दराई

दराई

प्रतिष्ठान ऐनमा सूचीकृत ६० आदिवासी जनजातिमध्ये दराई एक अल्पसङ्ख्यक जाति हो । भित्री-तराई समूहमा वर्गीकृत यो जातिको उत्पतिबारे विभिन्न विचारहरू आएका छन् । कसैले यो जातिका पुर्खा भारतको दरभङ्गाबाट आएको अनुमान गरेका छन् । कसैले पुर्ख्यौली थलो मादीफाँट भनेका छन् (कैनी २०६३: २-३) । नेपालमा दराईको थातथलो चितवनको खोँच र तनहुँ जिल्लाको दमौली र मादी नदीको किनार हो । २०७८ को जनगणनाको परिणाम पनि यस अनुरूप छ । जनगणनामा उल्लिखित १८,६९५ दराईमध्ये पुग-नपुग आधा (४७.३%) चितवन जिल्लामा बसोबासरत छन्, साथै एक तिहाइ जति (२३.५%) तनहुँ जिल्लामा रहेका छन् । यो जातिको मातृभाषा बोल्ने सङ्ख्या १२,१५६ छ, जुन दराईको कुल जनसङ्ख्याको ६५.०२ प्रतिशत हो । अरू केही जातिको तुलनामा दराई जातिको भाषिक खसकरण कम देखिन्छ । तर धार्मिक खसकरण भने अत्याधिक छ, किनभने अधिकांश दराई जातिका मानिसहरूले आफ्नो धर्म हिन्दु भनेर लेखाएका छन् । २०४८ को जनगणना अनुसार ९९ प्रतिशत दराईहरू हिन्दु धर्मावलम्बी हुन् । अरू हिन्दुहरू जस्तै दराईले तीज, दशैँ, तिहार आदि पर्व मनाउँछन् ।


दराईको अनुहार, रहनसहन, संस्कृति र संस्कार अरू भित्री-तराईका जाति (कुमाल, माझी, दनुवार, बोटे र थारू) सँग मिल्दोजुल्दो छ । यी सबै मङ्गोल नस्लका जातिहरू हुन् । दराईको आफ्नै जातिजन्य भाषा छ, तर लिपि छैन । यसको भाषा अरू जनजातिको भन्दा यस कारण फरक छ कि दराई भाषा भारोपेली परिवारभित्र पर्छ (कैनी २०६३: २१) । दराई जातिको परम्परागत धर्म बौद्ध हो (पाण्डेय २०६०: ५१), तर हिन्दुकरणको चपेटामा परेको छ । तथापि केही मौलिकपन बचाइराखेको छ : जस्तै, पुरोहित्याइँको काम मामा-भान्जाबाट हुन्छ । यिनीहरू धामीझाँकीमा धेरै विश्वास गर्छन् ।


दराईको आदिवासीपन मुख्यतः दुई कुरामा मुखरित हुन्छ स् पेशा र प्रथाजनित स्वशासन । बसोबास प्रायः पहाड र तराईमा जहाँ सम्म फाँट, टार, उर्वरा भूमि भएको र सकभर पानीको सुविधा भएको ठाउँमा भएको देखिन्छ । जीविका निर्वाहको लागि कृषिमा निर्भर छन् ।


दराई गाउँबस्तीका अगुवा मुखिया हुन् । पारिवारिक झैझगडा मिलाउन, गाउँठाउँमा रीतिथिति बसाउन, अपराधीलाई दण्ड-सजाय दिन, सार्वजनिक हितका लागि समुदायको परिचालन गर्न मुखियाले नेतृत्वकारी भूमिका खेल्छन् । त्यस्तै, गराउ पद धारणा गर्नेले पूजाआजाको व्यवस्था मिलाउने र परम्परागत स्वास्थ्य उपचार गर्ने गर्छन् ।