चेपाङ

चेपाङ

प्रतिष्ठान ऐनमा सूचीकृत नेपालका ६० आदिवासी जनजातिमध्ये चेपाङ एक पहाडी जाति हो । चेपाङ दुई शब्दको संयोजनबाट बनेको छ स् “चे” भनेको कुकुर र “पाङ” भनेको धनुकाँड होस तसर्थ, जंगली शिकार गर्ने तथा बटुलबाटुल गर्न जाँदा कुकुर प्रयोग गर्ने समुदाय नै चेपाङ हो भन्ने जनश्रुति पाइन्छ । यो जातिको उत्पतिबारे आएका कुराहरू एक आपसमा फरक छन् । हिन्दु भाष्य जोडेर कसैले यो जातिलाई त्रेता युगका राम(सीताका लव नामको छोराको वंशज भनेका छन् भने कसैले चेवन ॠषिका ठिमाहा सन्तान मानेका छन् । यसको ठिक उल्टो एक थरीले चेपाङलाई किरातबाट चोइटिएको समूहको रूपमा लिन्छ । कसै-कसैले यो जातिको पुर्ख्यौली थलो दोलखा जिल्लाको पुकुन्थली र सुनाथली भनेर लेखेका छन् । यी कुनै पनि दावीको प्रमाणित लिखत इतिहास छैन । तर चेपाङ पुरोहित (पान्दे) ले बाखम (तान्त्रिक विद्या) बाट छोनाम (न्वाँगी) फलाक्दा बकितममा पुकुन्थली र सुनाथलीको नाम आउँछ । अहिलेको अवस्थामा चेपाङको थातथलो भनेको काठमाण्डुबाट पश्चिममा पर्ने महाभारत शृङ्खलाको एक अर्कोसँग जोडिएको उच्च पहाडी भेग हो जुन प्रशासनिक रूपमा मकवानपुर, चितवन, गोरखा, र धादिङ जिल्लाहरूमा विभाजित छन् । चेपाङ भूमि धादिङको दक्षिणी भाग, मकवानपुरको पश्चिमी भाग, र चितवनको उत्तरमा पर्ने जङ्गली भागको महाभारत शृङ्खलामा पर्छ (विष्ट सन् २००२: २२) ।


२०७८ को जनगणना अनुसार चेपाङको जनसङ्ख्या ८४,३६४ छ । मङ्गोल मूलका चेपाङको आफ्नै जातिवाचक भाषा छ, तर लिपि छैन । यो भाषा तिब्बती-बर्मेली परिवारभित्र पर्छ । आफ्नो जातीय भाषालाई नै मातृभाषा मान्ने चेपाङको सङ्ख्या दुई तिहाइभन्दा बढी छ । अर्थात्, भाषिक खसकरणबाट यो जाति त्यति प्रभावित भएको छैन । यो जातिको अरू जातजातिसँग त्यति धेरै हिमचिम भएको छैन । २०७८ को तथ्याङ्क अनुसार चेपाङहरूमा ९५ प्रतिशतभन्दा बढी माथि उल्लिखित ४ जिल्लामा बसोबासरत छन्: अर्थात्, आफ्नो थातथलो छोडेर अन्यत्र बसाइँसराइ गरेर गएका छैनन् । सम्भवतः यही कारणले गर्दा पनि धार्मिक खसकरण हुनबाट बचेको छ ।


चेपाङ प्रकृतिपूजक हुन् । अलौकिक शक्ति र निराकार देवतामा विश्वास राख्ने यो जातिका व्यक्तिहरू भूमि, जङ्गल, पहाड, रुख आदि प्रकृतिजन्य निराकार चीजहरूको पूजा गर्छन् । अहिले व्यापक इसाईकरण भइरहेको देखिन्छ । २०७८ को जनगणना अनुसार ४०.४ प्रतिशत चेपाङहरूले आफ्नो धर्म इसाई भनेका छन् । इसाईकरणका बाबजुद चेपाङको दैनिकीमा र संस्कार-संस्कृतिमा प्रकृतिपूजा र झाँक्रीपन्थ हाबी छ ।


केही समय अघिसम्म चेपाङको पहिचान भनेको ओडारमा बस्ने, शिकार खेल्ने र जङ्गली कन्दमूल संकलन गर्ने जाति थियो । खोरिया खेती अर्को परम्परागत पेशा हो । यी पेशाको निरन्तरताको बाबजुद चेपाङहरू गैर-परम्परागत पेशामा पनि संलग्न भएका देखिन्छन् । कृषि र पशुपालन युगमा प्रवेश गरिसकेका चेपाङलाई पुकुन्थली भन्ने गरिन्छ । परम्परागत पेशामै सीमित भएकालाई कछारे भनेर सम्बोधन गर्ने गरिन्छ ।


चेपाङको व्यक्तिगत जीवन, पारिवारिक सम्बन्ध, र समाज संचालनमा रहेका परम्परागत स्वशासनलाई दुई प्रकारमा राखेर हेर्न सकिन्छ स् एक, राज्यसँग सरोकार हुने, र अर्को, संस्कारसँग जोडिने । पहिलो प्रकृतिलाई मुखिया प्रथा भन्न सकिन्छ । यसको लागि चेपाङ भूमिमा मिजार, द्वारे, गौरुङ र कारवारी जस्ता पदाधिकारी हुने व्यवस्था थियो । यसको मुख्य काम कर उठाउने र दण्ड सजाय दिने थियो । तर आधुनिक प्रशासन र निर्वाचित स्थानीय शासनको सुरुवातसँगै यस्तो मुखिया प्रथाको भूमिका गौण हुँदै गयो । अर्को भनेको संस्कारगत प्रथाजनित संस्था वा परम्परा हो । चेपाङ समाजमा यो स्वजातीय पान्देद्वारा परिचालित हुन्छ । पान्देको बहुआयामिक भूमिका हुन्छ । उनी कुलपूजाको लागि पुजारी हुन्, जन्मदेखि मृत्यु सम्मका संस्कारका लागि पुरोहित हुन्, र दशा लाग्दा वा स्वास्थ्य बिग्रिँदा तन्त्रमन्त्र गर्ने धामीझाँक्री हुन् ।