national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा पञ्चमी - २०

छन्त्याल

छन्त्याल

प्रतिष्ठान ऐनमा सूचीकृत ६० जनजातिमध्ये छन्त्याल एक अल्पसङ्ख्यक जाति हो । नस्लमा मङ्गोल र भाषामा तिब्बती-बर्मेली परिवारभित्र पर्ने यो जातिको आगमन तिब्बतबाट भएको भनाइ छ । धेरै अघि हिमाल पार गरेर कर्णालीको भू-भाग हुँदै बागलुङको छेन्तुङमा आएका थिए । तसर्थ, छेन्तुङलाई छन्त्यालको उद्गम र पुर्ख्यौली थलो मानिन्छ । जहाँ खानी (त्यसमा पनि तामा खानी) त्यहाँ छन्त्याल—यो उखानले यो जातिको बसोबास र बसाइँसराइलाई इङ्गित गर्छ । प्रारम्भमा तामा खानीको खोजमा र पछिल्लो कालमा जीवन निर्वाहका लागि यत्रतत्र छरिएको यो जातिको बसोबास पश्चिम पहाड (खासगरी म्याग्दी, बागलुङ र गुल्मी) मा केन्द्रित छ । २०७८ को जनगणनामा उल्लेख गरिएका कुल ११,९६३ छन्त्यालहरूमध्ये दुई तिहाइको बासस्थल बागलुङ, म्याग्दी र कास्की जिल्लामा रहेको छ । बाँकी गुल्मी, प्यूठान, रुकुम, सुर्खेत जिल्लाहरूमा छरिएका छन् ।


आफ्नो जातिको प्रमाणित लिखित इतिहास नभएकोले छन्त्याललाई कसैले ठकुरी वंशका सन्तान भनेका छन् (जस्तै, सुवेदी सन् १९८१), कसैले मगर भित्रको उप-समूह (जस्तै, श्रीस मगर २०६७) । तर अरू लेखकहरूको दावा के छ भने छन्त्यालको पूर्वज न ठकुरी हो न त मगर, बरु यो एक अलग जाति हो । जुन ठाउँमा यो जातिको सघन बसोबास छ, त्यस वरपर मगर र गुरुङ लगायत बाहुन-क्षेत्री छिमेकीको रूपमा बसोबासरत छन् । छन्त्यालको स्वतन्त्र पहिचान छ, र यसबारे हरिचन छन्त्यालको भनाइ यस्तो छ स् “मौलिक भाषा, संस्कृति, संस्कार, परम्परा, धर्म, मूलथलो, अलिखित इतिहास, तामाखानी पुर्ख्यौली पेशा, हामी भावना भएको, सरल, सोझा एवम् इमानदार स्वभाव, थेप्चे नाक, गहुँगोरो वर्ण, मङ्गोलोइड अनुहार तथा शारीरिक बनावट भएको, भूमे, कुल, सिद्ध, सिकारी, जल र वायु आदि प्राकृतिक वस्तु र निराकार देवदेवता मान्नेरपुज्ने, समूहमा बस्न रुचाउने"एक आदिवासी (राष्ट्र) हो” (२०७७: १२) ।


यो बृहत् परिभाषाले छन्त्यालका धेरै विशेषताहरू पहिल्याएको छ । धर्ममा यो जाति प्रकृतिपूजक हो । उनीहरूका देवदेवता निराकार हुन्छन् । उनीहरू हावा, पानी, माटो, जङ्गलको पूजा गर्छन् । पाँरे सजातीय पुरोहित हो । प्रकृतिपूजा, झाँक्रीपन्थ र बौद्ध धर्म सँगसँगै जान सक्छन् । सायद त्यसैले होला २०५८ को जनगणना अनुसार ६४ प्रतिशत छन्त्याल बौद्धमार्गी हुन् । तर अचम्मको कुरा के छ भने २०६८ को जनगणनाले बौद्धमार्गी छन्त्यालको सङ्ख्या शून्य तर हिन्दुको सङ्ख्या ९५ प्रतिशत देखाएको छ । यो हुनै नसक्ने कुरा हो, त्यसैले तथ्याङ्कमा खोट छ । तथापि धर्म र भाषाको माध्यमबाट खसकरणबाट धेरै प्रभावित जातिमा छन्त्याल पनि पर्छ । २०७८ को जनगणना अनुसार यो जातिका व्यक्तिहरूमध्ये केवल एक तिहाइले मात्र आफ्नो मातृभाषा छन्त्याल बताएका छन् ।


छन्त्यालको परम्परागत पेशा खानी खन्ने हो, त्यसमा पनि तामाखानी खन्ने हो । खानीको अभाव हुन थालेपछि कृषिले यसको ठाउँ लियो । अहिले यो जातिको मुख्य पेशा कृषि हो, र सहायक पेशा पशुपालन । बाँसबाट बनाइने घरेलु उपभोगका सामान उत्पादन गर्ने र अल्लोको धागोबाट तयार गरिने थैली र स्वेटरको व्यापार गर्ने परम्परागत काम सहायक पेशा हुन गएको छ । पहिले-पहिले एकै स्थानमा स्थिर नहुने र खानीको खोजीमा हिंडिरहने भएकोले उनीहरूको जीवनयापन शिकार र जङ्गली कन्दमूलसँग जोडिएको थियो । पेशा अहिले गैर-परम्परागत आय आर्जनतर्फ उन्मुख छ स् जस्तै, नोकरी, खास गरेर प्रहरी र सेनामास वैदेशिक रोजगारीस र ज्याला मजदुरी ।


हिन्दुकरण र नेपाली भाषीकरणका बाबजुद छन्त्यालले आफ्ना केही मौलिकता बचाइराखेको छ । उनीहरूको परम्परागत संस्था थ्याम्ही हो, जसमा थ्याम्ही (प्रमुख), तुङवा, पाँरे, न्हारे, सोरे जस्ता पदाधिकारी हुन्छन् । यो संयन्त्रले गाउँघरको झगडा मिलाउने, न्याय-निसाफ दिने, प्राकृतिक स्रोतको व्यवस्थापन गर्ने, धार्मिक र सांस्कृतिक संस्कारगत कामको थिति बनाउने काम गर्छ । नीतिगत रीतिथिति र विधिको व्यवस्था सबै घरधुरीको सहभागितामा मिल्सोमी (सभारपरिषद) बाट हुने गर्थ्यो । तर बदलिँदो परिस्थितिमा यो परम्परागत संस्था पहिले जस्तो सक्रिय छैन ।