वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
प्रतिष्ठान ऐनमा लार्के, जनगणनामा चुम्बारनुब्री, र स्थानीय तहमा नुब्री भनेर सम्बोधन गरिने यो नेपालको एक अल्पसङ्ख्यक हिमाली आदिवासी जनजाति हो । यो जातिको उद्भव तिब्बत हो, र नेपालमा आगमन धेरै पहिले नै भएको हो । उनीहरूको थातथलो गोरखा जिल्लाको उत्तरी हिमाली क्षेत्रको दुर्गम स्थानमा अवस्थित सामा, ल्हो, प्रोक, बिही गाउँहरू हुन् । यो शियार खोलाको पश्चिममा पर्छ । २०७८ को जनगणना अनुसार यो जातिको जनसङ्ख्या ४,४१४ छ, र तीमध्ये ४,२८४ (९७.१%) ले आफ्नै जातिबोधक भाषा बोल्छन् । यो जाति र भाषाको लगभग उही सङ्ख्याले के संकेत गर्छ भने अरू जनजातिको तुलनामा लार्के जातिको बसाइँसराइ एकदम कम छ; अर्थात्, आफ्नै थातथलोमा बसेका छन् ।
मङ्गोल नस्लको लार्केको आफ्नै भाषा छ, जुन तिब्बती-बर्मेली परिवारभित्र पर्छ, तर लिपि छैन । अरू हिमाली जाति जस्तै लार्केको प्राचीन धर्म प्रकृतिपूजन र बोन हो, तर पछि बौद्ध धर्मावलम्बी भए । उनीहरूको संस्कृति र संस्कारमा एक दोस्रोसँग मिल्दोजुल्दो चार वटै धर्म—प्रकृति, बोन, बौद्ध र झाँक्री—को सम्मिश्रण पाइन्छ ।
लार्केको परम्परागत पेशा कृषि, पशुपालन र सीमापार व्यापार हुन् । उनीहरूको बसोबासमा फल्ने प्रमुख कृषि बाली फापर, मकै, गहुँ, कोदो र आलु हुन् । पशुपालनमा चौँरी, याक, घोडा, र भेडा-च्याङ्ग्रा हुन् । सीमापार व्यापारमा तिब्बतबाट नुन र ऊन आयात गर्ने र नेपालबाट खाद्य पदार्थ र जडीबुटी निर्यात गर्ने गर्छन् । बसाइँसराइमा रुचि नभएको यो जातिको परम्परागत पेशाले अहिले पनि निरन्तरता पाएको छ ।
लार्केको प्रथाजनित परम्परामा गुम्बा र लामाको ठूलो भूमिका हुन्छ । गुम्बा धार्मिक स्थल हो, शिक्षण संस्था पनि हो, र साथै आयुर्वेदिक उपचार गर्ने थलो पनि हो । लामाले धार्मिक अनुष्ठान गर्छन्; जन्मदेखि मृत्यु सम्मका संस्कारमा पुरोहित्याइँ गर्छन्; ज्योतिषी सेवा प्रदान गर्छन्स जडीबुटीको प्रयोग गरी बिरामीको उपचार गर्छन्; र अन्य सामाजिक र सांस्कृतिक क्रियाकलापमा अगुवाको भूमिका पनि खेल्छन् ।