वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
२०७८ को जनगणना अनुसार ३,०६९ मात्र जनसङ्ख्या भएको हायु (स्थानीय लवजमा वायु) एक अति अल्पसङ्ख्यक र लोपोन्मुख जाति हो । यो जाति कसैले श्रीलंकाबाट आएको भनेका छन् । तर यो जातिको मङ्गोल नस्ल, किराती वंश, र तिब्बती-बर्मेली परिवारको मातृभाषा अनुसार यिनका पितापुर्खा श्रीलंकाका नहुनु पर्ने हो । किनभने मङ्गोल मूलका किराती वंशी र तिब्बती-बर्मेली भाषीको जरा तिब्बतसँग जोडिएको हुन्छ । हायु किरात वंशी भएकोले नेपालमा यो जातिको उपस्थिति लिच्छविकाल अघिदेखि नै रहेको अनुमान गर्न सकिन्छ । नेपालमा हायुको थातथलो रामेछाप जिल्लाको सुकाजोर र सिन्धुली जिल्लाको रतनचुरा हुन् (उक्याव र अधिकारी २०५७: ३५; पोखरेल २०७०: ३७) । दुई तिहाइभन्दा बढी सङ्ख्याका हायु रामेछाप र सिन्धुली जिल्लामा बसोबासरत छन् ।
हायुको आफ्नै भाषा छ, जसलाई वायु भाषा भनिन्छ, तर यो भाषाको लिपि छैन । २०७८ को जनगणना अनुसार यो जातिको करिब एक तिहाइ जनसङ्ख्याले मात्र आफ्नो भाषा हायु भनेका छन् । कारण स्पष्ट छ, भाषिक खसकरणले यो जाति धेरै प्रभावित छ । साथै यो जातिको हिन्दुकरण पनि भइरहेको छ । हायुको प्राचीन धर्म प्रकृतिपूजन हो; साथै किराती वंशको भएकोले यो जातिको परम्परागत धर्म किरात हो ।
पहिले हायु एक फिरन्ते जाति थियो । शिकार गर्नु र जङ्गली कन्दमूल संकलन गर्नु त्यो बेलाको प्रमुख पेशा थियो । शिकारीपछि मानव सभ्यता कृषि युगमा रूपान्तरित भएको हो, जुन कुरा हायु जातिमा पनि लागू हुन्छ । जीविकोपार्जनको लागि केही हायुहरू मजदुरीमा लागेका देखिन्छन्, कृषि र गैर-कृषि दुवै क्षेत्रमा । पशुपालन, घरबुना कपडा, र बाँसबाट बनाइने घरेलु सामानको उत्पादन र बिक्री गर्नु हायु जातिका सहायक पेशा हुन् ।
हायुको परम्परागत प्रथालाई पालिकेम भनिन्छ, जसमा जेठा बुढा, गौरङ र टहले जस्ता पदाधिकारी हुन्छन् । आफ्ना समुदायको मानिसहरूबीच हुने झैझगडा मिलाउने र सामाजिक संस्कारगत रीतिथिति बसाउने काम पालिकेमको कार्यक्षेत्रभित्र पर्छन् । तर अहिले यो परम्परागत प्रथा त्यति चल्तीमा रहेको देखिँदैन ।