रतिष्ठानका कर्मचारी सहायक पाचौं विनोद उराव की श्रीमतीलाई पनि चेक हस्तान्तरण कार्य गरिएको थियो । कार्यक्रममा कर्मचारीहरुका तर्फबाट पनि यस कार्यलाई अझ सृजनात्मक ढंगले प्रस्तुत गर्न सल्लाह तथा सुझावहरु प्राप्त भएको थियो ।कार्यक्रमको अन्त्यमा आन्तरिक लेखा अधिकृत कुलन कुमार लामाले यस कार्य प्रतिष्ठानको कोषे ढुंगाको रुपमा नयाँ काम शुरु भएकोमा खुशी ब्यक्त गर्दै शुभकामना तथा धन्यवाद दिदैं कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भयो ।