वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
प्रतिष्ठान ऐनमा सूचीकृत नेपालका ६० आदिवासी जनजातिमध्ये ह्योल्मो एक अल्पसङ्ख्यक जाति हो । यो जातिका पुर्खा तिब्बती हुन् । नेपालमा यो जातिको थातथलो सिन्धुपाल्चोक जिल्लाको उत्तर-पूर्वमा रहेको एक उच्च पहाडी भाग हेलम्बु गाउँ हो । जातिको नाम र स्थान नाममा तालमेल छ । हेलम्बु वरपर लेकमा भोटे र शेर्पा बस्ती छन्, र तल बेँसीमा क्रमशः तामाङ र पहाडी जात समूहका ब्राह्मण, क्षेत्री र दलित छन् । ह्योल्मोको अनुहार, चालचलन, हाउभाउ, परम्परा, संस्कार, संस्कृति र भाषा शेर्पा र तामाङसँग मिल्छ ।
२०७८ को जनगणना अनुसार ह्योल्मो जातिको जनसङ्ख्या ९,८१९ छ, र सोही जातिगत भाषाभाषी सङ्ख्या ९,६५८ छ । अर्थात्, ९८ प्रतिशत ह्योल्मोको मातृभाषा ह्योल्मो भाषा हो । बसाइँसराइ गर्ने एक जातिको रूपमा चिनिने ह्योल्मोले आफ्नो भाषा जोगाएर राखेको छ । यो जातिका मानिसहरूमध्ये ४० प्रतिशत मात्र यिनीहरूको थातथलोमा पाइन्छन्, बाँकी ६० प्रतिशत अन्यत्र सरिसकेका छन् । कुल ह्योल्मो सङ्ख्याको एक तिहाइ त काठमाण्डुबासी भइसके; करिब १३ प्रतिशत इलाम पुगेका छन् भने केहीको बसोबास रामेछाप र चितवनमा छ ।
ह्योल्मोको नस्ल मङ्गोल हो, र यिनीहरूको मातृभाषा तिब्बती-र्मेली परिवारभित्र पर्छ । यो जातिको धर्म बौद्ध हो, र यिनीहरू बस्ने हरेक ठाउँमा गुम्बा हुन्छ । गुम्बा धार्मिक स्थल मात्र होइन, शिक्षण संस्था पनि हो जहाँ बौद्ध धर्मको पढाइ हुन्छ । गुम्बाको प्रमुख लामा हुन्छन्, र उनले एकसाथ धेरै भूमिका खेलेका हुन्छन् । उनी पुजारी हुन् र गुम्बामा पाठ गर्छन् । पुरोहित पनि हुन्, जसले ह्योल्मोको जन्मदेखि मृत्यु सम्मका संस्कार संचालन गर्छन् । उनी शिक्षक पनि हुन्, जसले गुम्बामा बौद्ध धर्म सिकाउँछन् । उनी ज्योतिष पनि हुन्, जसले यो जातिका मानिसहरूको भाग्य र दशाबारे बताउँछन् । साथै डाक्टर पनि हुन्, जसले बिरामीको आयुर्वेदिक विधिबाट उपचार गर्छन् । तसर्थ, ह्योल्मोले गुम्बा र लामालाई धेरै श्रद्धा गर्छन् । यो जातिको प्रमुख चाड ल्होसार हो । ह्योल्मोको परम्परागत पेशा कृषि र पशुपालन हो ।