वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
प्रतिष्ठान ऐनमा सूचीकृत ६० आदिवासी जनजातिमध्ये गुरुङ(तमू) एक बहुसङ्ख्यक पहाडी जाति हो । एक कथ्य इतिहास अनुसार हालको तमूथातथलोमा यो जातिको बसाइ दोस्रो चरणको बसाइँसराइबाट भएको हो । पहिलो चरणको बसाइँसराइ नेपाल र तिब्बतबीच सीमा निर्धारण हुनुभन्दा धेरै पहिले उत्तरबाट वर्तमान नेपालको केही हिमाली क्षेत्रको उच्च भागमा भएको थियो । यो जातिका पुर्खा हजारौं वर्षअघि नै अहिलेको मुस्ताङ जिल्लामा आइपुगेको अनुमान छ । उनीहरू त्यहाँ लामो समयसम्म रहे, र त्यति बेला उनीहरू शिकारी र पशुपालनको युगमा थिए । यसबाट कृषि युगमा प्रवेशको सङ्क्रमणकालमा हिमाली भेगबाट त्रिशूली र कालीगण्डकी बीचमा रहेका पहाडी भू-भागमा, अर्थात् गण्डकी भेगमा, सरेका हुन् (गुरुङ २०६८: २-३) ।
त्रिशूली नदीदेखि पश्चिम र कालीगण्डकी नदी पूर्व बीचको भू-भागमा पर्ने गोरखा, लम्जुङ, तनहुँ, कास्की, स्याङजा, पर्वत, मनाङ र मुस्ताङ जिल्लाहरू तमुवान (तमू ह्युल) भनेर चिनिन्छन् । अर्थात्, यी ठाउँ गुरुङको थातथलो हो । यसका चार किल्ला पूर्वमा बुढीगण्डकी, पश्चिममा कालीगण्डकी, उत्तरमा तिब्बत र दक्षिणमा देवघाट (गुरुङ २०६८: २-३) रहेका छन् । २०७८ को जनगणना अनुसार कुल ५,४३,७९० गुरुङमध्ये आधाभन्दा बढी आफ्नो परम्परागत थलो तमुवान भूमिमै बसोबासरत छन् । बाँकीमध्ये करिब १० प्रतिशत जति पूर्वी भेगमा रहेका छन्: अर्थात्, ती ठाउँमा गुरुङको बसाइँसराइ पृथ्वीनारायण शाहको राज्य विस्तारको क्रममा भएको थियो । त्यो बेलाको गोर्खा पल्टनमा गुरुङहरू उल्लेख्य सङ्ख्यामा थिए । एक चौथाइभन्दा बढी देशको राजधानी काठमाण्डु लगायत चितवन, बुटवल, भैरहवा जस्ता ठूला शहरमा छन्, र यी ठाउँमा गुरुङहरूको बसाइँसराइ शहरीकरण र त्यससँग जोडिएको आर्थिक अवसरको खोजीसँग सम्बन्धित छ ।
गुरुङ एक मङ्गोल नस्लको जाति हो । यिनीहरूको मातृभाषा (तमु क्यूई) तिब्बती-बर्मेली परिवार अन्तर्गत पर्छ । हाल खेमा लिपि निर्माण गरी प्रयोगमा ल्याइएको छ, र त्यसलाई भाषा आयोगले पनि मान्यता दिएको छ । गुरुङको परम्परागत धर्म बोन हो, र पछि त्यसलाई निरन्तरता दिई बौद्ध धर्म पनि अपनाए । यो जाति हिन्दुकरणबाट अछुतो छैन । २०४८ को जनगणनामा ५८ प्रतिशत गुरुङले आफ्नो धर्म हिन्दु लेखाएका थिए भने ४१ प्रतिशतले बौद्ध । पछिल्लो जनगणनामा ९२०७८० बौद्ध धर्मावलम्बी गुरुङको सङ्ख्या बढेर ५४.४ प्रतिशत पुगेको छ (एनएसओ सन् २०२५) । यसलाई आफ्नो पहिचानप्रति बढ्दै गएको सचेतनाको रूपमा लिन सकिन्छ । यो जातिले आफ्नो मौलिक धर्म, संस्कृति र संस्कारलाई निरन्तरता दिइरहेको छ । स्वजातीय धर्मगुरु (खेगी) तीन प्रकारका छन् स् पच्यू, क्ल्हेब्री र लम । तीमध्ये पच्यूले उपचार र शुभ(अशुभ हेर्छन्स क्ल्हेब्रीले पितृ कार्य गराउँछन्, र लमले शुद्ध(शान्ति गर्ने गर्छन् । प्ये ताँ ल्हु ताँ (मौखिक शास्त्र) का माध्यमबाट खेगीहरूले प्राचीन ज्ञानलाई पुस्तान्तरण गर्दै आएका छन् ।
गुरुङको परम्परागत मुख्य पेशामा समय-काल अनुसार क्रमशः यसरी परिवर्तन हुँदै आएको छ स् पहिले शिकार, त्यसपछि पशुपालन, अनि कृषि र पशुपालन, अनि देशविदेशको सेनामा भर्ती र साथसाथै वैदेशिक रोजगारी । अधिकांश गुरुङको खानपुग्दो जग्गाजमिन छ, र लाहुरको नोकरीबाट पाउने तलब वा पेन्सनबाट मनग्य आम्दानी हुन्छ ।
गुरुङको आफ्नै प्रथाजनित संस्था छ, जसलाई नालसभा भनिन्छ । कुनै-कुनै ठाउँमा (जस्तै, लमजुङ जिल्लाको भुजुङ गाउँमा) भदौ सभाको व्यवस्था छ । यी परम्परागत संस्थाहरूले गुरुङको सामाजिक, सांस्कृतिक, संस्कारजन्य र धार्मिक जीवनलाई नियमित बनाउन रीतिथिति बनाउँछन् । साथै समुदायको हितको लागि निर्माण हुने सानो स्तरको भौतिक विकास (जस्तै, बाटो, कुलो, चरन) मा पनि संलग्न हुन्छन् । यी बाहेक गाउँठाउँको जनजीवन नियमित गर्न क्ल्हे (मुखिया) प्रथा पनि छ, जसले एकसाथ धेरै भूमिका निर्वाह गर्ने गरेको छ, खास गरेर गाउँघरमा हुने झगडामा न्याय-निसाफ गरेर । रोधी गुरुङद्वारा सिर्जित बहुउद्देश्यीय मौलिक परम्परा हो जसमा युवायुवतीहरूलाई सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक तथा परम्परागत मूल्य-मान्यता सम्बन्धी ज्ञान तथा सीप अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको हुन्छ । यसमा नाचगान र मनोरञ्जनको पाटो पनि छ । गुरुङका धेरै मौलिक चाडपर्वहरू छन् । तीमध्ये ल्होसार एक मुख्य चाड हो । परिवर्तित परिस्थितिमा (अर्थात्, निर्वाचित स्थानीय सरकार अस्तित्वमा आएदेखि) जनजातिको प्रथाजनित शासनमा ह्रास आएको छ । गुरुङ जाति पनि यसबाट प्रभावित छ ।