दनुवार

दनुवार

भित्री-तराई समूहमा वर्गीकृत दनुवार जाति आफैमा विविधता भएको एक आदिवासी जनजाति हो । यो जातिको पुर्ख्यौलीबारे विभिन्न मत रहेका छन् । कसैले भारतको राजस्थानबाट आएका भनेका छन्, कसैले सिम्रौनगढबाट (पाण्डेय २०६०: ४७) । नेपालमा यो जातिको थातथलोबारे अन्योल छ, किनकि यो जातिको बसोबास लगायत धेरै कुरामा फरकपन छ । दनुवार जातिभित्रै रहेको विविधता र भिन्नता निम्न बुँदामा राख्न सकिन्छ ।


क्षेत्र स् २०७८ को जनगणनामा उल्लिखित कुल ८२,७८४ दनुवारमध्ये करिब ४० प्रतिशतको बसोबास मध्य तराईका जिल्लाहरू (जस्तै, सिराहा, धनुषा, सर्लाही) मा छ भने लगभग त्यतिकै सङ्ख्यामा मध्य पहाडी भाग (जस्तै, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक) मा छरिएका छन् । बाँकी २० प्रतिशत जतिको मुकाम उदयपुर सहित पूर्वी तराईका जिल्लाहरू (झापा, मोरङ र सुनसरी) हुन् ।
नस्ल स् एक थरी दनुवार मङ्गोल नस्ल र पहाडी मूलका हुन् भने अर्को थरी आर्य वंशी र मधेसी मूलका । यस कोणबाट हेर्दा दनुवारहरू चार थरी छन् स् कछाड लगाउने (महाभारत पर्वतको बीचमा), जनै लगाउने (तराईमा), राई र अधिकारी (दुवै थरी नदी किनारमा बसेर माछा मार्ने) ।


भाषा स् पहाडी दनुवारले बोल्ने भाषामा तिब्बती-बर्मेलीपन छ भने मधेसी दनुवारकोमा भारोपेलीपन ।


आफ्नो मातृभाषा जोगाउनमा दनुवार अगाडि छ । दनुवारको जाति-जन्य भाषा बोल्नेको सङ्ख्या कुल जातीय सङ्ख्याको ६०.४ प्रतिशत छ, जुन सङ्ख्यामा ४९,९९२ हुन आउँछ । दनुवार प्रकृतिपूजक र झाँक्रीपन्थ अपनाउने जाति हो । यिनीहरू अलौकिक र अदृश्य शक्तिमा विश्वास राख्छन् र धामीझाँक्रीको अधिक प्रयोग गर्छन् । तर यो जातिमा हिन्दुकरणको चाप अधिक छ भन्ने कुरा २०४८ को जनगणनाले देखाउँछ, जस अनुसार ९७ प्रतिशत दनुवार हिन्दु धर्मावलम्बी हुन् । सबै थरी दनुवारका मुख्य पेशा कृषि, पशुपालन र मजदुरी हुन् । शिकार खेल्ने र माछा मार्ने परम्परागत सहायक पेशा हुन् ।