गनगाई

गनगाई

गनगाई एक तराई समूहमा वर्गीकृत अल्पसङ्ख्यक जाति हो । यो जाति प्रतिष्ठान ऐनमा नेपालको एक आदिवासी जनजातिको रूपमा सूचीकृत छ । गणेश वा मण्डल भनेर पनि चिनिने यो जातिको थातथलो पूर्वी नेपालका दुई तराई जिल्ला झापा र मोरङ हुन् । २०७८ को जनगणनामा उल्लिखित ४१,४४६ गनगाईमध्ये ७४ प्रतिशतको बसोबास मोरङमा छ, बाँकी २६ प्रतिशत झापामा ।


गनगाई भारतको पश्चिम बङ्गालबाट करिब ३०० वर्षअघि नेपाल पसेको जाति हो (गौतम र थापा-मगर सन् १९९४: २२५) । यो जातिको आफ्नै भाषा छ, तर लिपि छैन । गनगाई भाषा बोल्नेको सङ्ख्या २६,२८१ छस अर्थात्, ६३.४ प्रतिशत गनगाईले आफ्नो मातृभाषा बोल्छन् । मोरङमा बोलिने गनगाई भाषामा मैथिलीपन छ भने झापामा बोलिनेमा राजवंशीपन । गनगाईको शारीरिक बनोट (गोलो अनुहार, थेप्चो नाक, गहुँगोरो वर्ण र खस्रो कपाल) मङ्गोल नस्लकासँग मिल्छ, तर यिनीहरू हिन्दु धर्मावलम्बी हुन् । २०४८ को जनगणना अनुसार सबै गनगाई हिन्दु हुन् । तर अरू सनातनी हिन्दुभन्दा यो जाति यस कारण फरक छ कि गनगाई समाजमा जातगत श्रेणी र तह छैन, सबै समान छन् । यो जातिका इष्टदेवता महावीर र ठाकुर हुन् ।


सबैजसो गनगाईको मुख्य पेशा कृषि हो । यो जातिका मानिसहरूको जग्गाजमिन औसत नेपालीको भन्दा बढी छ (गुरुङ र अरू सन् २०१४: ६३) । सायद यसैले होला तराईका अरू जनजाति (जस्तै, किसान, झांगड, सन्थाल) जस्तो यो जातिका मानिस मजदुरी पेशामा देखिन्न ।