वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
धानुक नेपालको एक आदिवासी जनजातिको रूपमा प्रतिष्ठान ऐनमा सूचीकृत छ । यो समुदायका अधिकांश व्यक्तिहरू मण्डल भनेर चिनिन्छन् । यो समुदायका चार प्रमुख हाँगा हुन् स् सिरोढ, मधैया, दुधवार, र सुरी । कतिपयले चौधरी, महतो, सदा, धानुक, धनकर आदि थर राख्ने गरेका छन् । कुर्मी, केवट र अमात धानुकका सगोत्री हुन् ।
धानुक मुनिलाई आफ्नो पुर्खा मान्ने धानुक मण्डलको उद्गम भारतको राजस्थान प्रान्तको धनिया गाउँ हो भन्ने भनाइ छ (पाण्डेय २०६०: ५५) । यो समुदाय भारतको विहार, उत्तर प्रदेश, दिल्ली, पन्जाब, र मध्य प्रदेशमा धेरै सङ्ख्यामा बसोबासरत छन् । मुक्तिनाथ मण्डलका अनुसार धानुकको नेपालमा बसोबास प्राचीन मिथिला र तिरहुत कालदेखि नै रहेको देखिन्छ (चौधरी, मिति उल्लेख नभएकोस् ११) । धनुष-वाण यो समुदायको प्रतीक हो । यो समुदाय हिन्दु धर्मावलम्बी हो । धानुकको मातृभाषा मगही भए पनि धेरैले मैथिली, भोजपुरी, थारू, उर्दू, वा अवधी बोल्ने गरेका छन् ।
धानुकको मुख्य पेशा कृषि हो, साथसाथै मजदुरीमा पनि संलग्न छन् । अहिले यो समुदायका युवाहरू वैदेशिक रोजगारको लागि अरब देशहरूमा जाने गरेका छन् ।
धानुक मण्डलको आफ्नै प्रथाजनित संस्था छ, जसको प्रमुखलाई मान्यजन भनिन्छ । यस अतिरिक्त प्रथाजनित परम्परागत स्वशासन सञ्चालनको लागि देवान, विटदार र रोराइत पदहरूको व्यवस्था छ ।
आदिवासी जनजातिमा सूचीकृत भए पनि धानुकलाई हिन्दु जात समूहमा पर्ने समुदाय हो भन्ने भनाइ पनि छ । उक्याव र अधिकारीका अनुसार धानुक तीन प्रकारका छन् : मण्डल धानुक, सुर धानुक र राजवंशी धानुक । तीमध्ये पहिलो दुई हिन्दु मधेसी जातभित्र पर्छन् (२०५७: १८) । मधेसविज्ञ तुला नारायण शाह र कृष्ण साहले पनि धानुक कानुनी रूपमा आदिवासी जनजाति भए पनि यो खास रूपमा मधेसी हिन्दु जातभित्र नै पर्ने समुदाय हुन् भनेका छन् (अन्तर्वार्ता, २६ असार २०८२) । भारतमा धानुकलाई ओ.बी.सी. को मान्यता दिइएको छ । २०७८ को जनगणनामा उल्लिखित २,५२,१०५ धानुकहरूमध्ये करिब ८८ प्रतिशत मध्य तराई—जुन हिन्दु मधेस बाहुल्य ठाउँ हो—मा बसोबासरत छन् भने करिब ११ प्रतिशत मात्र झापा र मोरङ जिल्लाका गाउँठाउँमा, अर्थात् राजवंशीको थातथलोमा । जोडिएको विशेषण कोच होस् या धानुक, यी दुवै एउटै राजवंशी जाति हो, जसबारे राजवंशी शीर्षकमा तल उल्लेख भएको छ ।