बोटे

बोटे

बोटे भित्री-तराई समूहमा वर्गीकृत एक अल्पसङ्ख्यक आदिवासी जनजाति हो । यो जातिको उत्पतिबारे कुनै प्रमाणित लिखित इतिहास छैन, तर किंवदन्तीहरूको कमी छैन । एउटा किंवदन्ती अनुसार बोटे द्वापर युग कालीन व्यास ॠषिका सन्तान हुन् । अर्को कथ्य अनुसार कुशबाट आफै पैदा भएका हुन् । एक अर्को भनाइ अनुसार यो जातिका पुर्खा कोशी, कालीगण्डकी र सेती नदीको किनारमा बस्थे (ढकाल र सापकोटा सन् २०१४स् १-२) । तनहुँ र कास्की हुँदै बग्ने मादी खोला, सेती नदी र कालीगण्डकी नदीको किनारा यिनीहरूको थातथलो हो । एक समयको फिरन्ते यो जातिको अहिलेको बासस्थल छरिएको छ । २०७८ को जनगणनामा उल्लेख भएका ११,२५८ बोटेमध्ये सबभन्दा धेरैको (२८%) बसोबास चितवन जिल्लामा छ, र त्यसपछि क्रमशः पूर्वी नवलपरासी (२२%), तनहुँ (१४%), दाङ (६%), पाल्पा (५%) र गुल्मी (३%) मा छ । २०७८ को जनगणना अनुसार बोटे भाषी ७,६८७ छ, जुन यो जातिको कुल जनसङ्ख्याको ६८ प्रतिशत हो ।


बोटे अरू भित्री-तराईका जाति (जस्तै, कुमाल, दनुवार, दराई, माझी र थारू) जस्तै मङ्गोल मूलका हुन् । यिनीहरूको आफ्नै मातृभाषा (बोटे भाषा) छ, तर लिपि छैन । यो भारोपेली भाषा परिवारमा गनिन्छ । यो जाति प्रकृतिपूजक हो, त्यसैले हावा, पानी, माटो, रुख, ढुङ्गा, नदी र ओडारको पूजा गर्छन् । पछि हिन्दुकरण भएदेखि दशैँ र तिहार पर्व मनाउने गरेका छन् । २०४८ को जनगणनामा ९७ प्रतिशत बोटेहरूले आफ्नो धर्म हिन्दु लेखाएका थिए, तर केही धार्मिक र सांस्कृतिक मौलिकता बचाइराखेका छन् । जन्मदेखि मृत्यु सम्मका संस्कार र कुलपूजा भान्जा र ज्वाइँबाट गराउँछन्स अर्थात् ब्राह्मण पुरोहित प्रयोग गर्दैनन् । सामाजिक र सांस्कृतिक क्षेत्रमा जातीय स्वशासन छ, र त्यसको नेतृत्व आफ्नै समुदायका मुखियाले गर्छन् ।


मूलतः मुख्य पेशाकै आधारमा बोटे दुई समूहमा वर्गीकृत छ स् पाखेबोटे र पानीबोटे । पहिलो समूहको प्रमुख पेशा कृषि र पशुपक्षी पालन हो भने दोस्रोको डुङ्गा खियाउने र माछा मार्ने । यसमध्ये कुनै एक क्षेत्रबाट जीवन निर्वाह नहुने भएकोले दुवै थरी बोटेका पेशा कृषि र पशुपालन गर्ने, डुङ्गा खियाउने, माछा मार्ने, र नदीको बालुवा चालेर सुन निकाल्ने हुन् । यस अतिरिक्त ज्याला मजदुरी पनि गर्छन् ।