वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
२०७८ को जनगणना अनुसार कुल १८० मात्र जनसङ्ख्या भएको बनकरिया एक लोपोन्मुख आदिवासी जनजाति हो । फिरन्ते जीवनको पृष्ठभूमिबाट आएको यो जाति अहिले पनि एउटै ठाउँमा स्थिर भएर बस्दैन । उदाहरणको लागि, नयाँ जनगणनाअघि प्रकाशित केही पुस्तक-पुस्तिकामा यो जातिको बासस्थान मकवानपुर जिल्लाको ट्वाङरा डाँडा भनेर लेखिएको छ (उक्याव र अधिकारी २०५७: २१; पाण्डेय २०६०: ६८; गौतम र थापा-मगर सन् १९९४: ९७) । यो ठाउँ चौराबेँसीको पूर्व, सुनखोलाको पश्चिम, र चुरे पहाडको उत्तरमा पर्छ । अहिले यो जातिले बसोबास फेरेको र नयाँ स्थान सम्भवतः चितवनको महाभारत पहाडको उच्च भागमा भएको हुनु पर्छ, किनभने पछिल्लो जनगणना अनुसार ४५ प्रतिशत बनकरिया चितवन जिल्लामा रहेको उल्लेख छ, र बाँकीमध्ये २२ प्रतिशत रोल्पा जिल्लामा, १९ प्रतिशत पूर्व नवलपरासी जिल्लामा र १५ प्रतिशत कास्की जिल्लामा । कुल १८० बनकरियामध्ये ८६ जनाले (४७.८%) आफ्नो जातिबोधक भाषा (बनकरिया भाषा) लाई आफ्नो मातृभाषा भनेर लेखाएका छन् ।
बनकरियाको उत्पतिबारे एउटा मिथक छ, जस अनुसार यिनीहरूका पुर्खा लव र चेपाङका पुर्खा कुश त्रेता युग कालीन राम र सीताका छोराहरू हुन् । यो मिथकलाई मान्ने हो भन्ने बनकरिया आर्य नस्लको र यिनीहरूको भाषा भारोपेली हुनु पर्छ । मिथक आखिर मिथक नै हो, सत्य अर्कै हुन सक्छ । जस्तै, चेपाङ नस्लमा मङ्गोल, भाषामा तिब्बती-बर्मेली र धर्ममा प्रकृति धर्मावलम्बी हो । यो बनकरियाको सन्दर्भमा पनि लागू हुन सक्छ, यद्यपि यसबारे अध्ययन-अनुसन्धान भएको छैन । नेपाल चेपाङ (प्रजा) संघले बनकरिया चेपाङ नै भएको दावा गरेको छ ।
बनकरियालाई अरू विषयमा पनि चेपाङसँग दाँजेर हेर्ने गरिएको छ—जस्तै, पेशामा । चेपाङ कृषि युगमा पसिसकेको छ, तर खेतीपाती अहिले पनि बनकरियाको रुचिको विषय होइन । यो जातिको मुख्य पेशा जङ्गली कन्दमूल र जडीबुटी संकलन गर्नु र त्यसलाई बजारमा लगेर बेच्नु हो । डोको, डाम्लो, कोक्रो, कुचो बनाएर बेच्नु बनकरिया र चेपाङ दुवैको आय आर्जनको अर्को स्रोत हो । हालै गरिएको एक स्थलगत अध्ययन अनुसार बनकरियाको कुल जनसङ्ख्यामा आधा हिन्दु हुन् भने बाँकी आधा क्रिश्चियन धर्ममा रूपान्तर भइसकेका छन् (गुरुङ र गुरुङ २०८२) ।