भुजेल

भुजेल

प्रतिष्ठान ऐनमा सूचीकृत भुजेल एक पहाडी अल्पसङ्ख्यक आदिवासी जनजाति हो । यो जातिको उत्पति र आदिभूमि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकास्थित भुजी क्षेत्रलाई मानिन्छ । तर यो जातिको कुल जनसङ्ख्यामा एक प्रतिशत पनि त्यो जिल्लामा रहेको देखिँदैन । यो जाति खास गरेर कर्णाली नदी पूर्वको पहाडी र तराई भेगमा जताततै छरिएको छ । २०७८ को जनगणना अनुसार भुजेलको जनसङ्ख्या १,२०,२४५ छ, र उनीहरूको बसाइ प्रदेशगत रूपमा यस्तो छ स् ३१ प्रतिशत कोशी प्रदेशमा, ६ प्रतिशत मधेसमा, २८ प्रतिशत बाग्मतीमा, २४ प्रतिशत गण्डकीमा, ८ प्रतिशत लुम्बिनीमा, १ प्रतिशत कर्णालीमा, र अर्को १ प्रतिशत सुदूर-पश्चिममा । यसरी छरिएका जाति भएकाले यो समुदायको जातिबोधक मातृभाषीको सङ्ख्या धेरै कम छ । २०७८ को जनगणना अनुसार भुजेलभाषी १३,०८६ मात्र छ, अर्थात् कुल भुजेल जनसङ्ख्याको १०.९ प्रतिशत मात्र । भुजेल भाषिक खसकरणको साथै धार्मिक खसकरण पनि अधिक भएको जाति हो । सबै प्रकारका संस्कारगत काममा ब्राह्मण पुरोहित राख्छन् (पाण्डेय २०६०:८०) ।


भुजेलको मातृभाषा पुख्ग्याल ङुर हो, जुन तिब्बती-बर्मेली परिवारभित्र पर्छ । यो जातिको धर्म प्रकृतिपूजा हो । चेहरा, जीउडाल र परम्परागत बस्तीलाई मापक मान्दा भुजेलको सामाजिक र सांस्कृतिक सामीप्यता मगर र गुरुङसँग छ । उँभौली र उँधौली यस जातिका मुख्य चाडपर्व हुन् । यो जातिका प्रमुख पेशा कृषि, पशुपालन र बाँसको चोयाबाट डोको-नाम्लो बुन्ने हुन् । साथै अन्य आर्थिक क्षेत्रमा ज्यालादारी मजदुरको रूपमा पनि काम गरिरहेका भेटिन्छन् ।